रक्सी ओसार्न दिएन भनेर कर्मचारी कुट्न पाइन्छ ?

रक्सी ओसार्न दिएन भनेर कर्मचारी कुट्न पाइन्छ ?

-चन्द्र रिजाल, उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड

विदेशबाट विभिन्न उच्चपदस्थ व्यक्तिको नाममा रक्सी ओसारेर बद्नाम भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीका भ्रष्ट क्रियाकलापको जाँचबुझ टुंगिएको छ । त्यसको प्रतिवेदन तयार पार्ने गरी तोकिएका संयोजक चन्द्र रिजालले गत १७ गते ३० पृष्ठ लामो प्रतिवेदन मन्त्रालयलाई बुझाएका छन् । जाँचबुझ समितिको संयोजक बनेदेखि नै सिइओ रेग्मीले ‘मार्र्छु, काट्छ्, तँलाई देखाइदिन्छु’ भनेर धम्की दिएको रिजाल सुनाउँछन् । पर्यटन बोर्डका उपाध्यक्षको भूमिकामा क्रियाशील उनी यसअघि ट्रेकिङ एजेन्सी एसोसियनको नेतृत्वमा थिए । २८ वर्षसम्म अनेरास्ववियुका प्रारम्भिकदेखि केन्द्रीय कमिटीसम्म रहेका उनी ०५४ को पार्टी विभाजनमा मालेतिर थिए । पार्टीको उद्योग व्यवसायी जिल्ला कमिटी अध्यक्ष तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य र पर्यटन केन्द्रीय विभागको सचिवसमेत रहेर काम गरिसकेका रिजालमाथि सायद हिजो माले भएकै कारण हुनुपर्छ अहिले पार्टीले अन्याय गरेको गुनासो सुनिन्छ । संयोगले उनी र पर्यटन बोर्डका निलम्बित रेग्मी दुवै एमाले हुन् ।

-हरि गजुरेल

तपाईंको नेतृत्वमा नेपाल पर्यटन बोर्डको घोटाला छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?

– सिइओजत्तिको सम्मानित मान्छेले विदेशबाट ल्याएको मदिरा छुटाउन सकिन भनेर एयरपोर्टका नासु तहका कर्मचारीलाई कुटपिट गर्नुमा चारित्रिक प्रश्न जोडिएको छ । पर्यटन बोर्डमा लामो समयदेखि भ्रष्टाचारका कुरा उठिरहेको हो । यसपटक पनि सूक्ष्म ढंगले हेर्दा अनियमितता गरेको देखियो । पर्यटन बोर्ड ०५३ को ऐनअन्तर्गत बनेको हो । सो ऐनअनुसार सिइओ चल्नुपर्ने हो । सिइओ भनेको कामदार हो ।

कुनै राजा, महाराजजस्तो, उसको बोली महत्वपूर्ण र कानुन हुने होइन । ऐन र कार्यविधिले जे भनेको छ, त्यो गर्नुपर्ने हो तर गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्दै हिँड्ने । कार्यसमितिको एउटा निर्णय छ, कार्यान्वयन अर्कै गर्ने । दुई वर्षको बीचमा २० वटा बैंठक बसेको होला, दश वटा निर्णय कार्यान्वयन नै भएको छैन । बोर्डले अह्राएको काम नगरे पनि हुन्छ, मै सर्वेसर्वा हो भनेजस्तो ।

 सिइओ रेग्मीले मार्छु, काट्छु भनेर धम्काएको भन्ने पनि सुनियो । वास्तविकता के हो ?

– एयरपोर्ट काण्ड सार्वजनिक भएलगत्तै किन नबोलेको तपाईंहरू ? भनेर धेरैले सोधेका थिए । ऐनमा भएको व्यवस्थाअनुसार हामी चल्ने हो । हामीले प्रस्ताव दर्ता गर्दा बढी उच्छृंखल भएजस्तो हुन्छ । अनेक विषयमा छानबिन गर्नका लागि भनेर बोर्डमा प्रस्ताव आयो । सबै साथी एक्टिभ हुनुहुन्न, बोर्डले नै तपाईं संयोजक बसेर छानबिन गर्नुप¥यो भन्यो । मैले नाइँ भन्ने कुरा भएन ।

