​अर्काको चोरेर आफूखुसी आम्दानी

​अर्काको चोरेर आफूखुसी आम्दानी

गाई मारेर गधा पोस्ने धन्दा नौलो होइन । सरकारी स्वामित्वको नेपाल टेलिकम डुबाएर एनसेलको पक्षपोषणमा त्यहीँकै कर्मचारी लागेको शैलीमा अर्को गम्भीर गडबडी भइरहेको रहस्य खुलेको छ रेडियो नेपालबाट । केही कर्मचारीले रेकर्ड भएका पुराना गीत धमाधम अनामनगरस्थित म्युजिक नेपालमा पु¥याएको रहस्यको पर्दाफास गरिदिएका छन्, संगीतकार समाज नेपालका पूर्वअध्यक्ष लक्ष्मण शेषले । उनले झण्डै सात महिना लामो अध्ययनपश्चात पुराना र कालजयी गीत म्युजिक नेपालले गैरकानुनी ढंगले आफ्नो बनाएको दाबा गरेका छन् । म्युजिक नेपालले अरुणा लामा, तारादेवी, हरिप्रसाद रिमाल, रानुदेवी अधिकारी, नारायण गोपाल, गोपाल योञ्जन, भक्तराज आचार्यदेखि प्रेमध्वज प्रधानजस्ता कालजयी गायकका दर्जनौं  गीत चोरेर आफ्नो युट्युबमा राखेको छ । सरकारी स्वामित्वको संस्था डुबाई निजी लगानीको म्युजिक नेपाल पोसिएको फेला परेपछि गीतकार तथा संगीतकार आगो भएका हुन् ।

रेडियो नेपालको सम्पत्ति चोरेर म्युजिक नेपालले लाखौं आम्दानी गरिरहेको फेला परेसँगै गत साता कलाकर्मीको टोली सिंहदरबार पुग्यो । उनीहरूले रोइकराइ गरेपछि बल्ल हाकिमलाई तातो लागेको छ । गत साता मात्र रेडियो नेपालका नायब कार्यकारी निर्देशकले अनधिकृत रूपमा प्रसारण कार्य नगर्नेसम्बन्धी ३५ दिने सूचना प्रकाशन गरेका छन् । सूचनामा भनिएको छ, ‘रेडियो नेपालले आफैं उत्पादन गरेका र रेडियो नेपालकै पूर्ण स्वामित्वमा रहेका गीत, संगीत, नाटकलगायत श्रव्य सामग्री रेडियो नेपालको स्वीकृति र अनुमतिबिना निजी संगीत व्यवसायी र प्रसारण संस्थाहरूले सिआरबिटी, पिआरबिटीलगायत अन्य ढंगबाट आय आर्जन गरिरहेको बुझिएकाले त्यस्ता आय ३५ दिनभित्र रेडियो नेपालमा दाखिला गर्नुहोला ।’ निजी स्वामित्वको म्युजिक नेपाल २०३९ सालमा स्थपना भएको हो जसले गीत चोरेर खुसुक्क युट्युबमा घुसारी वार्षिक लाखौं आम्दानी गरिरहेको छ । तर, म्युजिक नेपालका मालिक सन्तोष शर्मा यो आरोप स्विकार्न तयार छैनन् । उनी आफूले प्रतिलिपि अधिकारधनीको स्वीकृति लिएरै यस्ता गीत, संगीतको आफूले कारोवार गरिरहेको बताए । एनसेलले गीत संगीत बजाएबापत रोयल्टी समाजलाई १ करोड ५० लाख पठाएको रहस्य खुलेको छ । यसरी रोयल्टी समाजलाई पठाइएको करोडौं रकमको हिसाबकिताब पारदर्शी नभएको गीतकार र संगीतकारको गुनासो छ ।

टिप्पणीहरू