महोत्तरीका विद्यार्थीलाई मोडर्नाको खोप

महोत्तरीका विद्यार्थीलाई मोडर्नाको खोप

महोत्तरीका विद्यार्थीलाई लक्षित गरी आउँदो सोमबारदेखि कोरोनाविरुद्ध मोडर्ना खोप लगाइने भएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आइसके पनि तयारी पूरा नभएका कारण सोमबारदेखि खोप लगाइने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

माघ २४ देखि २८ गतेसम्म जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, मट्टीहानी, बल्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ । बर्दिवास, भंगाहा, गौशाला, सम्सी, रामगोपालपुर, औरही र सोनामामा फागुन २ देखि ६ गतेसम्म लगाइने छ ।

संघीय सरकारले भने देशभरका विद्यार्थीलाई खोप लगाउन माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको थियो । यसैगरी विदेश जानेलाई स्वास्थ्य कार्यालय महोत्तरीले जोन्सन खोप दिने निर्णय गरेको छ ।

पासपोर्टका आधारमा जिल्लाका सबै पालिकाका १८ वर्षभन्दा माथिकालाई जोन्सनको खोप दिने निर्णय गरेको हो । जिल्लाका सबै पालिकामा फागुन १० देखि १४ गतेसम्म खोप लगाउने निर्णय गरिएको पनि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

टिप्पणीहरू