समाजवादीका मन्त्रालयमा समस्यै समस्या

समाजवादीका मन्त्रालयमा समस्यै समस्या

मन्त्री माधव नेपालका, मान्छेजति केपी ओलीका ! अनि, भाषणमै मन्त्रीले भन्छन्, ‘मलाई मेरै सचिवालयले सहयोग गरेन !’ हिजोआज पर्यटन मन्त्री प्रेम आलेको क्वार्टरदेखि मन्त्रालयसम्म एकजना ओलीपक्षीय पर्यटन व्यवसायीको चर्को घेराबन्दी छ । ती हुन्, ‘सूर्य थापाको ड्राइभर’ भनेर चिनिने अनिल लामा ।

उनलाई वायुसेवा निगमको सञ्चालक नियुक्ति गर्ने तयारीमा मन्त्री आले छन् । उनी साना ट्राभल एजेन्सीहरुको संगठन सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) का पूर्वअध्यक्ष हुन् । वायुसेवा निगमका बोर्ड सदस्य फुरग्याल्जेन शेर्पा र ईश्वरी पौडेललाई हटाएर अनिललाई लैजाने तयारी भएको बताइन्छ । भनिन्छ, लुम्बिनीमा सुरज वैद्यलाई रिसोर्ट बनाउन दिने सेटिङ पनि उनैले मिलाएका हुन् ।

अनिलको मात्रै हैन, यस्ता अनेकौँ बदमासीका खबर पार्टी अध्यक्ष माधवकुमार नेपालकहाँ पुगेपछि आलेले धेरैपटक खप्की खाइसकेका छन् । ओली सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले नारायणहिटी दरबारदेखि पशुपति धर्मशालासम्म व्यापारिक कम्पनी बतास समूहलाई दिएको भन्दै आक्रामक रुपमा प्रस्तुत भएर वाहवाही कमाएका उनले बाँकी काममा भने मनोमानी गरेको आरोप नेताहरुले लगाएका छन् ।

अचम्म त के भने योगेशका हरेक निर्णय उल्ट्याउँदै आएका आलेले उनैका पिए दिपक थापालाई होटल तथा पर्यटनसम्बन्धी तालिम केन्द्र नाथामको कार्यकारी निर्देशकमा निरन्तरता दिएर त्यहाँको अनियमितताप्रति आँखा चिम्लिएका छन् । उनले हालै पशुपतिक्षेत्र विकास कोषको सदस्यमा पूर्ण फडेरालाई नियुक्त गरेका छन् । जबकि, नेकपा (एकीकृत समाजवादी) को राज्य व्यवस्था विभागले उक्त पदमा सिफारिस भएका विभिन्न नाममध्येबाट नियुक्त गर्न निर्देशन दिएको थियो ।

आपराधिक पृष्ठभूमिका व्यापारी बलराम सापकोटा (बले) को मेची क्राउन होटल, बिर्तामोडलाई मिल्दै नमिल्ने डिलक्स फाइभ स्टार होटलको मान्यता दिएदेखि नै अध्यक्ष नेपाल रुष्ट हुनुहुन्छ । उक्त होटललाई मान्यता दिनेक्रममा करोडभन्दा बढी लेनदेन भएको उजुर पार्टीमा पेश भएको छ । यस्तै, मेची क्राउनसहित पाँच होटलमा क्यासिनो सञ्चालन अनुमति दिने आलेले क्यासिनोको अर्बौं रोयल्टी उठाउन भने पहल नगरेको गुनासो छ । बरु नेवानिका जहाजहरुको इञ्जिन मर्मतको ७० करोडको ठेक्कामा चासो देखाए भनिँदै छ ।

डेढ वर्षअघि मदन खरेल कार्यकारी अध्यक्ष हुँदा आले संसदको सार्वजनिक लेखा समितिका सदस्य थिए । समिति सभापति भरत शाहसहित सदस्यमा अहिलेका स्वास्थ्यमन्त्री विरोध खतिवडा र प्रेम आले पनि थिए । उनीहरु मिलेर शेरबहादुर देउवाका सालो प्रदीपविक्रम राणा एजेण्ट रहेको लुफ्थान्सालाई टेण्डर दिन लिखित निर्देशन दिए । यो क्षेत्राधिकार बाहिरको काम थियो । अहिले पनि इञ्जिन मर्मतको ठेक्का प्रदीपविक्रमकै सेटिङमा दिन युवराज अधिकारीलाई दबाब दिइएको आरोप छ । मन्त्रालयमा पार्टीसम्बद्ध व्यक्तिभन्दा बढी ओलीपक्षीय व्यक्तिको चलखेल हुने गरेको छ ।

उता, भद्रगोल छ, रामकुमारी झाँक्रीले सम्हालेको शहरी विकास मन्त्रालयमा । सहयोगीका रुपमा नियुक्त व्यक्तिहरु बेकामे भएका छन्, नासु युवराज गिरीले सबैलाई घुमाइरहेका छन् । धुलिखेलको एउटा कार्यक्रममा पुगेर झाँक्रीले आफूलाई सचिवालयका साथीहरुले सहयोग नगरेको भनी भाषण नै गरिन् ।

यसपछि नेताहरुले के गरेको भनी सोधखोज गर्दा उनका केही सहयोगीले पीडा पोखे, मन्त्रीका कारण नभएर युवराजका कारण प्रताडित हुनुपरेको हो । युवराज झाँक्रीका पति पशुपतितिरका नातेदार हुन् । कहिलेकाँही मन्त्रीको गाडी चढेर कार्यक्रममा जान चाहने सचिवालयका सदस्यहरुलाई गाडीमा चढ्न नदिनु भनी युवराजले नै सुरक्षाकर्मीलाई अह्राएको दुखेसो झाँक्रीको सचिवालयका सदस्यहरुले पार्टी नेताहरुलाई पोखेका छन् ।

यस्तै भद्रगोल छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा । मन्त्री विरोध खतिवडा प्राविधिक विषयमा जानकार नहुँदा सचिव डा.रोशन पोखरेलले ल्याएजतिका फाइलहरु सरासर सदर गरिदिन्छन् । पार्टीनिकटका स्वास्थ्यकर्मी र कर्मचारीले भनेपछि ‘लु, गल्ती भएछ’ भन्छन्, फेरि अर्कोदिन त्यस्तै काम गरिदिन्छन् ।

जस्तो कि, ग्लोबल फण्डका नाममा ३० हजार डलर खर्च गरेर राखिएका कर्मचारी हटाउने पार्टीकै निर्देशन पनि उनले मानेका छैनन् । कांग्रेस महामन्त्री गगन थापापत्नी डा.अञ्जना केसी पनि विदेशी तलब खाएर त्यहाँ काम गर्छिन् । सेभ द चिल्ड्रेनका तर्फबाट जागिर खान आएका भारतीय नागरिक कुनाल किशोरले एक वर्षसम्म श्रम स्वीकृति नलिई काम गरिरहेका छन् । श्रम ऐन २०७४ अनुसार यो अवैध काम हो । तर, मन्त्रीले रोक्न सकेका छैनन् ।

टिप्पणीहरू