नेपालमै देखिनेछ अब नयाँ प्रयोग

नदीझैं गतिशील भएर बगिरहन गाह्रो छ तर हरेश नखाई यात्रामा अविचलित बढिरहन सके एउटा विम्ब कोरिँदो रहेछ । यस्तै लाग्छ उनको जीवनका पत्र केलाउँदा । विद्यालय, विश्वविद्यालयका पुस्तक पढेनन् । तर, भनिन्छ, पढेरभन्दा परेर जानिन्छ । हण्डर, ठक्कर र चोटको भोगाइकै उपज हुन् छिरिङ जाङ्बु शेर्पा । औपचारिक अध्ययन ५ कक्षासम्म मात्र । तर, पढाउँँछन् स्नातकोत्तर तहसम्मलाई । ४२ वर्षअघि जन्मिए सोलुखुम्बुको लोखिम, रक्सिखर्क गाउँमा ५/७ वटा स–साना झुप्रा । औपचारिक अध्ययन लामिडाँडा स्कुलमा पाँच कक्षासम्म मात्र । जतिखेर ११ वर्षमा टेक्दै थिए त्यही समयमा लाग्यो अध्ययनमा ब्रेक । अध्ययनलाई पूर्णविराम लगाएर उनी विदेशीका भरिया बन्न थाले । कहिले खोटाङको ऐंसेलुखर्कबाट चामल, नून किनेर सल्लेरी बेच्न जान्थे, दिदीसँग । एउटा सानो घटनाले बदलिन सक्छ पूरै जिन्दगी । त्यसैले त खप्तड बाबाले विचारविज्ञान नामक पुस्तकमा लेखे, ‘तिमी त्यस्तै बन्छौं, जस्तो तिम्रो विचार हुन्छ ।’

त्यही विचारले हो छिरिङको जीवनमा कायापलट भएको । जतिखेर उनी एक मुठी सास अड्याउनका लागि भरियाको काम गर्दै थिए । लुक्लाबाट उकालो लाग्दै गर्दाको बीच बाटोको कुरा हो । जुन घटना मानसपटलमा बारम्बार नाचिरहन्छ । दुई जना फ्रेञ्चको किचन भरिया थिए । विदेशीसँगै अफिसको डाइरेक्टर पनि थिए । कुकले एक लात र दुई झापट बजारे । कारण थियो किचन र कुकसम्बन्धी सामान्य जानकारी नहुनु, भाँडाकुँडाको नाम थाहा नहुनु । जीवनमा खाएको एक लात्ती र दुई झापटले बदलियो जीवनको नक्शा । त्यतिबेलाका ती भरिया छिरिङ अहिले प्रशिक्षक छन् । उनलाई लात्ती बजार्ने कुकको अझै पनि कुक काम गर्दै छन् ।

मान्छेहरू देख्छन् अरूको सफलताका कथा तर त्यो प्राप्त गर्न उसले पेलेका पापड देख्दैनन् । ०५७ सालमा राजधानी भित्रिए । लोखिम र रक्सीखर्क जतिको कहाँ प्रिय थियो र काठमाडौं ? पाइला–पाइलामा पीडा र अभावरूपी अजंगको पहाड छिचोल्नु थियो । संयोगले जागिर भेट्टाए ट्रेकिङ कम्पनीमा । अहिले विवादको घेरामा मुछिएको, यति समूहको लगानी रहेको नेपालकै ठूलो ट्रेकिङ कम्पनी थामसेर्कुमा क्लाइम्बिङसम्बन्धी काम हेर्ने जिम्मा पाए । दुई वर्षसम्म प्रशिक्षकको भूमिकामा रहे । प्रशिक्षक र सिकारु दुवै भूमिका निर्वाह गरेका उनलाई तालिम दिँदा पढाउनुपर्ने विषयवस्तुमा दोधार उत्पन्न भयो । एकेडेमी वा कुनै कम्पनीबाट सञ्चालन क्लाइम्बिङ भवनमा गएर सिक्नु भनेको डमी सिकाइ हो । यसले विद्यार्थीमा एउटा चेतना त विस्तार गराउँछ नै तर यो कक्षागत मात्र हो । प्रशिक्षकले विद्यार्थीलाई पढाएर र फिल्डमै सिकाएर, गराएर देखाइदिनुपर्छ । फिल्डमा सिकेपछि आफैँले सबै समस्या हल गर्न सक्ने हुनुपर्छ । यही प्राक्टिकल सिकाइले विद्यार्थी खारिने हो । त्यसपछि तालिम दिनुभन्दा पनि अझै खारिनुपर्ने रहेछ भन्ने लाग्यो । र, पूर्ण रूपमा माउन्टेनियरिङ तालिम र अध्ययनमा लागी ०७३ सालमा डिप्लोमा गरे । त्यसपछि बल्ल अध्यापन गराउन थाले । दुई वर्षदेखि पूर्णकालीन अध्यापक छन् । यस वर्ष साउनयता मात्र १५ सय बढीलाई प्रशिक्षण दिइसकेका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत माउन्टेनियरिङ एकेडेमीमा ।

