​किन बनाएको गोप्य महिला समूह ?

अमेरिकी नागरिक मिसेल अलेक्जेंद्रा वेल्सविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । बिजनेस भिसामा बसेकी मिसेलले आफू नेतृत्वको संस्थाबाट अवैधानिक तवरले रकम उठाएको आरोप लागेको हो ।

उनको नेतृत्वमा पोखरा न्युरोडमा लर्निङ हाउस प्राइभेट लिमिटेड सञ्चालित छ । मिसेलले ‘खाता लाइफ’ नामक वेबसाइटमार्फत समाजसेवाको नाममा ७ लाख अमेरिकी डलर (८ करोड नेपाली) उठाइसकेको उनकै व्यक्तिगत वेबसाइटमा उल्लेख छ ।

मिसेलले २ वर्षयता दर्जन बढी कार्यक्रमसमेत आयोजना गरिसकेकी छन् । उनले आयोजना गर्ने कार्यक्रम अधिकांश महिला लक्ष्यित छन् । लेडिज पुल पार्टी, हाइक एण्ड वाइन, फेसन एण्ड ब्यूटी सोहो बार, ड्रिम ओ पुल पार्टीलगायत उनले सञ्चालन गरेका कार्यक्रम हुन् । ती सबै कार्यक्रमबाट टिकट बिक्री गर्ने र रकम उठाउने प्रयोजनका लागि उनले ‘वुमन अन्ली’ फेसबुक सिक्रेट ग्रुप बनाएकी छन् ।

त्यहाँ उनले चिनजानका र सहयोगी गरेर ४ सयभन्दा बढी सदस्य बनाएकी छन् । लर्निङ हाउसमै सञ्चालित कार्यक्रमको पनि रसिद उपलब्ध नगराएको उजुरीमा उल्लेख छ । मनोरञ्जनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्थानीय तह, प्रशासन र जिल्ला प्रहरीलाई जानकारी हुनुपर्ने नियम लत्याउँँदै मिसेलले मदिरासम्बन्धी कार्यक्रम सञ्चालनार्थ अनुमति नलिएको आरोप छ ।

उजुरीकर्ताले मंसिर २२ गते पोखरा अध्यागमनमा संस्था र सञ्चालिका दुवै अवैधानिक गतिविधिमार्फत आयआर्जनमा लागेको भन्दै उजुरी दिए पनि कारबाही भएको छैन । अध्यागमनको क्षेत्राधिकारमा विदेशी नागरिकको निगरानी र कारबाही सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै अध्यागमनले आफूले हेर्न नसक्ने भन्दै पन्छिएपछि उजुरीकर्ता जिल्ला प्रशासन कार्यालय कास्कीको शरणमा पुगेका हुन् ।

अध्यागमनमा दर्ता गराएको उजुरी र पुस १० गते प्रशासनमा दर्ता गराएको उजुरीसहित यथाशीघ्र विदेशी नागरिकको अवैधानिक क्रियाकलाप रोक्न अख्तियार दुरूपयोग अनुसन्धान प्रशासनले पुस १० गते नै जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्रमार्फत छानबिन र कारबाहीका लागि आदेश दिएको छ ।

– रञ्जन उपासक

टिप्पणीहरू