सुर्खेतमा चुनावी चटारो भ्याइनभ्याइ

सुर्खेतमा चुनावी चटारो भ्याइनभ्याइ

सरकारले आगामी वैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा गरेसंगै प्रदेश निर्वाचन कार्यालय सुर्खेत व्यस्त बनेको छ । मतदाता नामावली संकलन, मतदानस्थलको अनुगमन, सुरक्षा व्यवस्थापनलगायतका काममा निर्वाचन कार्यालय व्यस्त भएको हो ।

कार्यालयले विभिन्न पालिकामा पुगेर अनुगमनको काम थालिसकेको छ । पूर्वी सुर्खेतमा जिल्ला सुरक्षा समितिको टोलीसहित कार्यालयका कर्मचारीहरुले अति संवेदनशील स्थललगायत निर्वाचन कार्यालय रहने स्थानहरुको स्थलगत निरीक्षण गरेका छन् ।

सिम्ता गाउँपालिकाको निर्वाचन कार्यालय, मतदान स्थललगायत सम्भावित मतदान केन्द्रको अवलोकन गरी सुरक्षा अवस्थावारे टोलीले जानकारी लिएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचनसम्वन्धी कामहरु अगाडि बढेको जानकारी दिए ।

उनले सुर्खेतमा १३८ मतदानस्थल रहने र मतदान केन्द्र दुई २७६ सम्म पुग्ने जानकारी दिँदै मतदाता नामावली सच्याउनुपर्ने, त्रुटि हटाउने काममा सहयोग गर्न पालिकाहरुसँग आग्रह गरेको छन् । सुर्खेतमा यसपटक दुई लाख ४५ हजार मतदाता छन् । यही फागुन १९ गते स्थानीय तहहरुमा मतदाता नामावली टाँस गरी त्रुटि हटाउने, नाम सच्याउने लगायतका कामहरु सकेपछि चैत १३ गते अन्तिम नामावली प्रकाशित गरिने प्रदेश निर्वाचन अधिकारी चालिसे बताउछन् ।

सुरक्षालगायत अन्य कामका हिसाबले निर्वाचन कार्यालय गाउँपालिकाको केन्द्रमै राख्न उपयुक्त हुने उनले सुझाएका छन् । यस्तै, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले नौ वटा वडा रहेको पालिकामा एउटामा बाहेक अन्य सवै वडामा सडक पहुँच पुगेको बताए । उनले सबै मतदान केन्द्रमा गाडी पुग्ने हुँदा सुरक्षा चुनौती ठूलो नहुने जिकिर गरेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा नं. ४ को बजेडीचौरमा मतदानस्थल रहेकोमा अहिले पालिका केन्द्र सरेर रकम झरेको हुँदा पालिका वा नजिकै रहेको सामुदायिक भवनमा निर्वाचन कार्यालय बनाउन उपयुक्त हुने उनको भनाइ छ । यस्तै, सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जिल्लाका एक सय ३८ मतदानस्थलमध्ये २९ वटा सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको बताएका छन् ।

टिप्पणीहरू