१५ वर्षदेखि नै ८ हजार मिटर उचाइका चुचुरा टेक्न थालेका हुन् । यसअघि ८ हजारमुनिका हिमटाकुरा त कति चढे–चढे हिसाब किताब राखेका छैनन् । गन्ति गर्न पनि सक्दैनन् । सगरमाथा चार पटक, ल्होत्से चार पटक । मकालु एक पटक । चोयु दुई पटक । सिसाबङ्ला दुई पटक । ०६३ सालमा पहिलोचोटि चीनबाट चोमोलुङ्मा चढेका उनले आठ हजार पाँच सय १५ मिटर उचाइको पहिलो हिमाल ल्होत्सेमा झण्डा गाडे । हो, त्यही अनुभवले उनलाई सगरमाथा चढ्ने आत्मबल बढायो । उचाइमा पुग्नु मात्र ठूलो कुरा होइन, टिकिरहनुचाहिँ धेरै मुस्किलको कुरा हो । विश्वकै सर्वाेच्च शिरमा पुग्न जति कठिन छ त्योभन्दा असाध्य कष्टकर हुन्छ तल झर्न । टुप्पामा पुगेर तल झर्दा कति पीडा हुन्छ ? एकबार मात्रै मर्म थाहा हुन्छ सफलताको चुलीबाट खसेर भुइँमा झरेकालाई । सगरमाथा वा अन्य हिमालमा जति पनि दुःखद घटना भएका छन् ती सबै ओर्लिने क्रममा भएका हुन् । हिमाल चढ्ने सिलसिलामा हिउँ पहिरो खसेपछि आइपर्ने विपत्ति छुट्टै छ । तर, सबैभन्दा कठिन सगरमाथा चढ्नु होइन झर्नु हो, उनको अनुभवले यही भन्छ । यद्यपि, सगरमाथा अर्काे समस्या, समिट फिभर हो । यो भनेको चढ्नेबाहेक अरू ध्यान नहुनु हो । जुन रोगबाट उनी पनि पीडित बने । छिरिङसँग हिमाल चढ्दाका बिर्सन नसकिने क्षण अविरल वर्षाझैँ छन् । ओछ्यानमा निदाएका साथीलाई बोकेर कुदेको । घटना हो २००८ को ।

त्यतिबेला हिमाल चढ्ने क्रममा छातीको करङ भाँचियो । हिउँ पहिरोले दुई सय मिटर तल लैजाँदा सँगै बगेका पाँच जना साथीमध्ये कसैको टाउको काटिएको, कसैको शरीरबाट रगत बगेर आहालझैँ भएको दृश्यले उनलाई अझै पोल्छ । तर, दैवको साथ भनौँ सबै जनाको उद्धार भयो । हिउँपहिरोले बगाउने क्रममा हाम फालेर पौडिँदै निस्कन खोज्दा छातीमा झुण्डिएको क्यामेरा भुइँमा बज्रन पुग्यो र सग्लो करङ टुक्रियो । बाँकी साथीले हिउँ पहिरोमा परेर अशक्त बन्नुप¥यो । यो घटनाले उनलाई चार वर्षसम्म पिरोल्यो । क्याम्प–३ मा थिए उनी । एक्कासि पहिरो आयो । पहिरोले सबै साथीलाई बगाउन लाग्यो । प्रकृतिसँग कसैको केही नलाग्ने । जिन्दगी अन्तिम घडीमा । उनले पनि साथीलाई समाएर ‘भाग भाग’ भन्दै कुदे । सुतिरहेको साथीलाई समाउँदै अघि बढ्ने क्रममा टेण्टको डण्डीमा बजारिए । सगरमाथामा भएको घट्नाले नछाडेको धङधङी । एकदिन धादिङबेसीमा कम्पनीको सरसँग सुतिरहेका थिए । रातको १२ बजे । जतिबेला जन्ती पनि आइरहेका थिए ।

