विद्यार्थी र मजदुरलाई इन्डक्सन चुल्हो दिइयोस्’

विद्यार्थी र मजदुरलाई इन्डक्सन चुल्हो दिइयोस्’

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले परिश्रम गरेर खाने वर्गलाई निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन माग गरेको छ । सामान्य मजदुरी गरेर खाने, विद्यार्थी, निमुख, किसानहरुलाई युनियनले निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन भनेको हो ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाईंमन्त्री पम्फा भुसाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले बढ्दो पेट्रोलियम पदार्थको मूल्यले सम्पूर्ण सामानमा महँगी बढेको बताएका छन् । महँगीका कारण पटक पटक सडकमा प्रदर्शन गरे पनि सरकार उदासिन देखिएको उनीहरुको आरोप छ ।

बढ्दो महँगीले सर्वसाधारणको ढाड सेक्दा पनि सरकार टुलुटुलु हरेर बसेको ठहर यूनियनको छ । इन्धनको मूल्य निरन्तर उकालो लागेपछि यसको विकल्प खोज्न उनीहरुले सरकारलाई सुझाएका हुन् । साथै, उनीहरुले विद्युतीय माध्यमका यातायात सञ्चालनलाई प्राथमिकता दिनसमेत माग गरेका छन् ।

पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा सरकार सकारात्मक हुनुपर्ने संगठनको भनाइ छ । ज्ञापनपत्र लिँदै मन्त्री भुसालले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने जानकारी दिनुभएको छ ।

टिप्पणीहरू