चुनावको लेखाजोखा गर्दै माधव नेपाल, देशभरको तथ्यांक संकलन गर्ने

चुनावको लेखाजोखा गर्दै माधव नेपाल, देशभरको तथ्यांक संकलन गर्ने

नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन लक्षित कार्यक्रम तय गरेको छ । माघ २५ गते बसेको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा होम्ने निर्णयसहित संगठन विस्तारसम्बन्धी योजना बनाएको हो ।

सचिवालयको निर्णयबारे जानकारी गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी)मा ०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई पार्टी जीवनको महत्वपूर्ण परिघटना भनिएको छ । चुनावमा प्राप्त हुने सफलताले भावी राजनीतिक यात्राको आधार निर्माण गर्ने भएकाले सम्पूर्ण शक्तिका साथ तयारीमा लाग्न मातहतका सबै कमिटीहरुलाई निर्देशन दिइएको छ ।

चुनावको तयारीका लागि समाजवादीले पार्टी तथा जनसङ्गठनका सबै कमिटी र पार्टी सम्बद्ध सबै संगठनहरुलाई कार्यक्षेत्रमा सक्रिय हुन भनेको छ । जसअन्तर्गत भूगोल कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुले एउटा निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित
भई काम गर्नुपर्ने जनाइएको छ । त्यसका लागि आवश्यक प्रवन्ध मिलाउन प्रदेश र जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

साथै, सम्बन्धित भूगोग सम्बद्ध केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य, केन्द्रीय सल्लाहकार परिषद्र तथा जेष्ठ कम्युनिष्ठ मञ्चका सदस्यहरु, केन्द्रीय परिषद्का सदस्यहरु र जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई पनि सङ्गठन निर्माण अभियानमा निश्चित जिम्मेवारी लिएर परिचालित हुन् भनिएको छ ।

त्यस्तै, स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको सङ्गठनात्मक अवस्था र वडा तहसम्मको राजनीतिक शक्ति सन्तुलनको यथार्थ जानकारी लिन समाजवादीले तथ्यांक संकलन पनि गर्ने भएको छ । त्यसका लागि अपानिसँगै पठाईएका तथ्याङ्क फारामहरु भरेर माघ मसान्तसम्म केन्द्रमा पठाउन निर्देशन दिइएको छ ।

समाजवादीले आगामी फागुन मसान्तसम्म सङगठन निर्माणको विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । देशभरका सबै पालिकाका वडामा पार्टी कमिटी र जनसङ्गठनका कमिटी निर्माण गरि सक्न र सकेसम्म प्रत्येक टोलमा कमिटी निर्माण गर्न अपानीमार्फत निर्देशन गरिएको छ ।

टिप्पणीहरू