सेना, प्रहरीमा कति होलान् यस्ता शैतान

सेना, प्रहरीमा कति होलान् यस्ता शैतान

यहाँ आँखा खोले पनि, बन्द गरे पनि पीडा र व्यथा ह्वारह्वार्ती आइपुग्छन् र चिथोर्छन् आफ्नै छाती । यो विश्वासघाती दुनियाँमा कसको गर्नु र भर ! लाग्छ, यहाँ विश्वास गर्नलायक कोही छैनन् ।

पढ्दै गर्दाको अल्लारे उमेर । साथीसंगीबीच गर्व गर्थें, हुनेवाला श्रीमान् सरकारी जागिरे हो भन्दै । आफूलाई भाग्यमानी ठान्थें नेपाली सेनामा कार्यरत प्रेमी पाउँदा । एक प्रकारको आत्मगौरव भनौं वा घमण्डको अनुभूति थियो । सजाएका सपना सम्झेर खुशीले मन पुलकित हुन्थ्यो । मन नाच्थ्यो भित्र–भित्रै । लेखनाथ बाजेले उहिल्यै लेखेका रहेछन्, ‘मूर्खलाई अर्ति गालीतुल्य बिझाउँछ ।’ साथीसंगीले उतिबेलै भनेका थिए, ‘पत्रकार, आर्मी, पुलिस र ड्राइभर खलाँसीको भर नगर्नू । तर, माया र प्रेममा डुबेका मान्छेलाई यस्ता अर्ति र उपदेश गालीझैं बिझाउँदो रहेछ । उनीहरू भन्थे, आर्मी-पुलिस-ड्राइभर भनेका यस्ता हुन्, जहाँ गयो त्यहीँ श्रीमती बनाउँछन् । ७७ जिल्लामध्ये ७८ वटा श्रीमती बनाउनसक्ने जात हो, धेरै विश्वास नगर, धेरै नउम्ल प्रेममा, पोखिनुपर्ला फेरि । एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुनेबित्तिकै यिनीहरूले गर्लफ्रेण्ड फेर्छन् । यसो गर्नु उनीहरूका लागि लुगा फेरेजस्तै हो ।’ तर साथीहरूका यस्ता गम्भीर कुरालाई म बाल मतलब गर्दैनथें किनकि म उसको प्रेममा पागल थिएँ । आज एउटा साँघुरो कोठामा बसेर सम्झँदै छु साथीहरूका वचन । उनीहरूका अगाडि अब मैले कसरी देखाउनु यो चेहरा ? आफ्नो परिवारको बेखुशी र मेरो भविष्यप्रतिको छटपटी बढेको देख्दादेख्दै पनि अँगालेकै थिएँ उसलाई ।

तिनताक बुवा, आमा र साथीसंगीका कुरा सुनेको भए आज यो स्थिति आउने थिएन । एकान्त कोठामा बसेर मन एकतमासको बनाउँदै आँशु बगाउनुपर्ने थिएन । खुशीका पल्लाहरू समाउँदा समाउँदै अर्जुनबहादुर थापाको विश्वासमा जिन्दगीको लामो बाटो तय गरेको थिएँ । भन्छन् नि जब स्त्रीले प्रेम गर्छे, आँखा चिम्लेर गर्छे । हो, यसैगरी आँखा चिम्लेर विश्वास गरेको थिएँ उसलाई ।

रसुवा जिल्लाको आचार्य परिवारबाट उछिट्टिएर गोरखाका थापालाई आफ्नै ठानेर आइपुगेको थिएँ । घर फेरियो, थर फेरियो र फेरियो मेरो जीवनको नक्सा । कठै, कहाँ जान हिँडेकी कहाँ पुगेर ठोक्किएँ ? सम्झँदा कहाली लाग्छ । सम्झनाको तरेलीमा जति डुब्छु, भिज्छन् परेलीहरू ।

एउटा मध्यम परिवारको माया–ममतामा हुर्किएर उच्च शिक्षा लिइरहेकी केटी एउटा केटाको विश्वासमा सम्हाल्न पुगेको थिएँ पराइ घर । आमाबाबुको खुशीविना अर्थात् ‘लभ म्यारिज’ भएको थियो हाम्रो ७ वर्षअगाडि । लामो प्रेमलाई मैले एउटा गति दिएर र जीवन्त तुल्याएको थिएँ । जीवनमा सबैभन्दा ठूलो चिज पाएझैँ लाग्थ्यो उसलाई पाउनुमा । घर परिवार सबै तोडेर आउँदा पनि खुशीले आल्हादित थिएँ । मन फुरुंग थियो । जवानी सर्लक्कै पस्केकी थिएँ, एक अवला नारी बनेर ।

भन्छन् नि, जीवनमा खुशी दुई दिनको पाहुना मात्र हो । आखिरी क्षणसम्म बाँच्नुपर्ने र सहारा लिनुपर्ने त उही दुखैसँग रहेछ । जब रंग्याएँ सिउँदो उसको हातबाट खुशीको सीमा थिएन । श्रीमान्लाई पटक–पटक आग्रह गरेको थिएँ विवाह दर्ताका लागि । उनी जवाफ फर्काउँथे ‘तिमीलाई मेरो विश्वास छैन ?’

