सरकारको नाम बेच्नेहरु यसरी समातिए

सरकारको नाम बेच्नेहरु यसरी समातिए

‘भूमि आयोगको मान्छे हौं, जमिन दिलाइ दिन्छौँ’ भनेर सुकुम्बासीसँग रकम उठाउँदै हिँड्ने गिरोह समातिएको छ । झापाको भद्रपुर नगरपालिका-३ का ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौं बूढानिलकण्ठ नगरपालिका-४ का ४४ वर्षीय उध्दव भण्डारीलाई हिजो प्रहरीले समातेको हो ।

काठमाडौंको बसन्तनगरस्थित भेटघाट क्याफेमा दुई जना व्यक्तिले ठग्न लागेको सुराकी पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो । ‘सुकुम्बासीहरुलाई जग्गा वितरण गछौँ,फाराम भर्नुपर्छ’ भनी पैसा असुल गरेको भन्ने सुराकीकका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ल्यापटप र प्रिन्टर एक-एक थान,’भूमिहीन दलित,भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएका डकुमेन्टहरु, ‘अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा’ लेखिएको फारामहरु,विभिन्न व्यक्तिहरुको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइलहरु,स्पिकर १ थान र मोबाइल ३ थानसमेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँले बताएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएको कर्मचारीको परिचयमा ठग्ने गरेको खुलेको हो । उनीहरुले काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्त गर्न जनही ५० हजार रुपैयाँको दरले पैसा लिएर फारम भर्न लगाउने गरेको प्रहरीले जनाएको छ । यससम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू