रुकुमका किसानलाई पेन्सन

रुकुमका किसानलाई पेन्सन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले जेष्ठ कृषकलाई मासिक पेन्सन दिने भएको छ । गाउँसभा तथा कार्यपालिकाको निर्णयअनुसार जेष्ठ कृषकलाई गाउँपालिकाले प्रतिमहिना ५ सय रुपैयाँ पेन्सन दिने तयारी गरेको हो ।

कार्यविधि बनाएर पेन्सन कार्यक्रम सुरुवात गर्न लागेको पालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को श्रावण १ गतेबाट लागू हुनेगरी किसानलाई प्रत्येक महिना पेन्सन दिने निर्णय गरिएको अध्यक्ष धर्मबहादुर केसीले बताए ।

गाउँपालिकाले ५५ वर्ष पूरा भई ६० वर्ष नपुगेका दलित किसानलाई पेन्सन दिने गरि कार्यविधि बनाउन लागेको छ भने गैरदलितको हकमा ६० वर्ष पूरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने छ । अध्यक्ष केसीले एक घरबाट एक जनाले मात्र पेन्सन पाउने व्यवस्था गरेको बताउनुभयो । पेन्सनका लागि कुनैपनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनुपर्ने छ ।

पेन्सन प्राप्त गर्न सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्न वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रबहादुर केसीको आग्रह छ । त्यसका लागि नागरिकताको फोटोकपी, बैंक खाता र चेकको फोटोकपी बुझाउनुपर्ने वडाध्यक्षले जानकारी गराउनुभयो ।

गाउँपालिकाले भोलिसम्म आफ्नो वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू