यति धरै नेपाली जनता कता हराए ? « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

यति धरै नेपाली जनता कता हराए ?

प्रकाशित मिति :  २५ माघ २०७८, मंगलवार १२:००


जनसंख्या विवरण सार्वजनिक भएपछि अनेकन टिप्पणी भएको छ । कतै मतदाताभन्दा जनसंख्या कम भएका खबर सुनिन्छन् भने कतैचाहिँ भूकम्पपीडित लाभग्राहीको सेवा–सुविधा लिइसकेका व्यक्तिहरू नै गणनाको अभिलेखमा नरहेका समाचार सार्वजनिक भएका छन् ।

चेपाङ जातिको उद्गम मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि त्यस्तै देखियो । ०७५ सालमा निर्मित भिलेज प्रोफाइलमा देखाइएभन्दा कम जनसंख्या राष्ट्रिय जनगणना नतिजाको रूपमा सार्वजनिक भएको छ । अर्थात् पछिल्ला तीन वर्षयता गाउँपालिकाको जनसंख्या घट्दो क्रममा छ ।

०७५ सालको घरधुरी सर्वेक्षणअनुसार सार्वजनिक गरिएको तथ्यांकमा ३०८३० जनाको बसोबास रहेको उल्लेख छ । तर, अहिले राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजामा यो संख्या घटेर २५८७१ भएको छ । त्यसो त राष्ट्रिय जनगणना २०६८ मै २६,१९२ जना मानिस राक्सिराङ गाउँपालिका (साविक सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस) मा रहेको किटानी थियो ।

अहिले सार्वजनिक जनसंख्या १० वर्षअघिको भन्दा ३२१ जना कम र गाउँपालिकाले २०७५ सालमा गरेको घरधुरी सर्वेक्षणभन्दा पनि ४९५९ जना थोरै देखिएपछि अनेक संशय र आशंका प्रकट भएका छन् । तर, तथ्य केलाउँदै जाने हो भने जनसंख्या घट्दो रहेको स्पष्ट बुझ्न सकिन्छ ।

छिमेकतिर लालपुर्जाको लोभ
केपी ओली नेतृत्वको सरकार हुँदा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएर मकवानपुरको हेटौँडा उपमहानगरपालिका, मनहरि र बागमती गाउँपालिकामा लालपुर्जाका लागि आवश्यक प्रक्रिया अघि बढेको थियो । सो क्रममा अधिकांश राक्सिराङ गाउँपालिकाका मानिस बसाइँ सराई प्रमाण पत्र लिएर मनहरि गाउँपालिका पुगे । किनकि राजमार्ग छेउ भूमिहीनको बस्ती मनहरि गाउँपालिकामा बाक्लो रहेकोमा अधिकांश राक्सिराङ र कैलाश गाउँपालिकाका मानिसले भोगचलन गर्दै आएको पाइन्छ । लालपुर्जाका लागि ८ हजार जनाले मनहरि गाउँपालिकामा निवेदन दिएका थिए । यद्यपि, नयाँ आयोग बनेसँगै उक्त प्रक्रियाले निरन्तरता पाउन भने सकेन ।

राक्सिराङ गाउँपालिका सामाजिक विकास शाखा सामाजिक विकास अधिकृत एवं राष्ट्रिय जनगणनाका फोकल पर्सन गोविन्द अधिकारीका अनुसार २०७७ साल वैशाखदेखि सोही वर्षको चैतसम्म मात्रै ४०५ परिवारले राक्सिराङ छाडेर अन्यत्र बसाइँ सरेको देखिन्छ । त्यसैगरी २०७८ सालको वैशाखदेखि पुससम्म पनि १२० परिवारले बसाइँ सरी अन्यत्र गएको रेकर्ड गाउँपालिकासँग छ । ‘यसरी बर्सेनि ठूलो परिमाणमा बसाइँ सराई गरेर जानेहरूका कारण गाउँपालिकामा जनसंख्या कम देखिएको छ’, अधिकारीले भने । बसाइँ सरेर मनहरि गएपछि उनीहरूले उपभोग गर्दै आइरहेका जग्गा आफ्ना नाउँमा आउँछ भन्ने आशमा त्यसो गरिएको हो । बसाइँ सरेर गइसकेपछि उनीहरूको जनगणना पनि मनहरितिरैबाट भएको अधिकृत अधिकारीको भनाइ छ ।

त्यसो त जनसंख्याको गणना जुन भूगोलमा ६ महिनाभन्दा बढी बसोबास हुन्छ त्यहीँबाट हुने गर्छ । अधिकारी भन्छन्, ‘जस्तोः धादिङ घर भएका मुख्यमन्त्रीको गणना हेटौँडाबाट भएको छ भने हाम्रै कतिपय जनप्रतिनिधिको गणना राक्सिराङबाट भएको छैन ।’ यी र यस्तै कारणले जनसंख्या घटेको देखिएको उनले बताए। गणकहरू सम्बन्धित घरमा नपुगेको, सही गणना नभएको भन्ने आरोपको उनले खण्डन गरे ।

खासगरी ०७५ सालमा निर्मित घरधुरी संर्वेक्षण र भिलेज प्रोफाइलबारे यतिखेर प्रश्न उठेको छ । कुनै कन्सल्टेन्सीमार्फत निर्माण गरिएको उक्त प्रोफाइल र अहिले सार्वजनिक सरकारी आँकडामा ठूलो अन्तर देखिएको छ ।

त्यसो त गत वर्ष अर्थात् २०७७ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको गरिब घर पहिचान सर्वेक्षणमा पनि राक्सिराङ गाउँपालिकाको जनसंख्या २४०२३ देखाइएको थियो । राष्ट्रिय जनगणनाको अंक र गरिब घर पहिचानका लागि भएको सर्वेक्षणको अंकमा १८०८ मात्रै फरक देखिन्छ । यद्यपि, यो अवधिमा बसाइँ सराईको अंक अधिक छ ।


प्रतिक्रिया दिनुहोस !