अब धमाधम फिल्म देखाइने

अब धमाधम फिल्म देखाइने

कोरोना महामारीको तेस्रो लहर सुरु भएपछि बन्द गरिएका सिनेमाघरहरु आगामी सातादेखि सञ्चालनमा आउने भएका छन् । सरकारले फागुन १ गतेदेखि आवश्यक मापदण्डको पालना गरेर सिनेमा हलहरु खोल्ने निर्णय गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को हिजो बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन सरकारलाई सिफारिस गरेको थियो । सोहीबमोजिम हिजो दिउँसो राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फागुन १ गतेदेखि फिल्म हल खुलाउने निर्णय गरेको हो ।

कारोना संक्रमणको तेस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि हलहरु बन्द गराएको थियो । अघिल्लो पटक कोरोनाको दोस्रो लहर नियन्त्रणमा आएपछि फिल्म प्रदर्शनमा अघि सरेका निर्माता÷निर्देशकहरु त्यसपछि अन्योलमा परेका हुन् ।

प्रदर्शन मिति तय भइसकेका कतिपय फिल्मले भने नयाँ मिति घोषणा गरेका छन् । सिनेमा हल खुल्ने भएपछि चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न संघ संस्थाहरुले आज संयुक्त बैठक डाकेका छन् । उनीहरुले महामारीबाट ठप्प चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

टिप्पणीहरू