नशाले कहाँदेखि कहाँ पु¥यायो

  • अजय गोर्खाली

माल पाएर चाल नपाउँदा पछुताउनुसिवाय केही बाँकी नरहने रहेछ जीवनमा । बाल्यकालमा त प्रेमसाथी पाएकै थिएँ तर त्यो प्रेमलाई पवित्र राख्न नसकेकैले होला आज एक्लै तड्पिनुपरेको छ । सायद त्यो बेला जथाभावी गर्दै नहिँडेको भए आज ईश्वरले यस्तो सजायँ दिँदैनथे कि ! तर त्यो बेला राम्रो सोच्नै सकिएन । सानैदेखि नशामा लागियो, चुरोट–सुर्ती, जाँडरक्सी, गाँजाभाङ, चरेसट्याप केही छाडिएन । 

गर्लफ्रेण्डलाई धेरैपटक रुवाएँ– कहिले नशा खाएर, कहिले अरूसित लागेर । हामीबीच जातीयताको पर्खाल हुँदाहुँदै उसले मसित प्रेम गरेकी थिई । भलै बिहे अरूसितै गरी तर निकै चाहन्थी मलाई । त्यो बेला झ्यालबाट देखिएको चन्द्रमालाई साक्षी राख्दै उसले अर्काे जुनीमा म तेरै हुन्छु भनेकी छ । हेरौं, अर्काे जुनी मिल्छ कि मिल्दैन !

तर, आज यो मुख कुहिएजस्तै भएको छ । बुबाले नशा छुटाउन सुधार केन्द्रमा कोच्दा केमिकलवाला गोल्डेन सुर्ती खान दिएका थिए, एकपटक त्यो सुर्ती राखेपछि अहिलेसम्म मुखको माथिपट्टि गिजा सुन्निएको छ र बेलाबेलामा पीपजस्तो निस्कने गर्छ । त्यसपछि पनि सुधार केन्द्रमै बस्दा हो, एकाबिहानै किचन हेल्परमा पठाएर त्यस्तै सुर्ती खान दिइएको थियो, एकपटक त्यो सुर्ती हालेपछि दाँतबाट गिजा उप्किएजस्तो भएर रगत आउने भएको छ । त्यस ठाउँ वरपर अहिलेसम्म रगत आइरहन्छ, गिजा डिस्कलर भएको छ । काठमाडौंको टोखास्थित नवउपकार नेपाल सुधार केन्द्रमा बस्दाको कुरा हो यो । त्यहाँ सुर्तीमा केही मिसाएर खान दिइएको जस्तो लाग्छ ।

नत्र भने चुनावाला सुर्ती खाने म कहिलेकाहीँ साथीहरूसँग मागेर केमिकलवाला सुर्ती खाँदा त्यस्तरी मुख बिग्रेको थिएन । दुईपटक सुधार केन्द्रमा बस्दा मात्र एक–एकपटक त्यो सुर्ती खाँदा मुखको यस्तो हालत भयो । क्यान्सर भयो कि भन्ने डरले जँचाउन गएको छैन । सुधार केन्द्रमा राति इन्भेन्ट्री लेख्दा आफूलाई जबरजस्ती समातेर लगिएको झोंकमा सुधार केन्द्रविरुद्ध घुमाएर लेखेको थिएँ । त्यो कपी हरेक दिन उनीहरूलाई बुझाउनु पथ्र्योे । म पत्रकार भन्ने कुरा सुधार केन्द्रका मान्छेलाई थाहा पनि थियो । त्यसैले सुर्तीमा केही मिसाएर दिए कि भन्ने आशंका हो । एकदिन मलाई नराम्रोसँग ५÷७ महिना लगातार करङ दुख्ने गरी बेस्सरी कुटिएको पनि थियो, अझै दुखिरहन्छ ।

पछिल्लोपटक अरू नशा छोडेको मलाई गाँजा छुटाउन भनेर आमा–बाले चितवन मोडेल हस्पिटल पु¥याए । २५ दिनसम्म औषधि ख्वाउँदै थुनेर छोडिदिए । दुई–दुई पटक सुधार केन्द्रमा ६÷६ महिना बसेर आई फेरि गाँजा खाएको मान्छेले त्यहाँबाट गएपछि पनि गाँजा खान्छ भन्ने हेक्का अस्पतालका डाक्टर, कर्मचारीलाई भएकै हुनुपर्छ । पहिले दिनको ५÷७ चिलिमसम्म गाँजा खाने म त्यस अस्पतालबाट घरमा आएर चुरोटमा एकसर्काे मात्रै गाँजा खाँदा छटपटी हुने, मन आत्तिने भएर अन्ततः डिप्रेसनको शिकार भएको छु । अस्पतालमा बिगार्ने हिसाबले नै दबाइ ख्वाइएको हुनसक्ने आशंका छ । किनकि म त्यहाँ बस्दा एकजना दुश्मन आएका थिए ।

अलिअलि समाचार लेख्ने एकजनालाई हाम्रो पत्रिकामा नराखौं, प्रेस पास नदिऊँ भन्थें म बुबासित । यस विषयमा चर्काचर्की नै हुन्थ्यो । मैले त्यसो भन्ने बेलामा हाम्रो अफिसमा एकजना बूढा पत्रकार आएर सुनेका हुन्थे । तिनको विरुद्ध पहिले हाम्रै लोकल पत्रिकामा पनि समाचार लेखिएको थियो । पछि उनलाई समेत जोडेर उनको छोरा (पत्रकारका नेता) को विरुद्ध लेखें । तिनै छोराचाहिँ हो म चितवन मोडेल हस्पिटलमा बस्दा देखिन आएका (हालै केही दिनअघि पत्रकार महासंघमा मलाई देख्दा उनी मज्जाले हाँसेका थिए) । 