समिति बनेर काम थालेपछि र अरु सदस्यलाई तिमीहरू नबस्नुपथ्र्याे, यो एजेण्डा आउनै हुँदैनथ्यो भन्ने ढंगले धाक धम्की गर्नुभयो । एक दिन कार्यकक्षमा बोलाएर यो छानबिन गर्न पाउनुहुन्न भन्नुभयो, तपाईं र मेरो नराम्रो हुन्छ भनेर धाक धम्की दिनुभयो । साथीहरूले यो कुरा रेकर्ड नै गर्नुभएको छ रे भन्ने पनि सुनेको छु । मन्त्रालयमा बैठक चलिरहँदा तँलाई देखाउँछु भनेर सचिवकै अगाडि भन्नुभएको छ ।

सुवास निरौला, प्रचण्डमान श्रेष्ठ, दीपकराज जोशी हुँदै अहिलेका सिइओ धनञ्जय रेग्मीका फण्डाहरू सार्वजनिक भएका छन् । यसले पर्यटन क्षेत्रलाई कहाँ पु¥याउँछ ?

– संस्थालाई नराम्रो बनाउने गरी कसैले पनि गल्ती गर्नुहुँदैन । हरेक क्षेत्रमा सिइओ हुँदा मेरा योग्यता क्षमताले भ्याउँछ भनेर मात्र जाने हो । मैले पनि मास्टर्स गरेको छु । पर्यटन क्षेत्रमा लामो समय काम गरेको छु । टेकबहादुर डाँगीकै पालामा तपाईं नेपाल पर्यटन बोर्डको सिइओ बन्नुहोस् भन्ने प्रस्ताव गर्नुभएको थियो तर मैले किन आँट गरिन भने सिइओ बनेर गएपछि दशदेखि पाँच बजेसम्म बोर्डको काम गर्नुप¥यो । विदेशीहरूसँग बस्नुप¥यो । मेरो स्वभाव अलि व्यावसायिक, सामाजिक भएका कारण इन्कार गरेँ । योग्यता, क्षमताले पुगेर, आकांक्षाले मात्र हुँदैन ।

११ जनालाई कन्भिन्स गराएर बोर्ड चलाउनुप¥यो, ७० जनाभन्दा बढी कर्मचारीलाई काममा लगाउनुप¥यो । देशी, विदेशीसँग डिल गरेर नयाँ नयाँ सोचको विकास गर्दै सरकारसँग सुमधुर सम्बन्ध राखेर काम गर्नुप¥यो । योग्यता नभएको मान्छे त्यहाँ जानै भएन । क्षमता छ कि छैन भनेर जाने र नियुक्ति गर्ने मान्छेले पहिल्यै बुझ्नुपर्छ । मन्त्री र सचिवहरूले पनि ऐनले गाइड गरेअनुसार चलाउनुपर्छ । छाडा छाड्नु हुन्न । सचिवले हेर्दै नहेर्ने, नबोल्ने ।

मन्त्रीले निर्देशन नदिने,स्वार्थका लागि मात्र मान्छेलाई नियुक्ति गर्ने परिपाटीले अगाडिका फण्डा आए, अहिले पनि आयो र भोलि पनि आउँछ । सचिव र मन्त्रीले भन्दा बढी तलब खान्छन् सिइओले । उनको तलब मासिक ५ लाख, त्यति तलब खाएपछि रिटर्न दिनुपर्छ कि पर्दैन ? उस्टै सेलिब्रेटी बन्ने, कुनै नीति निर्देशन नमान्ने, मिडियाबाजी गर्ने काम ठीक भएन ।

टानमा रहँदा टिम्सको घोटलादेखि ससुरा त्रिलोचन ढकालका पुस्तक पर्यटन बोर्डबाटै छपाउने नाममा तपाईं पनि विवादमा मुछिनुभएको भनेर साँघुमा छापिएको छ । यसबारे के भन्नुहुन्छ ?

– जथाभावी लेख्नेले प्रमाणित पनि गर्नुपर्छ होला । टानमा मेरो कार्यकारी सिग्नेचर पनि होइन । २३ जनाको कमिटी हुन्छ । टानको भ्रष्टाचार वा अनियमितता भनेर कसैले छानबिन गरेको पनि छैन । अडिटरले यो बिल भरपाई भएन भनेर सोध्ने हो । त्यसको जष्टिफाइ हामीले दिने हो । टिम्सको अडिट गर्दा दुई रूपैयाँ कतै चलाएको प्रमाण छ भने पेश गर्न चुनौती दिन्छु । मभन्दा अघि नवराज दाहाल अध्यक्ष हुनुहुन्थ्यो । बुवासँग जोडिएर किताबको कुरा पनि आयो । दीपकराज जोशी सिइओ हुँदा म बोर्डमा थिइनँ । मेरो बुवाको लेखनी राम्रो छ ।

उहाँले लेखेको पर्यटन प्रवद्र्धन हुने एउटा पुस्तक पर्यटन बोर्डले छाप्न सक्छ वा मिल्छ ? भनेर सोधेमा हुन्छ भन्नुभएको थियो तर उहाँ पदबाट हट्नुभयो । पैसा पनि दिनुभएन । अहिलेको सिइओसँग यो विषयमा कुरा नै भएको छैन । मेरो आफ्नै एकाउन्टबाट केदार अधिकारी (आवृत्ति छापाखाना सञ्चालक, बागबजार) लाई भुक्तानी दिएको छु । ससुराको पुस्तकको विषयलाई लिएर अहिलेको सिइओसँग मेरो कहाँ लफडा भयो ? पुस्तकमा नेपाल पर्यटन बोर्ड प्रकाशक भएको छ, त्यही मिस्टेक हो ।

अब पर्यटन बोर्ड कसरी अगाडि बढ्छ ?

– स्पष्टीकरण गएको छ कस्तो जवाफ दिनुहुन्छ हेरौं । पहिला त जवाफ दिन्न भनेर धम्क्याउँदै हुनुहुन्थ्यो । अहिले चिठी बुझिसक्नुभएको छ भन्ने सुनेको छु । चित्तबुझ्दो जवाफ दिनुभयो भने बोर्डले छोडिदेला, चित्त बुझेन भने अर्काे स्पष्टीकरण सोध्ला । ऐनको व्यवस्थाअनुसार बोर्ड अघि बढ्छ । बोर्डको ऐन सही ढंगले कार्यान्वयन नभएरै यो विवाद आएको हो ।

पर्यटन क्षेत्र लथालिंग छ । पर्यटन उत्थानका लागि बोर्डले के गर्छ ? सरकारले के गरिदिनुपर्छ ?

– विदेश भ्रमण, प्रचारात्मक कामका नाममा मन्त्रालयगत छुट्टाछुट्टै भ्रमण गर्ने स्थितिलाई एकरूपता ल्याउनुपर्छ । विदेश गोष्ठी होस् वा नेपालको प्रचार प्रसारको काम बोर्डमार्फत गर्नेगरी एकरूपता ल्याउनु जरुरी छ । एनआरएनमा पनि लफडा छ, सायद यो हाम्रो संस्कारै होला । सरकार कसलाई बनाउँदा फाइदा होला भन्ने ध्येयमा छ ।

यस्ता कुरामा नअल्मलिकन सरकारले एनआरएन र विदेशी कूटनीतिलाई हातमा लिएर प्रवद्र्धन गर्नुपर्छ । बोर्ड एक्लैले केही गर्न सक्दैन । न त प्रशस्त बजेट छ, न पर्याप्त कर्मचारी । पर्यटन बोर्डले स्थायित्व हुने र अनुसन्धानमूलक काम गर्नुपर्छ । अस्थिरताकै कुरा गर्नुहुन्छ भने मेरै कार्यकालमा ४ जना मन्त्री र उति नै सचिव परिवर्तन भइसकेका छन् । पर्यटन ऐन ०५३ को ऐनअनुसार संस्था चलिरहेको छ ।

वर्तमान पर्यटन मन्त्रीले काम कम र स्टण्ट बढी गरे भन्नेहरू पनि छन् । तपाईं कस्तो देख्नुहुन्छ उनको काम ?

– विगतमा मन्त्रालय मन्त्री र सचिवले होइन पर्यटन व्यवसायीले चलाउँथे । अहिले त्यसो हुन पाएन । त्यही कारण बतासको गलत धन्दा छताछुल्ल भयो । अनियमिता गर्ने, राज्यकोषको दोहन गरी ढगेर खान पल्किएका केही मान्छे थिए । त्यसविरुद्ध मन्त्री लाग्नुभयो । त्यही कारण स्टण्ट गरेकोझैं भयो । त्यस्तो आँट कसले गरेको थियो ? भन्ने कुरा सबैलाई परेको छ । बतासले ६ आना जग्गा लिएर १४ आना जग्गा ओगटेको छ ।

मन्त्रीले नहेरी, नबोली त्यो हटेको त होइन ! पशुपति धर्मशालाको अवस्था पहिला नै थाहा थियो । मन्त्रीले एक्सन लिएपछि बतास समूह गल्यो । पर्यटन बोर्डको सिइओ हटाउनमा मन्त्रीको मात्र रोल होइन, हामी ५ जना बोर्डका साथी एकठाउँमा थियौं र त उहाँलाई स्पष्टीकरण सोध्ने कुरा आयो । गलत कुराको छानबिन गर्दै जाँदा सुन तस्करीका कुरासमेत आयो ।

अहिले सिइओमाथिको छानबिनलाई कतिपयले राजनीतिक टकरावका कारण पनि भन्दै छन् । त्यस्तै हो र ?

