हिउँ हट्यो,लोमन्थाङ पुग्ने बाटो खुल्यो

हिउँ हट्यो,लोमन्थाङ पुग्ने बाटो खुल्यो

-अमृत बास्कुने

भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको जोमसोम–कोरला सडकखण्डअन्तर्गत लो–घेकर दामोदरकुण्ड क्षेत्रमा हिउँ पन्छाएपछि सवारी साधन सञ्चालनमा आएकोे छ । गत माघ २० गते बेलुकादेखि २२ गते बिहानसम्म भएको अविरल हिमपातले मुस्ताङको उपल्लो भेकमा बाक्लो हिउँ जमेको थियो । सोही कारण सडक अवरुध्द भएपछि झण्डै १० दिन सवारी आवागमन बन्द भएको थियो ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले दुई दिन डोजर (जेसिबी) को सहयोगमा सडकमा जमेको हिउँ पन्छाएपछि शुक्रबारदेखि यातायात सञ्चालनमा आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले बताउनुभयो । उहाँले जमेको हिउँ पन्छाएर सडक खुलेपछि जीप, ट्रक र ट्रयाक्टर चल्न थालेको जानकारी दिनुभयो ।

पहिलो दिन उक्त गाउँपालिकाभित्रको २८ किलोमिटर क्षेत्र चराङदेखि स्याङ्बोचे र दोस्रो दिन बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको करिब १५ किलोमिटर स्याङ्बोचेदेखि समरसम्म सडकको हिउँ पन्छाइएको थियो । पुनले भन्नुभयो, ‘यो वर्ष दुई पटक भएको हिमपातका कारण सडकमा जमेको हिउँ पन्छाउन झण्डै पाँच लाख खर्च भयो । हिमपातले बिग्रेको लो–घेकर दामोदर कुण्ड–५, ताङ्ग्या जाने सडक अझै पनि अवरुद्ध भएकाले हिजोदेखि उक्त सडक पनि मर्मत हुँदै गरेको छ ।’

जोमसोम–कोरला सडक सञ्जाल अन्तर्गत जोमसोम–लोमन्थाङ शुक्रबारबाट सञ्चालनमा आइसकेको छ । सडकमा जमेको हिउँ पन्छाएपछि हिमपातले अलपत्र परेर बीचमै रोकिएका सवारीसाधन तथा सर्वसाधारणहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान र विकास निर्माणका सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।

जोमसोमदेखि लोमन्थाङका लागि छुटेका मालवाहक सवारी साधनहरु पनि सामान अनलोड गरेर तत्काल फर्केको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले बताउनुभयो । उहाँका अनुसार चिसोले गर्दा भोलि स्टार्ट नहुने जोखिमलाई ध्यानमा राखेर सवारी साधनहरु तुरुन्तै फर्केका हुन् ।

हिमपात पन्छाउन गाउँपालिकाका जनप्रतिनिधिहरु आफै फिल्डमा खटेको बताइन्छ । हिमपातले हिमाली क्षेत्रका किसानमा उत्साह छाएको छ । तर सडकमा लामो समयसम्म हिउँ रहँदा स्थानीयलाई सास्ती हुने गरेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कोरला सडकको लम्बाई १ सय १० किलोमिटर छ ।

 

तस्बिर : शोभा पुन

टिप्पणीहरू