वैदेशिक रोजगारीबाट फर्केकालाई पुरस्कृत गरिने

वैदेशिक रोजगारीबाट फर्केकालाई पुरस्कृत गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्नेहरुलाई सम्मान गर्ने भएको छ । मन्त्रालयले विदेशबाट फर्किएर नेपालमै स्वरोजगार बन्नेलाई पुरस्कारसहित सम्मान गर्ने जानकारी दिएको हो ।

पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिलाई आवेदन दिन मन्त्रालयले आह्वान गरेको छ । आवेदन फाराम भर्नको लागि कामदार भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका हुनुपर्ने शर्त तोकिएको छ ।

आवेदन दिने फाराम श्रम मन्त्रालयको वेबसाइटमा राखिएको छ । आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वःघोषणा पेस गर्नुपर्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ ।

प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । केही कुरा स्पष्ट नभएमा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ ।

टिप्पणीहरू