– योगेश भट्टराईजी र म एउटै पार्टी र एउटै ठाउँमा बसेर आएका हौं । म एउटा पार्टीबाट नियुक्त भएर आएको, त्यही पार्टीमा स्थिर रूपमा बसिरहेको छु । मन्त्री फरक पार्टीको । समितिमा काँग्रेस, माओवादी अरु पार्टीका पनि होलान् । मन्त्रीले भनेर हटाएको हो र ? मन्त्रीले भनेर हामीले मानेको हो र ? प्रस्ताव सचिवबाट आयो ।

सुन ल्याउन पाउनुपथ्र्याे ? अवैध ढंगले चोरी निकासी गर्न पाइन्थ्यो ? ६ बोतल रक्सी ल्याउन पाइएन भनेर कर्मचारी कुट्न पाइन्थ्यो ? आफ्नो भवन बनाउँदा खरिद ऐनलाई टुक्रा–टुक्रा पारेर आफ्नै मान्छेलाई मात्र दिन पाइन्थ्यो ? होटलमा हामीलाई समेत लगी फोटो खिचाएर आफ्नो पारिवारिक भ्रमणको समेत बिल हाली भुक्तानी लिन पाइन्थ्यो ? यदि, कोही उनको समर्थनमा बोल्दै छन् भने तिनका नियतमाथि शंका गर्नुपर्ने हुन्छ ।

तपाईंको दम्पती नै लामो समयदेखि एमालेमा सक्रिय छ तर तपाईंहरूलाई पार्टीले अलि कम महत्वको जिम्मेवारी दिएको हो ?

– सबैलाई योग्यता र क्षमताका आधारमा राम्रो जिम्मेवारी दिनुपर्छ भन्ने हो । मलाई र मेरो परिवारको सदस्यलाई किन जिम्मेवारी दिनुभएन ? उहाँहरूले जवाफ दिने विषय हो । मभन्दा जुनियर मान्छे अहिले स्थायी समितिमा छन् । निरन्तर, इमान्दार ढंगले पार्टीमा लागिरहेको छु ।

म कुनै गुट वा उपगुटको मान्छे होइन । इस्युका आधारमा कहिले माधव नेपाल, त कहिले सिपी, वामदेव, झलनाथ, केपीको समर्थन र विरोध गरेँ । माले पनि बनें । कतिपय मान्छेले माओवादी भन्छन् । मलाई किन जिम्मेवारी दिनुभएन भने नेतृत्वले मेरो र परिवारको योग्यता क्षमता छैन भन्ने सोच्नुभयो होला ।

यो जिम्मेवारी दिनुहोस् भन्दै नेतृत्वमा बस्नेहरूको घरमा देउसी खेल्न नगएर पो हो कि ?

– जानु पनि छैन । चुनाव भएको भए महाधिवेशनमा उठ्छु भन्ने लागेको थियो । चुनाव भएन । चुनाव भएको भए जित्थें । व्यवसाय र राजनीति सँगसँगै लगेको खण्डमा राजनीति सफा हुन्छ भनेर एकसाथ यी दुबैतिर हात हालेको व्यक्ति हुँ । इमान्दार ढंगले व्यवसाय गर्ने एक व्यवसायी, मसँग प्रशस्त पैसा नभएका कारण मलाई माथि नलगिएको हो कि भन्ने बुझेको छु ।

दाल, रोटी आफ्नै दुःखले खाएको छु । कतै ¥याल चुहाएको, बदमासी गरेको पनि छैन । ठुल्ठूला राजनीतिक नियुक्ति चाहिन्छ भनेर त हिँडेको झनै छैन । जमानामा मास्टर्स गरेको, अखिलको केन्द्रीय सदस्य भइसकेको । मसँगै केन्द्रीय सदस्य भएर अखिलमा काम गरेकाहरू अहिले स्थायी कमिटीमा छन् । व्यवसायी मुभमेन्टमा व्यवसायीको नेता भएर काम गरेको छु । म नेताका घर घरमा गएर हजुर, यो बनाइदिनुहोस् भन्दा पनि भन्दिनँ, उहाँहरूले गर्नुहुन्छ भन्ने पनि लाग्दैन ।

टिप्पणीहरू