साधारण पोष्टमै भए पनि देशको एक उत्कृष्ट संस्थामा कार्यरत थिए श्रीमान् । जुन संस्थाको नाम लिँदा पनि आत्मगौरव हुन्थ्यो । संस्था ठूलो भएर मात्र नहुने रहेछ । गर्व गर्नलायक भएर मात्र नहुनेरहेछ त्यहाँ काम गर्नेहरूको आत्मामा परिवारप्रतिको दायित्वबोध नभएपछि । आफ्नो मात्र होइन, अरुको जीवनमा पनि खरानी सल्काउँदा रहेछन् केही मान्छे । म आफैंले रोजेको बाटो, आफैंले तय गरेको लामो दूरीको यात्रा बीच बाटोमै टुट्यो । अर्थात् उजाडियो खुशी, खरानी बन्यो घर ।

०७६ सालसम्म जीवनको रथ राम्रैसँग गुडिरहेको थियो । तर, विवाह गरेको ६ वर्ष नबित्दै भताभुंग भयो घरबार । कसैले खोसेर लियो मेरो खुशी अर्थात् भाग्य अरू कसैले ओगट्यो । जीवनमा एउटा केटीले जे नहोस् भनेर कामना गरेकी हुन्छे त्यही भयो ।

मान्छेहरू भन्छन् एउटा ढोका बन्द भयो भनेर कहिल्यै निराश नहनु अरु तीनवटा द्वार सदैव खुला छन् । खुला भएका द्वारतिर हेर । आशावादी बन । म कसरी आशावादी बनौं ? माइती जाऔं, जाने बाटो आफैंले बन्द गरिसकेँ । धोखेबाज श्रीमान्को मुख हेर्न मनै छैन । भर्खरै बच्चाको बाबु बनेका श्रीमान् अर्की च्यापेर हिँडेपछि म सन्तानको आमा बनेकोमा खुशी मानौं कि पीडा ? न लोग्ने, न घर, न थरको भएर बाँच्नुपर्ने स्थितिमा पुगें । अहिले निर्दयी शहरमा काला दिन कटाउँदै छु ।

जीवनका ती पल । न्याय बेच्ने व्यापारी । न्यायको खोजीमा कहाँ–कहाँ पुगिन ? कसको अगाडि निहुरिन ? लोग्नेले सपनामा झैं अर्की लिएर बसेपछि कति भोकै बसेँ, कति दिन रोएर बिते, काखमा छोरो समाएर । बहु विवाहको केसमा मुद्दा दायर गर्न खोजेँ । अचम्म लाग्छ नेपालको कानुन । सेनाको मुद्दा प्रहरीले लिन नहुने रे ? अनि सेनाको मुख्यालयमा हामीजस्ता भुइँ मान्छेलाई प्रवेश गर्न पनि दिइँदैन । त्यहाँ कसरी मुद्दा दर्ता गर्ने ? पीडा आफ्नै मनभरि गुम्स्याएर राख्नुपर्ने बाध्यता आइलाग्यो । थाहा छ, गल्ती गर्नेभन्दा सहने दोषी हो । सहेर, मिलेर बस्न सकिन्छ कि भनेर लचिलो बनेँ । मिल्ने प्रयास गरेँ । तर, प्रयास सबै खेर गयो । हरदिन तनाव मात्र मेरो भागमा पर्ने । हिंसा मात्र सहनुपर्ने । उनीहरूका लागि केवल काँडा भएँ ।

आज आफ्नै श्रम, पसिनाले हुर्काउँदै छु नाबालक सन्तान । छोरो काठमान्डौ शहरको एक बोर्डिङ स्कुलमा भर्खर १ क्लासमा उक्लिएको छ । उसको उज्यालो मुहार हेर्छु र पुलकित हुन्छु । जसको सपनाको घर बनाउन पनि यो म सडकमा पसिना बगाइरहेको छु । ठेलामा सामान बेच्छु, मकै पोल्छु । आजसम्म इमान बेचेको छैन । नेपाली सेनाकै सिपाहीबाट महिला हिंसा खप्न नसकी मैले बर्बादी भोगिरहेको त्यो काठमाडौँ शहरलाई के थाहा ? कर्तव्य पालना गराउनेहरूबाटै त्यसको खरिद बिक्री हुन्छ भने ।

जिन्दगी बिताउने आफ्नै लोग्ने नभएपछि, आफ्नैले हेपेपछि अरुले हेप्ने, चेप्ने नै भए । हिजो सरकारी जागिरे प्रेमी भनेर जिन्दगीमा खुशीले उम्लिएको थिएँ, त्यसरी नै अहिले सेलाएको छु । जति माया मोह र प्यार पाएको थिएँ त्यही हात र त्यही व्यक्तिबाट त्यसरी नै पीडा, घृणा र दुव्र्यवहार पाउनुपर्दाको सकस सायदै बयान गर्न सकिएला । केवल बाँच्न सकेको छु, बाँचेको छु छोराका लागि । मैले बाँचिदिनुपर्छ । मैले मर्न हँुदैन । हृदयभित्र पीर, व्यथा खपेर पनि हाँसिदिनुपर्छ । आखिर मैले यही दुव्र्यवहार, घृणा खप्न नसकी निस्कनुपर्यो त्यो घरबाट ।

जिन्दगीमा खाएका हण्डर, ठक्कर र चोटले एउटा गतिलो पाठ सिकाएको छ । आफू आत्मनिर्भर नभएपछि सबैले हेप्ने रहेछन् । आजको नारी हेपिनु-चेपिनु र पुरुषमा निर्भर भएर बस्नुपर्नाको कारण आफ्नो कमाइ नहुनु नै हो रहेछ । नारी आफैं आत्मनिर्भर हुन सके कसैको दासी भएर बाँच्नुपर्दैन । म यही काठमाडौंकै सडकमा संघर्ष गरिरहेछु बालक छोरोको भविष्य बनाउनका लागि ! तर, कहिलेकाहीँ नगर प्रहरी आउँछन् र हकार्छन् । मानौं , यो सडक पनि उनीहरूकै बाबुको बिर्ता हो । दैवले पनि छानी छानी कसैको भागमा यति धेरै चोट पीडा र व्यथा पारिदिँदो रहेछ ।

– अनामिका आचार्य

टिप्पणीहरू