नेपाली फर्काऊ, चीनको घाउ नचर्काऊ

चीनको हुपेर्ई प्रान्तस्थित १८० जना नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन नेपालले तीव्र तयारी गरेको छ । कोरोना भाइरस संक्रमणको इपिसेन्टर मानिएको हुपेर्ई प्रान्त र यसको सदरमुकाम वुहानमा रहेका नेपालीले आफू थुनिएको भन्दै उद्धार गरेर स्वदेश फर्काइदिन आग्रह गरिरहेका छन् । आफन्तको करकाप र एकान्तवासको कारण केही मानसिक दबाबमा रहेका विद्यार्थी बढीचाहिँ चीनविरोधी सञ्चारमाध्यम र चीनमाथि विभेद गर्ने शक्तिबाट प्रभावित भएको बताइन्छ । छात्रवृत्ति पाएर फुरुंग परी अध्ययन गर्न गएका उनीहरू आफ्नै इच्छाले जाडो बिदामा पनि नेपाल नफर्की उतै बसेका थिए । जब कोरोना भाइरसको संक्रमण बढ्यो तब तिनैले चीनलाई दोषी देखाउन थालेका छन् । चीन सरकारले उनीहरूको स्वास्थ्य र सुरक्षाको पूर्ण ग्यारेन्टी लिँदै सबै सुविधा उपलब्ध गराएको पनि छ ।

वुहानमा रहेका प्रायःजसो नेपाली विद्यार्थीलाई चीनका विश्वविद्यालय र स्थानीय सरकारले निःशुल्क खाना दिएका छन् । शुल्क दिनै परे पनि अत्यन्त कम तिर्नुपर्छ । बसोबासको नजिकै तरकारी तथा अन्य आवश्यक खाद्य सामग्रीका स्टोर खोलेर त्यहाँ गई खरिद गर्न पनि भनिएकै छ । समय–समयमा फोन तथा विच्याटमार्फत स्वास्थ्य तथा अन्य सुरक्षाको अवस्थाबारे सोधखोज भएकै छ । नेपालभन्दा केही ठूलो हुपेई प्रान्तमा करोडौँ चिनियाँ बसोबास गर्छन्् । अहिलेसम्म सो प्रान्तमा मात्र कोरोनाबाट मर्नेको संख्या सम्पूर्ण मर्नेको अनुपातमा ९० प्रतिशतभन्दा बढी छ ।

संक्रमितमा पनि अधिकांश त्यही प्रान्तका छन् । चीन कोरोना भाइरसविरुद्ध युद्ध लडिरहेको छ । तर पश्चिमा देश तथा सञ्चारमाध्यमले भेदभावपूर्ण व्यवहार गरिरहेको गुनासो चिनियाँ अधिकारीहरुको छ । कोरोना भाइरस चीनले नै बनाएको हो भन्ने अर्थमा उनीहरूको कटाक्ष प्रस्तुत भइरहेको छ । त्यही सुरमा वुहानमा रहेका नेपाली विद्यार्थीले पनि चीनमाथि विभिन्न आक्षेप लगाउने काम गरिरहेका छन् । विभिन्न सञ्चार माध्यममा उनीहरूले ट्वाइलेटको पानी खाइरहेको भनेर समाचार आएको छ । चीनका छात्रावास तथा विभिन्न बसोबास क्षेत्रमा धाराको पानी उमालेर खान उपयुक्त हुन्छ । पाँचतारे होटलको धारामा आउने पानी पनि उही पाइपलाइनको हो । सामान्यतः पाँचतारे होटलमा बस्ने पाहुनाले पनि धाराको पानी उमालेर खाने गर्छन् । यस्तो अवस्थामा धाराको पानीलाई ट्वाइलेटको पानी खाएर बसिरहेका छौँ भन्नु ठूलो अन्याय हो । त्यति मात्र होइन, वुहानका विद्यार्थीले भारत सरकारले हाम्रो उद्दार गर्छ भन्नु देशमाथिकोे घातभन्दा अरू केही होइन । वुहानका नेपाली विद्यार्थी नेपाल र चीनबीचको मित्रतामा आँच आउने गरी चीनविरोधी शक्तिको कठपुतली बन्नु हुँदैन भनिँदैछ ।

