सीमापारिबाट यो पनि सिकौं

विगतमा एमाले, माओवादी अलग–अलग हुँदा एउटाले फागुन २१ मा सुखानी दिवस र अर्कोले फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिन्थ्यो । तर, यो वर्ष एकै दिन समायोजित नामका आधारमा दिवस मनाइँदैछ ।

नभए, वैशाख ११ गते ०६२÷६३ को जनआन्दोलन सफल भएको दिनलाई स्मरण गर्दै लोकतन्त्र दिवस मनाउने गरिन्थ्यो । ०४६ को परिवर्तनलाई आधार मानेर चैत २६ गतेलाई जनआन्दोलन दिवसका रुपमा केही वर्ष मनाइयो । सरकारी क्यालेण्डरमा ००७ सालको परिवर्तनका आधारमा फागुन ७ लाई प्रजातन्त्र र माघ १६ गते शहीद दिवस भन्ने परिपाटी छ । देशको एउटा, पार्टीपिच्छेका फरक–फरक दिवस, सन्दर्भहरुले जनतामा अन्यौलता छाएको स्थितिलाई सत्तारुढ नेकपाले चिर्दैछ ।

यसपटक पूर्वमाओवादीले जनयुद्ध दिवस मनाउँदै आएको फागुन १ लाई सहिद स्मृति तथा जनयुद्ध स्मरण दिवसका रुपमा मनाइने भएको छ । पूर्वएमालेले झापाको शान्तिगर, सुखानीमा मारिएका आफ्ना योद्धाहरुको स्मरणमा फागुन २१ गते आयोजना गर्ने सुखानी स्मृति दिवस पनि फागुन १ मै सारेको छ । यो निर्णयसँगै नेकपाले कार्यकर्ता पंक्तिलाई उत्साहित पार्ने केही सन्देश दिएको छ । अध्यक्षहरुको कामको बाँडफाँड भएको छ । प्रधानमन्त्रीको आधी आधी कार्यकाल चलाउने लिखित सहमतिका बाबजुद प्रचण्डले भैगो, पाँचै वर्ष तपाईं नै चलाउनोस् भनी छाडिदिएको अवस्था छ । पार्टीमा यस्तै सौहार्दता, हार्दिकताको विकास हुने हो भने देशभर उत्साह सञ्चारित भइरहने देखिन्छ ।

समय समयमा गुटगत भेलाका असर देखा पर्ने गरेका छन् । पार्टीहरु अलग अलग हुँदा तिक्तताका साथ गालीगलौज प्रकट हुने क्रम थियो । अब नेकपा त्यसबाट मुक्त हुनै पर्छ । सत्ता भनेको सधैँ स्थायी हुँदैन । जनतासँगको सम्बन्ध, कार्यकर्ताको चेन अफ कमाण्डलाई कायम राख्न सकिएन भने सत्ता त साथमा रहँदैन नै, जनसम्बन्ध पनि टाढिन्छ । छिमेकी भारतको उदाहरण हेरौँ– मेचीपारि सिलिगुडी, नक्सलबाडीमा चारु मजुम्दारले चलाएको वर्गसंघर्षबाट प्रेरित भएर २०२८ सालमा झापा विद्रोह भयो । पश्चिम बंगालमा भाकपा माक्र्सवादीले सन् १९७७ देखि २०११, अर्थात् ३४ वर्षसम्म लगातार शासन सत्ता चलायो । भनिन्थ्यो, पश्चिम बंगालको ढुंगा–माटोसमेत कम्युनिष्ट भइसके । तर, सन् २०१९ को निर्वाचनमा लोकसभातर्फ ४२ सीटमा चुनाव उठ्दा भाकपाले ४१ सीटमा जमानत जफत हुने गरी पराजय व्यहो¥यो । कतिपय स्थानीय तहमा उम्मेदवारी पाएन । देश–देशावरमा फैलिएको कम्युनिष्ट पार्टीले भारतमा अरुबाट हैन, ममता बेनर्जी नेतृत्वमा रहेको पश्चिम बंगालस्थित प्रान्तीय दल तृणमुल कांग्रेसबाट रेटिनुप¥यो । त्यसैले नेकपाले यो तथ्य मनन गर्दै गम्भीर हुने बेला आएको छ ।

अहिले पूर्वएमाले र पूर्वमाओवादी भन्ने धङ्धङीबाट क्रमशः नेकपाले मुक्ति पाउँदैछ । हालैको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव र कार्यकारी राष्ट्रपतिको चर्चाले प्रवेश पाएको छ । यो पूर्वमाओवादीको एजेण्डा हो । तर, फलानोको एजेण्डा र चिलानोको प्रस्ताव भनिएन । शायद, यसखाले एकताले परिणाम राम्रै दिन्छ । एकता, गतिशीलता र जनउत्तरदायी हुन सकेमा नेकपाको सुखद् भविष्य देखिन्छ । अन्यथा, सीमापारिका कम्युनिष्ट सकिएको नियति नजिकै छ ।

टिप्पणीहरू