बर्मामा निभेको नेपाली बत्ती

बर्मामा निभेको नेपाली बत्ती

सेनाभित्र गर्वलाग्दो इतिहास बनाएका गोर्खाहरू (नेपालीभाषी) म्यान्मारमै आधा शताब्दी बिताइसक्दा पनि पूर्ण नागरिकको सेवा–सुविधाबाट वञ्चित छन्। अघिल्लो प्रजातान्त्रिक सरकार र वर्तमान ‘सैन्य–जुन्ता’ले उनीहरूको योगदान बिर्सेको बर्मेली–नेपाली बताउँछन्।

म्यान्मारमा अनुमानित तीन लाख नेपालीभाषीको बसोबास छ । यीमध्ये अधिकांशका आफन्त उन्नाइसौं शताब्दीमा यहाँका विभिन्न भेगमा बसाइँ सरेका थिए । ब्रिटिश शासनकालमा दोस्रो विश्वयुद्धको दौरान गोर्खा ब्रिगेडले पटकपटक बहादुरी प्रदर्शन गर्दा दर्जनौं पदक जितेको इतिहास जीवितै छ ।

गोर्खा जवानहरूले सन् १९४८ मा ब्रिटिशबाट स्वतन्त्रता प्राप्त गर्न बर्मी स्वतन्त्रता सेनानीसँग साझेदारको रूपमा लडे । म्यान्मारको स्वतन्त्रताको शुरुदेखि नै कार्यान्वयनमा रहेको सन् १९४७ को संविधानमा नेपालीभाषीलाई बर्मी नागरिकको रूपमा पूर्ण अधिकार दिइएको थियो । तर, सैन्य तानाशाही सत्तामा आएपछि आधिकारिक जातीय समूहको रूपमा वर्गीकृत गरिएन । लगतै, उनीहरूले प्रतिबन्धहरूको सामना गरे ।

म्यान्मार सैन्य शासकका कारण भेदभावको जरा निकै गहिरो भएको गोर्खाली नेता बताउँछन् ।

नेपालीभाषीहरू काचिन, छिन, शान, रंगुन र माण्डले डिभिजनसहित बर्माभर छरिएर बस्छन् । अधिकांशले हिन्दू वा बौद्ध धर्म मान्छन् ।

‘हामी नेपालमा जन्मेका होइनौँ । नेपाली भाषा अलिअलि जान्छौँ । सरकारले भाषाको मान्यता दिएको छैन । हाम्रो मनमा नेपालीपन भए पनि म्यान्मामा जन्मेका हौँ,’ कचिन प्रान्तका एक ३३ वर्षीय युवक भन्छन्, ‘हामी नेपाली होइनौँ । तर पुर्खा पक्कै पनि नेपाली हुन् ।’

‘कु’ विरोधी आन्दोलनको अग्रपंक्तिमा वीर गोर्खाली अर्थात् नेपालीभाषीहरू पनि दिनरात नभनी युद्ध–मैदानमै खटिएका छन् । प्रदर्शनकै क्रममा दर्जनौँ नेपालीले ज्यान गुमाइसके ।

एकातिर कोरोना आतंक छ । अर्कोतर्फ सैन्य कू–को बर्बरता । म्यान्मारका लागि यी दुबै कुरा थेगिसक्नु छैन । यससँगै बर्माको अँध्यारै–अँध्यारो दौड कायमै छ ।

विद्यार्थीको चर्को आन्दोलनले स्थापित गरेकी नेत्री हुन्– आङ सान सुकी । आफ्ना बुबाले देखेको सपना पूरा गर्ने वाचा गर्दै ज्यानै जोखिममा राखेर प्रदर्शनमा उत्रिइन् । सुकीसँगै नाचगान लिएर गाउँ–गाउँ पुगी नेपालीको मन जित्दै, आन्दोलनमा सहभागी बनाउँदै हिँड्ने गोर्खा नेता हुन्– रक्की थापा । उनी आज यो संसारमा छैनन् ।

सैन्य शासकको त्रासले लामो ऊर्जाशील जीवन नेपालमा बिताएका उनी यसै वर्ष बिते । एक समय यस्तोसम्म थियो– चुनाव प्रसारको भाषण सुनेर सुकी आफैँ थापालाई भेट्न रंगुनसम्मै पुगेकी थिइन्।

सुकी–थापा भेटपछि चुनावमा नेपालीभाषीलाई भोट माग्ने जिम्मा उनै रक्की थापाले पाएका थिए । सन् १९९० मा नेत्री सुकीलाई गृहबन्दीमा राखियो । बेलायतको सुन्दर परिवार त्यागिन् तर म्यान्मार त्यागिनन् । उनी आज पनि सैन्य नजरबन्दमै छिन् ।
– सुधा अत्री, म्यान्मार

टिप्पणीहरू