श्रीमान साथी छाडेर गाडीमा सुटुक्क

श्रीमान साथी छाडेर गाडीमा सुटुक्क

यसै त अदालतले न्याय सम्पादनमा ढिलाई गरेर सोझा र गरिबलाई वर्षौंवर्ष दुःख दिन्छ भन्ने मान्यता स्थापित छ । त्यसमाथि जिल्ला तहका अदालत पनि गोलाप्रथामा जाने भएपछि संवेदनशील मुद्दाहरु फैसला हुनै नसक्ने अवस्थामा पुग्ने भएका छन् ।

केही वर्षअघि हाल पाटन उच्च अदालतमा न्यायाधीश रहेका लोहितचन्द्र साह सर्वोच्चको रजिष्ट्रार हुँदा पाँच वटा जिल्लामा गोलाप्रथा लागु गराएपछि मुद्दाहरु फैसला हुनै नसक्ने स्थितिमा पुगेका थिए ।

अहिले चाहिँ देशभरका अदालत यस्तो विसंगतिमा फस्दै छन् । किनभने, प्रत्येक मुद्दाको शुरु अदालत जिल्लालाई मानिन्छ । एउटा मुद्दाको पूर्ण अध्ययन र त्यसका चौतर्फी वस्तुस्थितिको अध्ययन गर्ने काम पनि जिल्ला न्यायाधीशकै हुन्छ ।

तर, पेसीपिच्छे न्यायाधीश फेरिने भएपछि मुद्दाहरु अलपत्र हुने क्रम बढ्छ । किनभने, न्यायाधीशले मुद्दा सुनुवाई हुनुअघि त्यसको सांगोपांगो अध्ययन गरेको हुनुपर्छ । एउटा मुद्दा अध्ययन गर्नै दिनभरिदेखि हप्तौँ लाग्ने हुनसक्छ । अनि, एउटा न्यायाधीशले मुद्दा बुझिसक्दा अर्को पेसी तोकिन्छ ।

त्यसबेला फेरि त्यो मुद्दा गोलाप्रथाका कारण अर्को न्यायाधीशकहाँ जाने भयो । एउटा मुद्दा ढिलोमा दुई वर्षभित्र छिन्नुपर्ने कारण जिल्ला न्यायाधीशहरुको सरुवा दुई–दुई वर्षमा हुने गरेको हो । तर, यो क्रममै एउटा मुद्दाले वर्षौंसम्म पनि छिनिने पालो नपाउने अवस्था सिर्जना भएको एक न्यायाधीश बताउँछन् । त्यसमाथि अहिले सर्वोच्च अदालतमा आंशिक हड्ताल छ ।

देशभरका अदालतहरुको प्रशासनिक काम ठप्प छन् । कतिपय जिल्लामा न्यायाधीश पुगेको तीन, साढे तीन वर्ष भइसक्यो । सरुवाको चालचुल छैन । भनिन्छ, हड्ताल गर्ने न्यायाधीशले दुर्गमका न्यायाधीशको मर्का बुझेनन् । त्यसमाथि अहिले विभिन्न उच्च अदालतमा २५ न्यायाधीश खाली छन् । त्यहाँ पदपूर्ति गर्ने कुरा पनि हड्तालकै कारण प्रभावित भएको छ ।

उता, कपिलवस्तुमा आठ व्यक्तिका हत्या आरोपी नसिम खान (बादशाह) लाई सफाई दिने जिल्ला न्यायाधीश जवाहर सिंह ५० लाखको झमेलामा परेका छन् ।

उनले बादशाहसहित उक्त मुद्दाका सबै प्रतिवादीलाई पुस २६ गते सोमबार राति ९ बजे सफाइ दिएको पर्सिपल्ट बिहीबार स्थलमार्गबाट जिल्ला छाडेका थिए । कपिलवस्तु मायादेवी गाउँपालिका–४ का बासिन्दा खानमाथि आठ जनाको हत्या, एउटा ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलेको थियो । महोत्तरी निवासी न्यायाधीश जवाहर सिंहले काठमाडौंको गोठाटारमा पहिल्यै घर बनाएका छन् । केही महिनामात्रै जागिर बाँकी उनी बहिदारबाट न्यायसेवामा प्रवेश गरेका हुन् ।

अघिपछि जहाजमा आवतजावत हुने उनले सो फैसलाको २ दिनपछि स्थलमार्गबाट काठमाडौंको यात्रा गर्नुले पनि ५० लाखको झोला सरकारी गाडीमा ओसारेको शंकालाई बलियो बनाएको हो । जहाजमा नोटको गड्डी बोक्न नमिलेपछि ४ नम्बरका अर्का न्यायाधीश बसन्तजंग थापासँगै गाडीमा उनलाई बाबुको श्राद्धका निम्ति गोर्खा छाडेर काठमाडौं जाने सल्लाह गरेका उनले पछि वसन्तलाई पनि धोका दिएर एक्लै बाटो लागेका थिए ।

बारको सरगर्मी

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई पदच्युत गर्ने उद्देश्यका साथ नेपाल बार एसोसिएसन आन्दोलनमा छ । तर, अब यो आन्दोलन लामो समय जान नसक्ने स्थितिमा पुगेको छ । कारण हो, उसको आसन्न निर्वाचन ।

यसचोटि बार नेतृत्वका लागि सत्तारुढ पाँचदलीय गठबन्धन मिलेर जाने सम्भावना बढेको छ । त्यसो भयो भने कांग्रेससम्बद्ध वकिलहरुको संगठन डिएलएबाट अध्यक्षको उम्मेदवार हुने र वामपन्थीहरुले उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा भागबण्डा गर्ने स्थिति हुन्छ ।

त्यस्तो गठबन्धन बनेको अवस्थामा अहिले प्रधानन्यायाधीशको राजीनामा मागेर खरोसँग सडकमा ओर्लिएको समूहबाट अध्यक्षका एकजना उम्मेदवार खडा हुँदैछन् । अदालती आन्दोलनमा एमाले त्यसै पनि देखिएको छैन ।

टिप्पणीहरू