हुपेई प्रान्त र वुहानबाट नेपालीलाई तुरुन्तै फर्काउनुपर्छ भन्नेमा नेपाल सरकारलाई तीन प्रकारले दबाब दिइएको छ । पहिलो दबाव त्यहाँ रहेका केही विद्यार्थीले अफवाह फैलाएर गरेका छन् । उनीहरूले नेपालका केही मन्त्री तथा नेताहरूलाई फोन गरेर सरापेको बुझिएको छ । दोस्रो दबाब नेपालस्थित आफन्तले स्वास्थ्य मन्त्रालयमा धर्ना मार्फत दिएका छन् । अनि तेस्रो दबाबचाहिँ नेपालका सञ्चारमाध्यम तथा केही पहुँचवाला व्यक्तिका आफन्त वुहानमा रहेकाले तिनैले दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालका छोरा आयुर चोङनान विश्वविद्यालयबाट एलएलबी गर्दै छन् । त्यसैगरी, चीन घुम्न जाँदा हुपेई प्रान्तमा थुनिएका एक जना नेपाली चिकित्सक मन्त्रीका आफन्त रहेको बुझिएको छ । झापाको सुरुंगाका डा. समिर भट्टराई नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका नातेदार हुन् । उनी झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्यचिकित्सक पनि हुन् । गत डिसेम्बर १० मा सात वर्षिया छोरी स्मारिकालाई लिएर चीन घुम्न गएका थिए । समिरकी श्रीमती जानुका भुसाल हुपेई प्रान्तबाटै एमडी गर्दै छिन् । समिर उतै लक्डडाउनमा परेपछि बारम्बार मन्त्रीलाई फोन गरेर उद्धार गर्न आग्रह गरिरहेका छन् ।

नयाँ पत्रिका दैनिकका प्रकाशक तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटाकी बहिनी प्रमिला पनि वुहानमा पिएचडी गर्दैछिन् । कृष्णज्वालाले आफ्नो पत्रिकामा लामो लेख छपाई सरकारलाई तत्काल उद्धार थाल्न दबाब दिएका छन् ।

संकटको बेला आफ्ना नागरिकलाई कोरोना संक्रमणबाट बचाउन चीनले जति काम गरिरहेको छ त्यसमा अन्य देश मुकदर्शक बनेका छन् । आफ्ना नागरिकको मात्र होइन चीनले हुपेई प्रान्त तथा अन्यत्र रहेका सबै नेपालीको स्वास्थ्य तथा अन्य सुरक्षाको ग्यारेन्टी लिइरहेको छ । संकटको बेला छिमेकी मुलुकका हैसियतले साथ दिनुपर्नेमा उल्टो एक्ल्याउने र चीनको भावनामै आँच आउने गरी पत्रपत्रिका र सामाजिक सञ्जालमा छरपष्ट पारिँदा भर्खरै भिसाशुल्क बढाएको चीनले मौनअसन्तुष्टि पोखिरहेको पाइन्छ ।

यसबीच, कोरोना प्रभावित क्षेत्रका नागरिकको स्वदेश फिर्तीको साइत सरकारको कार्यकाल दुई वर्ष पूरा हुने दिनलाई तय भएको छ । उद्धार गरिने नेपालीलाई राख्नका लागि ५० कोठाको क्वारेन्टाइन रातारात तयार पारिँदैछ ।

भक्तपुरको खरिपाटीस्थित विद्युत प्रशिक्षण केन्द्रमा प्रभावित क्षेत्रका नागरिकलाई १४ दिनसम्म राखिने भएको हो । त्यहाँ शहरी तथा भवन विभागले ५० वटा कोठा बारबेर गर्दैछ । यससँगै प्रहरीले गेटमा २४ घण्टे ड्युटी लिइसक्यो । त्यसरी चीनबाट ल्याइने प्रभावित क्षेत्रका नेपालीलाई २४ सै घण्टा स्वास्थ्यसेवा दिइने भएको छ । नेपाली सेनाको तर्फबाट डेढ वर्षपछिका प्रधानसेनापति र हालका सम्भाररथी प्रभुराम शर्माको कमाण्डमा सुरक्षा प्रदान गरिएको छ । त्यहाँ सशस्त्र, प्रहरी र सेनाको मेडिकल टोली खटाइने छ । हिजै प्रधानसेनापति र मुख्यसचिवले एकताका माओवादीको चर्काचर्की विस्तारित बैठक चलेको सोही ठाउँको निरीक्षण गरेका छन् ।

– डा. उमेश आचार्य, चोङछिङ

टिप्पणीहरू