‘डिहाइड्रेसन’ भयो । आधा घण्टा खुट्टा चलेन, रूखको हाँगोजस्तो भयो । जुन घटना उनका लागि अत्यन्तै पीडादायी भए पनि अरूका लागि प्रेरणाको स्रोत बन्यो । उनी अहिले यो कथा कक्षामा सुनाउँछन् ताकि अरू कुनै दिन हिमाल चढ्दा यस्ता समस्यामा नपरून् । यस्तै,‘नेपाल सरकारले पर्यटन क्षेत्रको साहसिक क्षेत्रमा एउटा तालिम दिने योजना अघि बढायो । र, यसका लागि दश लाख बजेट विनियोजन भयो । बजेट छुट्टिइसक्यो तर बजेट परिचालनका लागि पायक पर्ने क्षेत्र र योजना फुरेन । यो सन् २०१४ को कुरा हो । त्यतिबेला पेम्बा ग्याल्जेन सरसहित सबै विद्यार्थीले फिल्डको ट्रेनिङमा जानुपर्ने भयो । त्यतिबेलै पेम्बाले उनलाई यस विषयमा जानकारी गराए । र, उनले मनमनै स्की खेलको नयाँ सोच अघि बढाए । विन्टर सिजनमा हिमाली भेगका मानिस ढोका थुनेर बस्ने या ओरालो (पहाडतिर) झर्ने गर्छन् । तर, उनले अब भविष्यमा त्यसो होइन सदावहार ढोका खुला रहनुपर्छ भन्ने सोचसाथ स्की खेलको प्रस्ताव अगाडि सार्ने मोडमा थिए । स्की भनेको हिउँमा चिप्लिनु हो । यो एकदमै साहसिक खेल हो । सम्झिए स्वीस साथीलाई । तिनले १० वर्षसम्म स्की खेलसम्बन्धी प्रशिक्षण दिने वाचा गरे ।

तर, सुरक्षाको हिसाबले कसलाई दिने ? समस्या आयो । त्यसपछि माउन्टेनियरिङ बुझेको र हिउँसँग परिचित व्यक्तिको पहिचान भयो । हिउँसँग लडीबुडी गर्ने माउन्टेन गाइड मात्र हुन्छ । सन् २०१५ देखि स्की खेल खेल्न थालियो । जसको शुरुवात छिरिङले नै गरेका थिए । त्यतिबेलादेखि नै माउन्टेनियरिङ एकेडेमीमा प्रशिक्षकका रूपमा प्रवेश गरेका छिरिङले स्की विभागको सबै जिम्मेवारी सम्हालिरहेका छन् । केही समयमै युरोपबाट यो खेलका लागि दुई हजार चार सय टन सामग्री आउँदै छ । सामग्री आइनपुग्दै खप्तड, मुस्ताङ, मुक्तिनाथ, कालिञ्चोक, शैलुङमा यसको प्रचार गरिसकिएको छ । गत वर्ष कालिञ्चोकमा १९ जनालाई तालिम दिइसकेका उनी अरू १९ जनालाई लिएर युरोपतिर निस्कँदै छन् । फ्रान्स र स्विजरल्याण्ड दुई सातासम्म तालिम सञ्चालन गरिनेछ । उनी भ्रमण वर्ष ०२० को लक्ष्य पूरा गर्नमा केही चुनौती देख्छन् । भौतिक पूर्वाधार र एयर ट्राफिक जाम त छँदै छ । प्रचार प्रसारको पाटोमा पनि सरकार चुकेको देख्छन् ।

– दिपेन्द्र रुम्दाली

टिप्पणीहरू