गण्डकीमा गरिबलाई रगत नि:शुल्क

गण्डकीमा गरिबलाई रगत नि:शुल्क

गण्डकी प्रदेश सरकारले निःशुल्क रगतको व्यवस्था गरेको छ । आर्थिक अवस्था कमजोर भएकोलाई तत्काल रगतको व्यवस्थापन गर्न प्रदेश सरकारले निःशुल्क रगत कार्यविधि ल्याएको हो ।

बिरामी वा दूर्घटनामा परेकाको उपचारमा रगतको कमी नहोस् भन्ने उदेश्यले उक्त कार्यविधि तयार पारेको गण्डकी प्रदेशका शाखा अधिकृत विकास थापा मगरले बताए । यो व्यवस्था सरकारी र निजी अस्पताल दुवैमा लागू हुने उनको भनाइ छ ।

यसअघि बिरामीका आफन्तले रगत किनेकोबापत सरकारीलाई सात सय र निजीलाई एक हजार रुपैंयासम्म तिर्दै आएका थिए । रगतजन्य सेवाको अभावमा ज्यान गुमाउने स्थितिको अन्त्य गर्न प्रदेश सरकारले सो व्यवस्था गरेको हो । यता, रक्तदाताले पनि निःशुल्क रगतको व्यवस्था गर्नुपर्ने माग राख्दै आएका थिए ।

यही फागुन १ अर्थात आइतबारदेखि गण्डकी प्रदेशका नागरिकले निःशुल्क रगत पाउनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ गत सोमबारको क्याविनेटले पारित गरेसँगै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने बाटो खुलेको हो ।

टिप्पणीहरू