न्यायाधीशको काम, कति बटुल्ने दाम ?

न्यायाधीशको काम, कति बटुल्ने दाम ?

बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहले अदालतलाई न्याय बिक्री गर्ने थलो बनाएका छन् । वादी हरिकृष्ण थारुको जाहेरीले नेपाल सरकार, प्रतिवादी सकिल राइन भएको सवारी ज्यान मुद्दा २०७८–सी१–००८७ मिति २०७८ मंसिर ६ गते दर्ता भएको थियो ।

प्रतिवादीलाई सवारी ऐनको दफा १६१ (२) अनुरुप सजायँ हुन सरकारी वकिलले मागदाबी गरेका थिए तर प्रतिवादीको वकिल निर्मल सिग्देलबाट तीन लाख खाएर २०७८ पुस २९ गते दफा १६१ को ३ अनुसार ६ महिना कैद हुने तर मुलुकी कार्यविधि संहिताको दफा १५५ अनुसार दिनको ३०० तिरेर कैदमा बस्नु नपर्ने फैसला सुनाइएको छ । त्यो मुद्दामा थुनछेक आदेश गर्दा पनि डेढ लाख खाएको बताइन्छ ।

अरु थुनुवाका मुद्दामा बकपत्र गर्न २ महिनापछिको पालो आउँछ । त्यसमा भने छिटो छिटो बकपत्र गर्न लगाएर, छिटो पेशी राखेर मुद्दा दर्ता भएको दुई महिना नपुग्दै फैसला गरिएको छ । यस मुद्दामा प्रतिवादीले शुरुमा अर्कै वकिल राखेका थिए । लोकजंगले नै निर्मललाई वकिल राख भनेर खाने÷खुवाउने काम गरेको गुलरियाभरि चर्चा छ ।

असई सुनिल रजौरेको जाहेरीले नेपाल सरकार, निर्मल सुनार प्रतिवादी भएको लागुऔषध चरेश मुद्दा ०७७–८१–० १३८ र प्र.नि. धर्मराज जोशीसमेतको जाहेरीले नेपाल सरकार, प्रतिवादी जयबहादुर विश्वकर्मासहित ४ जना भएको ०७७–सी१–०२४१ नम्बरको मुद्दामा मिति २०७८/१०/६ गते ६ लाख घुस खाएर प्रतिवादीहरुलाई न्युनतम सजायँ ६ महिना कैद गर्ने तर कैदको सट्टा दफा १५५ अनुसार दिनको ३०० तिरेर जेल बस्नु नपर्ने गरी फैसला सुनाइएको छ ।

लोकबहादुर बिकको जाहेरीले नेपाल सरकार, महिमाकुमारी सुनार र २ जना प्रतिवादी (०७७–सी१–००५२) भएको कर्तव्य ज्यान मुद्दामा २०७८ पुस २२ गते चार लाख खाएर सफाइ दिइएको छ ।

मनरुपा सुनारको जाहेरीले नेपाल सरकार, जनककुमारी शाहीसहित ८ जना प्रतिवादी भएको (०७७–सी१–०१००) जातीय छुवाछुत, भेदभाव र बोक्सीको आरोप मुद्दामा प्रतिवादीहरु सबैबाट दुई लाख खाएर मिति २०७८।९।१४ गते सबैलाई अभियोग दाबी नपुग्ने भनी सफाई दिइएको छ ।

कमलप्रसाद पनेरुको जाहेरीले नेपाल सरकार, जितेन्द्रकुमार मण्डल प्रतिवादी भएको आत्महत्या दुरुत्साहन मुद्दामा मर्नेले सुसाइड नोटमा प्रतिवादीले मेरो सात लाख रुपैया“ खायो, त्यसले धेरै तनाव दियो, मेरो व्यापार पनि बर्बाद बनायो भनेर लेखेका थिए ।

निजलाई उच्च अदालतबाट पनि थुनामा राखिएको थियो । २०७८ पुस २८ गते लोकजंगले त्यसबाट ५ लाख रुपैयाँ खाएर जति दिन भित्र बसेको छ त्यति सजाय हुने गरी फैसला सुनाउनुभएको छ ।

लायकराम थारुको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी लोकेन्द्र शाहीसहित ३ जना भएको (०७८–सी१–०११४) ज्यान मार्ने उद्योग मुद्दा मिति २०७८ पुस ३० गते अदालतमा दर्ता भएको थियो ।

प्रतिवादीले पैसा नदिँदा १० गतेसम्म आदेश नगरी फिर्ता पठाउनुभयो, जब तीनै जनाले २ लाख दिए त्यसपछि ४ गतेको दिन मुददा दर्ता भएको पाँचौ दिन उनीहरुलाई श्रीमानले धरौटीमा छाड्नुभयो ।

लोकजंग साहका दलालहरु वकिल निर्मल सिग्देल र राजेन्द्र यादव हुन् । यिनीहरु मार्फत र मुद्दाका पक्ष आफै क्वार्टरमा सिधै पैसा दिएर न्याय खरिद बिक्री गर्छन् । लोकजंगलाई दोस्रो पटक पनि यसै अदालतमा पठाएर भ्रष्टाचार गर्न प्रोत्साहन गरेको यसैबाट प्रष्ट हुन्छ ।

यी त बाहिर सुनिएका मुद्दा हुन् । अरु कति होलान् ? कुन मुद्दामा कति लियो, पैसा ठ्याक्क त्यति नै नहुन सक्छ । तर पैसा लिएर फैसला/आदेश गरेको चाहिँ साँचो हो । अझ सित्तै या उधारोमा सफाई दिने र दफा १५५ लगाउने कुरा त सम्भव छैन ।

आजै श्रीमानको क्वार्टरमा चेक गरियो भने १५/१६ लाख भन्दा बढी रुपैयाँ फेला पर्छ । श्रीमान र परिवारका सदस्यको बैंक खाता मात्र चेक गरेमा आफैं प्रष्ट हुनेछ । अदालतको वेबसाइट र अदालतबाट फैसला आदेश मगाएर हेर्दा पनि धेरै कुरा थाहा हुन्छ ।

३ केजी चरेश बिक्री गर्दा पक्राउ परेका लागुऔषध मुद्दाका तस्करलाई सवारी ज्यान को दफा १६१ को २ लागेको र कुनै पनि आधारमा दफा १५५ नलाग्नेमा पनि पैसा खाएर मुलुकी कार्यविधि संहिता २०७४ को दफा १५५ लगाई कैद गर्नुपर्ने मान्छेलाई छुटकारा दिएर आफ्नो पदको दुरुपयोग गरेकाले न्याय मार्ने यी न्यायाधीशमाथि सख्त कारवाही गरिदिन हुन कानुनमन्त्री, दीपक कार्की र रामप्रसाद श्रेष्ठ श्रीमानसँग समेत नम्र निवेदन गर्दछौं ।

– न्याय र सभ्य समाजको आशा गर्ने नेपाली नागरिक

टिप्पणीहरू