कांग्रेसले पेल्दा कम्युनिष्टहरू क्रुद्ध

कांग्रेसले पेल्दा कम्युनिष्टहरू क्रुद्ध

त्यसरी नै, जसरी ०५२ भदौ १२ को फैसलाबाट मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारलाई सत्ताच्युत गरिएको बदला लिन लोकेन्द्रबहादुर चन्दलाई बोक्ने काम एमालेबाट भयो । अहिले केपी र एमालेको रिसले त्यही ‘परचक्री’ शैलीमा शेरबहादुर देउवालाई बोक्ने काम गरियो भनिँदै छ ।

एमाले फुटेर, माओवादी पनि ओलीसँग छुटेर ‘परचक्री च्याप्यो’ भन्ने आरोप खेप्दै पाँचदलीय गठबन्धन निर्माण भएको हो । ०५३ मा एमालेले लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाउँदा पनि राजदरबार मामिलासहित ८ मन्त्रालय दिएर १६ मन्त्रालय लिएको थियो । अहिले त्यही शैलीमा माओवादी र समाजवादीले कांग्रेसलाई बोकिदिँदा हालत उही छ ।

त्यसबापत कांग्रेसले गुण सम्झिएन, कैयौँ दिनदेखिको भोको प्राणीले भेटिएको खाना दायाँबायाँ नहेरी जतिसक्यो खान थालेकै शैलीमा आफ्ना मान्छे चारैतिर भर्न उद्यत भएको आरोप छ । माओवादीलाई भने प्रचण्डको गृहजिल्ला चितवनमा विवादास्पद सिडिओ आशमान तामाङलाई टिकाएर, कपिलवस्तुबाट रोजेकै प्रहरी प्रमुख नवराज अधिकारीलाई पठाएर दंग पारिएको छ ।

अमेरिका, भारत, बेलायतजस्ता ठूला मुलुकका राजदूतहरू र योजना आयोग पनि एकलौटी गरिसकियो । खालि रहेका मन्त्रालय भागबण्डा लाग्दैन, उद्योग र रक्षा आफैँसँग राखेको छ । गोरखापत्र, नेपाल टेलिभिजन जसरी नै सञ्चारमा पनि एकलौटी हुने नै भयो । माओवादीले पाएको अर्थ मन्त्रालयमा पनि हस्तक्षेप हुँदा मन्त्री जनार्दन शर्मा हैरान भएर भर्खरै चल्मलाउन खोजेका छन् ।भनिन्छ, कांग्रेसको यो पेलाइले गर्दा भित्रभित्रै कम्युनिष्टबीच एकता वा सहकार्यको अभ्यासमा मध्यमस्तरका नेता जुटिसकेका छन् ।

अत्याचार भएपछि विद्रोह हुन्छ भन्ने कुरा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले यति चाँडै बिर्सिनु नहुने हो । किनभने, कांग्रेसमा हिजो गिरिजाको अत्याचारले सीमा नाघेपछि गणेशमान, महेन्द्रनारायण निधी, किसुनजीदेखि यिनै देउवाले विद्रोह गर्नुभएको थियो । देउवाले त आजको स्थितिमा प्रचण्ड–माधवलाई जतिसक्दो रिझाउनुपथ्र्याे किनकि आफ्नो जिन्दगी, इतिहास र भविष्य दाउमा लगाएर नाइँ नाइँ भन्दाभन्दैका देउवालाई मुद्दा लडीलडी प्रधानमन्त्री बनाएको उहाँहरूले नै हो । तर, देउवाको कामगराइचाहिँ दुई तिहाई ल्याएर सरकार बनाएजस्तो देखिँदै छ ।

चुनाव हुने भयो भन्नासाथ जिल्ला–जिल्लामा कांग्रेस पृष्ठभूमिका सिडिओ पठाउने चटारो छ । भर्खरै ताप्लेजुङमा तीन महिना पनि नभई झरेन्द्र चापागाइँ (इलामवासी) पठाइए । त्यसअघि त्यही जिल्लाबाट पाँच महिनामै सिडिओ तानिएका थिए । सोलुमा त्यसरी नै कुरो मिलाएर सुनिल खनाललाई पठाइयो । अरु त अरु, माधव नेपालको गृहजिल्ला रौतहटमा पनि कांग्रेस पृष्ठभूमिका उपसचिव कृष्णबहादुर शाहीलाई कामु सिडिओ बनाइएको छ । झलनाथ खनालको जिल्ला इलाममा पठाइएका माधव ढुंगाना पनि कांग्रेस हुन् ।

माधव नेपालले मनाङको सिडिओबाट विष्णु लामिछानेलाई नचलाइदिनु भन्नुभएको थियो । भन्नेबित्तिकै उनी मनाङबाट तानिए । अहिले उनी गृह छोडेर श्रममा हाजिर भएका छन् । देशभर अब चार–पाँच जिल्लामात्रै कांग्रेसको सिडिओ पठाउन बाँकी छ ।

जबकि, कांग्रेसले यही गठबन्धनका कारण कर्णाली र गण्डकी प्रदेशको सरकार पायो । त्यहाँ उसलाई हैसियत चाहिएन । बाग्मती, १ नम्बर, २ नम्बर, सुदूरपश्चिम सबैतिर उसका मन्त्री छन् । लुम्बिनीमा पनि मुख्यमन्त्री बनाउने बेला भइसक्यो ।  यसरी केन्द्रमा जस्तै हैसियत तल पनि देखाइदिनुपर्ने गरी भएको अत्याचारले भित्रभित्रै बिष्फोटन सिर्जना गर्दैछ ।

राष्ट्रियसभाबाट तीन सांसदको पदावधि सकिँदा एमाले एक ठाउँमात्रै भइदिएको भए त्यहाँ सिंगो कांग्रेस शून्य हुँदै थियो । तर, गठबन्धनको बलमा तीन गुम्दा अर्को तीन थपेर ६ पाएको छ । यति हुँदा पनि यो सरकारको कार्यशैलीका कारण केपी ओलीले गरेका ध्वंशहरू बिर्साउने गतिविधि देउवाबाट हुन थालेको गुनासो सुनिँदै छ ।

टिप्पणीहरू