राजदूतमा क–कसको नाम रोजियो ?

राजदूतमा क–कसको नाम रोजियो ?

सत्तारुढ गठबन्धनमा संलग्न कम्युनिष्टहरूको अर्को आरोप छ, भागबण्डामा फेरि पनि कांग्रेस इमान्दार भएन । ‘राम्रो’ र ‘हुनेखाने’ जति सबै आफैँलाई चाहिने उसको लोभ झन्झन् बढ्दा राजदूतको संख्यामा पनि तलमाथि परेको छ ।

शुरुको सहमति थियो, विभिन्न देशमा रिक्त राजदूतमध्ये माओवादी र एकीकृत समाजवादीलाई ६–६ का दरले भाग लगाउने, कांग्रेसले भारत, बेलायत, अमेरिकासहित ३ ठूला देश लिइसकेकाले अरू ३ देश लिने । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकबाट राजदूत सिफारिसको निर्णय हुँदैछ र यहाँसम्म आइपुग्दा माओवादीको संख्या खुम्चिएर पाँचमा पुगेको छ भने समाजवादीले चारमा चित्त बुझाउनुपर्ने भएको छ ।

संसारभर ३२ राजदूतावासमध्ये २२–२३ वटा स्थायी दरबन्दीका राजदूत हुन्छन् । त्यसभित्र दलीय भागबण्डासहित ‘करिअर डिप्लोम्याट्स’, अर्थात् सरकारको परराष्ट्रसेवाका कर्मचारी पठाउनुपर्छ । त्यसो त हाम्रो देशको सहमतीय राजनीति नै कस्तो छ भने, मिलेसम्म आकाशबाट उदाउने घाम–जूनका किरणसमेत भाग लगाएर बस्ने ! त्यसैले अन्तिममा ‘करिअर डिप्लोम्याट’ पनि गठबन्धनका साझेदार दलबीच भाग नलाग्ला भन्न सकिँदैन ।

यसमध्ये माधव नेपाल नेतृत्वको समाजवादीले चीनमा आफ्नो विश्वासिलो मान्छेलाई राजदूत पठाएर उत्तरी सम्बन्ध प्रगाढ बनाउन चाहेको थियो । तर, माओवादी केन्द्रले त्यहाँ फेरि पनि लीलामणि पौडेललाई पठाउन चाहेपछि उसको हातबाट चीन गुमेको छ । समाजवादीले चीनका लागि पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलालाई पठाउने सोचाई बनाएको थियो ।

अब उनलाई कुनै रोजगारदाता मुलुक (साउदी, कतार, मलेसिया, इजरायलसहितका) का लागि सिफारिस गरिने सम्भावना छ । उनीसँगै उक्त पार्टीले मिलन तुलाधर, डिल्ली पौडेल र कैलाश पोखरेल (अष्ट्रेलिया)सहितका नामहरू सिफारिस गर्ने भएको छ । हीराको बीचमा किरा घुसाउँदा पुराना वामपन्थी नेता गोविन्द कोइराला सेकिएका छन् ।

उता, केपी ओली सरकारबाट नियुक्त भई मलेसियाबाट फर्काइएका राजदूत उदयराज पाण्डे ‘मलाई कहाँ निरन्तरता दिन्छन् र ?’ भन्दै मन मारेर बसेका छन् । सोही सरकारले बंगलादेशका लागि राजदूत नियुक्त गरेका र हाल समाजवादीमा रहेका डा.वंशीधर मिश्रले फेरि त्यतै जाने रहर देखाएका थिए ।

तर, पार्टीले दोहो¥याएर कसैलाई नपठाउने नीतिगत निर्णय गरिदिँदा उनी सिफारिसमा नपर्ने पक्कापक्कीझैँ भएको छ । उनले आफ्नो अघिल्लो कार्यकालमा ‘नेपाल–बंगलादेशको मित्रता बढाउने काम अन्तिम चरणमा थियो, त्यो सम्पन्न गर्नका निम्ति’ पनि आफू फेरि जानुपर्ने आग्रह गरेका थिए ।

टिप्पणीहरू