चितवन मोडेल हस्पिटलबाट आएर डिप्रेसनमा परेपछि फेरि त्यही मानिसको सल्लाहमा मलाई विनाऔषधि उपचार हुन्छ भन्दै भरतपुर, बागीश्वरीको योग तथा प्राकृतिक चिकित्सालयमा पु¥याइयो । त्यहाँका डाक्टर पनि ती मानिसको साथी । त्यहाँ शिविर चलेका बेला जापानिजले बेडमा सुताएर पछाडि फकाई ढाडको कुमनेर र खुट्टामा अकुपङ्चर गरेका थिए । पछाडि ढाडमा दाहिने हातको हड्डी तथा नशा जोडिएको कुमनेरको भागमा आगोले नै पोलेर अकुपङ्चर (सुई रोप्नु) गरिएको थियो । त्यसपछि मेरो समाचार लेख्ने दाहिने हातको कुम, जोर्नीहरू र पुरै पाता नै एकदम दुख्ने भएको छ । हात यताउति लैजाँदा बेस्सरी दुख्छ । दुखाइ कम गर्ने पेनकिलर खाँदै बसिरहेको छु । पछि फेरि म डिप्रेसनको बिरामीलाई उक्त प्राकृतिक चिकित्सालयका डाक्टरले बेडमा सुत्नुस् भनेर खुट्टा म¥याकमुरुक पारे । त्यसपछि खुट्टा तुर्लुङ्ग झुण्ड्याएर बेडमा बस्न लगाए । अनि दुवै खुट्टाको घुँडामा रबर बेरिएको फलामले दुई–दुईपटक हिर्काए । फेरि आँखा चिम्म गर्न लगाएर त्यही चीजले दुवै घुँडाको जोर्नीमा उसैगरी हिर्काए । त्यसपछि घुँडा पनि दुख्ने भएको छ । डाक्टर भन्छन्, ‘त्यो हिर्काएको केही पनि होइन, टिकटिक हानेको मात्र हो, दुखाइ त तपाईंको मानसिक दुखाइ हो ।’ उक्त चिकित्सालयमै फेरि एकदिन देब्रे हातको नाडीमा ग्यासको चुल्हो बाल्ने लाइटर जस्तो मेसिनले ५/७ पटक करेन्ट लगाइदिए डाक्टरले । त्यो करेन्ट लगाउने यन्त्र चल्छ कि चल्दैन भनेर ट्राइ गरेको रे ! त्यहाँ डिप्रेसनको निःशुल्क उपचार गरिदिन्छौं भनेका थिए तर डर लागेर थप उपचार गर्न चाहिनँ । अहिले डिप्रेसनमै छु, साइकियाट्रिकको एलोपेथिक दबाइ खाइरहेको छु । 

जे हुनु भइसक्यो अब मैले जति कराए पनि, यसरी लेखेर दुनियाँलाई सुनाए पनि निको हुने त होइन । यो हातको दुःखाइ जिन्दगीभर सञ्चो हुँदैन कि भन्ने पीर छ । डिप्रेसनको दबाइ जिन्दगीभर खानुपर्ने पनि हुनसक्छ । यसरी शारीरिक र मानसिक रूपमा अशक्त भएको छु । बारम्बार मर्नमात्रै मन लागिरहन्छ । सायद मर्ने कुनै सजिलो उपाय हुन्थ्यो भने यतिबेलासम्म म मरेको महिनौं भइसक्ने थियो, जबदेखि चितवन मोडल हस्पिटलमा थुनिएर आएँ, त्यसपछि जीवनदेखि हारेको छु । अब बिहे पनि गर्न सक्दिनँ । म मनोरोगीलाई कसले प्रेम गरोस् ? राम्रोसँग काम गर्न सकिरहेको छुइनँ । बिहे गरेर कसरी पाल्ने ? पछाडि पुठ्ठामा फिस्टुला जस्तो सानो पिड्को आएको पनि वर्षाैं भयो । निचोर्दा रगत र पानी जस्तो आउँथ्यो, डाक्टरलाई देखाएपछि त्यो आउन रोकिएको छ । तर झन् बढेको महसुस हुँदै छ । यसको चाहिँ अप्रेसन गर्ने तरखरमा छु । 

सानोमा आफैं बिग्रेर हिँडें । पछि उपचारको नाममा अरूले जानीजानी बिगारेका भएपनि, नभएपनि यस्तै भोग्नुरहेछ आफ्नो भाग्यमा । फेरि पहिले आफैं बिग्रेको मान्छेलाई पछि अरूले बिगारेको कहाँ देखिन्छ र ? सायद हिजो नशामा नलागेको भए आज यस्तो दुर्हालत हुने थिएन जीवनमा । केही वर्षअघि एउटा बिहे गरेको थिएँ । सायद भाग्यले अबका दिनमा सबै रोग सञ्चो भयो र कुनै प्रेमिका फेरि ईश्वरले थमाइदिए भने ऊबाहेक अरूसति कुनै साइनो गाँस्दिनँ भन्ने अठोट लिएको छु ।

 

टिप्पणीहरू