डाँडागाउँका किसान भन्छन्– ‘अब हाम्रो व्यवसाय नै बाख्रा पालन हो’

डाँडागाउँका किसान भन्छन्– ‘अब हाम्रो व्यवसाय नै बाख्रा पालन हो’

-शंकर श्रेष्ठ

धादिङको गजुरी गाउँपालिका–८, डाँडागाउँकी हिमकुमारी अधिकारीको हिजोआज दैनिकी फेरिएको छ । बिहानदेखि बेलुकासम्म नै उनी बाख्राका पाठापाठीसँगै रमाउँछिन् । पाठापाठी खेलाउँदा खेलाउँदै दिन बितेको पत्तै हुँदैन । भन्छिन्,–‘अहिले त मेरो खेल्ने साथी नै बाख्राका पाठापाठी हुन् ।’

अहिले हिमकुमारीको तीनवटा बाख्राले पाठापाठी जन्माएको छ । त्योबाहेक पनि आठवटा बाख्रा खोरमा छ । गए दशैँमा चारवटा खसी बेचेर पनि एउटा खसीले आफै चाड मनाइन् । ‘देवालीमा पनि घरकै बोकाले पूजा गरियो,नयाँ खोर बनाएदेखि बाख्रा पालेर फाइदै फाइदा भएको छ’ हिमकुमारीले खुशी सुनाइन् ।

डाँडागाउँका किसानले बाख्रा पालन समूह नै दर्ता गरेका छन् । गाउँभरिका सबैले बाख्रा पालनका लागि सुधारिएको खोर पनि बनाएका छन् । थोरै लगानी गरेर मनग्ये आम्दानी हुने भएपछि यहाँका किसानले परम्परागत बाख्रा पालनलाई व्यवसायिक बनाउन थालेका हुन् ।

वर्षौँदेखि शिक्षण पेशा गर्दै आएका बासुदेव अधिकारीले पनि अहिले बाख्रा पालनलाई नै जोड दिएका छन् । उनले एउटै खोरभित्र पनि साना पाठापाठी, माउ बाख्रा र खसीबोका राख्ने छुट्टाछुट्टै ठाउँ बनाएका छन् । प्राविधिकको सल्लाहअनुसार नै सुधारिएको खोर बनाएर बाख्रा पालनलाई नै व्यवसायिक रुप दिन लागिएको उनले बताए । सुधारिएको खोर बनाएर बाख्रा पालन गर्दा कुनै किसिमको रोग तथा परजीविका कारण क्षति व्यहोर्नु नपरेको बासुदेवको अनुभव छ ।गाउँका सबै घरमा अहिले १० वटा भन्दा धेरै बाख्रा छ । बाख्राकै लागि भनेर बारीका कान्ला र खाली जग्गामा डाले घाँसहरु पनि लगाएका छन् । बजारदेखि टाढाको गाउँ भएर सामान्य औषधीहरु पनि घरमै लगेर राख्ने गरिएको किसानहरु बताउँछन् ।

‘डाँडागाउँ पशुपालन कृषक समूह’ नाम दिएर यहाँका किसानहरुले गजुरी गाउँपालिकामा समूह दर्ता गरेका छन् । सरकारले उपलब्ध गराउने सहुलियत अनुदान लिन र बजारीकरणमा समेत सहज बनाउन उनीहरुले प्यान दर्ता र बैंक खातासमेत खोलेका छन् । समूहमा अहिले सुधारिएको खोर बनाएका २५ घरको सहभागिता रहेको समूहका अध्यक्ष राजन अधिकारीले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) मार्फत खोर सुधारमा सहयोग पाएपछि पनि किसानमा उत्साह थपिएको समूहका अध्यक्ष अधिकारीले बताए । ‘२ वर्ष अघिसम्म गाउँका सबैले परम्परागतरुपमै बाख्रा पालन गर्दै आएका थिए, अहिले त्यहि परानो खालको बाख्रा पालनलाई सुधार गरेर यसैलाई व्यवसायिक बनाउँदैछौं’, अधिकारीले भने ।सुधारिएको खोर बनाएर बाख्रा पालन गर्न चाहने किसानलाई खोर निर्माणमा ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको फ्यानसेपका पशुपालन प्राविधिक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । दुई वर्षयता पशुपालनमा निकै सुधार आएको उनले सुनाए ।

बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । किसानले पालेका पशु बिरामी पर्दा फ्यानसेपका प्राविधिकहरुले किसानको घरघरमै पुगेर सहयोग गरिरहेको वडाअध्यक्ष केशव अधिकारीले बताए । उत्पादनमुलक क्षेत्रमा लागेका किसानलाई उनीहरुको माग र आवश्यकताअनुसार वडा र पालिकामार्फत पनि सहयोग उपलब्ध गराइएको वडाअध्यक्ष अधिकारीको भनाइ छ ।

एक घरले वर्षमा ५ देखि १० वटा खसीबोका बिक्री गर्न थालेका छन् । खसीबोका खोज्न मानिसहरु गाउँमै पुग्छन् । वल्लोपल्लो गाउँबाट पनि खसी किन्न डाँडागाउँ नै पुग्न थालेको अधिकारीको भनाई छ । साना पाठापाठी पनि बिक्री हुने गरेको उनले बताए । यहाँका किसानहरु भन्छन्–‘अब हाम्रो व्यवसाय नै बाख्रा पालन हो ।’

टिप्पणीहरू