अब मलेसियाका नेपालीलाई त्यहिँबाट ई–पासपोर्ट

अब मलेसियाका नेपालीलाई त्यहिँबाट ई–पासपोर्ट

मलेसियास्थित नेपाली दूतावासले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण शुरु गरेको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा ई–पासपोर्टको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको हो । राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गरिएको छ ।

पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इन्रोल्मेण्ट गरिएको बताइएको छ । दूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात् नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको जनाएको छ ।

ई–पासपोर्टको शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट भाग लिएका राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताए ।

टिप्पणीहरू