महोत्तरीलाई चुनाव लाग्यो, यस्तो छ अवस्था

महोत्तरीलाई चुनाव लाग्यो, यस्तो छ अवस्था

महोत्तरीका १५ वटै स्थानीय तहमा निर्वाचन लक्षित राजनीतिक दलका गतिविधि शुरु हुन थालेका छन् । स्थानीयस्तरमा प्रतिष्पर्धी पार्टीको प्रभाव हेरेर दलहरुले सोहीअनुसार रणनीति बनाउन थालेका हुन् । सबै पार्टीमा टिकटका दाबेदारहरू आफ्नो पक्षमा माहोल बनाउन कम्मर कसेर लागेका छन् ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् । गत निर्वाचनको परिणाम र पछिल्लो राजनीतिक अवस्था हेर्दा बर्दिबास नगरपालिकामा माओवादी केन्द्रको बलियो पकड छ । अघिल्लो निर्वाचनमा बहुमतसहित माओवादी केन्द्रको प्यानल नै विजयी बनेको थियो ।

त्यसैगरी,गौशाला नगरपालिकामा पनि माओवादीकै वर्चस्व देखिन्छ । अघिल्लो चुनावमा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको थियो । सम्सी गाउँपालिकामा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको प्यानल नै विजयी भए पनि आगामी निर्वाचनमा भने त्यति सजिलो छैन । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पार्टी छाडिसकेका छन् ।

उत्तरपट्टी औरही, रामगोपालपुरसम्म माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । भंगाहा नगरपालिकामा लोसपा र जसपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । पिपरा गाउँपालिका,महोत्तरी गाउँपालिका,जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका,भंगाहा नगरपालिका,एकडारा,मट्टीहानी नगरपालिका लगायतका पालिकामा मधेश केन्द्रित दल बलियो देखिन्छ ।

महोत्तरीका १५ पालिकाअन्तर्गत आठ पालिकामा तत्कालीन राजपाले, तीन पालिकामा कांग्रेस, तीन पालिकामा माओवादी केन्द्र र एक पालिकामा संघीय समाजवादी फोरम नेपालले जितेको थियो ।

टिप्पणीहरू