अरुको चोरेर कहिलेसम्म आफू मोटाउने कमरेड ! « Jana Aastha News Online
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022

अरुको चोरेर कहिलेसम्म आफू मोटाउने कमरेड !

प्रकाशित मिति :  २३ माघ २०७८, आईतवार १९:००


नेपालीमा दुइटा उखान मननयोग्य छन्– एउटा, हातको माछो उम्काएर दुलोभित्र हात ! र अर्को, फिनी रोटी हराएको थाहा छैन, गहुँको गेडो गन्छु । कार्यकर्ताको तहबाट न नेकपामा विवाद उत्पन्न भएको हो न त एमाले विभाजित भएको हो । दुबै कुरा शीर्ष नेतृत्वको आपसी विवादले भएको हो र यो पद, जिम्मेवारी र मानसम्मान पाए नपाएको कारणले उत्पन्न भएको हो ।

जनता र कार्यकर्ताले कहिल्यै नसोचेको र नचाहेको विवादले जन्माएको परिणाम भोगिरहेका छन् । एमाले, माके र एस यी सबै दलका नेताहरूले जेसुकै फलाके पनि, दावाहरू गरे पनि कार्यकर्ता र समर्थक जनता कोही पनि खुशी छैनन्, सन्तुष्ट छैनन् र तिनका कुरा पत्याएका पनि छैनन् । किनभने यो विवादले निम्त्याएको दुष्परिणामले एकातर्फ जनताको निम्ति काम गर्ने अवसर र स्रोत–साधन दुबै गुमेको छ भने अर्कोतर्फ यसले सबैलाई, तलदेखि माथिसम्मै, अत्यन्तै कमजोर पनि बनाएको छ ।

एमाले, माके र एस एकैठाउँमा उभिँदा जुन शक्ति प्राप्त भएको थियो आज एक्लाएक्लै उभिँदा त्यो शक्ति हराएको छ । देश र जनताको हितमा काम गर्ने जुन असाधारण अवसर प्राप्त भएको थियो त्यो अहिले छैन । त्यस्तो अवसर फेरि प्राप्त गर्न धेरै दुःख गर्नुपर्नेछ । जनताले सुझबुझसाथ उपलब्ध गराएको, सजिलैसँग प्राप्त भएको ऐतिहासिक अवसरलाई कायम राख्न नसक्नु, टिकाइराख्न नसक्नु भनेको कमजोरी होइन, भयंकर ठूलो असफलता हो । यो यथार्थलाई आत्मसात् गरौं । रिसले आफू खा भनेको यही हो ।

राष्ट्रियसभा चुनावको नतिजा आफ्नो कमीकमजोरी थाहा पाउने र त्यसलाई सुधार्ने राम्रो रेफरेन्स प्वाइन्ट हुन सक्छ यदि गम्भीर हुने हो भने । यहाँ भन्नैपर्ने कुरा के छ भने न त माधव कमरेड, न प्रचण्ड कमरेड, कोही पनि अब हुने चुनावमा उठेर पराजित हुने अथवा समानुपातिकमा बसेर प्रधानमन्त्री बन्न पाइने सम्भावना र अवसर गुमाउन चाहन्नन्।

ओली कमरेडलाई पनि कांग्रेसको प्रतिपक्ष भएर बालकोट र बानेश्वर गर्ने चाहना छैन । कसैले पनि भित्री मनले नचाहेको यस्तो अवस्थालाई समाप्त गर्ने एक मात्र र अचुक उपाय भनेको फेरि पनि मेलमिलाप नै हो । तर, यो मेलमिलाप गराइदिने कसले रु परिस्थितिको गाम्भीर्यताको आकलन गर्न सक्ने कुनै नेता नभएकाले अब आफँैले पहलकदमी लिएर ल हामीले मिल्ने निर्णय गर्यौ भनी अघि आउँदा हुन्छ । यस्तो भन्न कुनै प्रकारको दकस मान्नु पर्दैन । जनताले केही भनेकै छैनन्, ढुक्क भए हुन्छ ।

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुन्न भन्ने कुरा त राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेले गत चुनावमा झापाबाटै सहयोग गरेकोबाट थाहा हुन्छ । अथवा टाउकाको मूल्य तोक्ने कांग्रेससँग माकेको कोलिसन बनेको वा बनिरहेको कुराले पनि यसलाई पुष्टि गर्छ । एमाले, माके र एसको बीचमा कटुता रहेकोमा दुईमत छैन । तर, यस्ता कटुतालाई राजनीतिक उद्देश्य प्राप्त गर्न मेटाउनुपर्छ । उद्देश्य साम्यवादको राख्ने तर आलोचना हुँदा बुर्जुवासित लहसिने कुरा ठीक होइन ।

गाउँघरतिर नातागोता वा छरछिमेकमा झगडा पर्यो र मुख बाराबार भयो भने त्यो साधारणतया कि त सत्यनारायणको पूजामा निम्तो दिँदा अथवा दशैंमा टीका लगाउन गएपछि सकिन्छ र बोली फुक्छ । चुनाव जेठमा हुने भएको छ । यो बीचमा चैते दशैं पर्छ र नयाँ वर्ष पनि । यो चैते दशैं एमालेकोमा मनाउँदै, नयाँ वर्षमा माके र एसको पहलमा शुभकामना आदानप्रदान गरेर मुख खोले के होला ?

एमाले, माके र एस मिलेर बनेको नेकपा भनेको हातको माछो थियोे भने महन्थ ठाकुर, लिङ्देन वा सिके राउतसँग हात मिलाउने भनेको दुलोमा हात हो । अब हातको माछो उम्काएर दुुलोमा हात हाल्दा सर्प पनि पर्न सक्छ । यो कुरो माके र एसको हकमा पनि उत्तिकै लागू हुन्छ । छँदाखाँदाको यत्रो ठूलो दल टुक्रिएर यो हालत हुन पुगेको छ ।

अब माकेका, कांग्रेसका र एसतिरका मान्छेको शिला खोजेर एमालेले कहिले ठूलो हुने र दुई तिहाइ ल्याउने रु अथवा माके र एस कहिले ठूलो हुने र चुनावमा कांग्रेसलाई एक्लै टक्कर दिन सक्ने बन्ने रु यस्तो शिला खोज्ने अर्थात् गहुँको गेडो गन्नेतिर होइन कि फिनी रोटी नै बनाउने र जोगाउनेतिर लाग्नु बुद्धिमानी ठहरिनेछ । जुँगाको लडाइँ लडेर जनताको भविष्यमाथि खेलवाड गर्ने अधिकार नेतृत्वलाई छैन र दिनु पनि हुन्न ।


प्रतिक्रिया दिनुहोस !