​सदाचारीको राजमा, कता जानु काजमा ?

अनेक तन्त्र फेरिए पनि देशको मुहार उस्तै रहेझैं, हाकिमहरू जुन फेरिए पनि व्यथाका पहाड उस्तै छन् । सोचेको थिएँ महालेखा नियन्त्रक कार्यालयको कमाण्ड गोपीनाथ मैनालीजस्ता सदाचारी हाकिमको काँधमा पुगेपछि मजस्ता पीडित कर्मचारीले न्याय पाउनेछौं, ढिलै भए पनि । तर, गत १ पुसमा मलेनिकाको सरुवा निर्णयले फेरि उस्तै दुःखी तुल्यायो । म कृष्णप्रसाद ढुंगाना, सुर्खेतस्थित कोलेनिकाको कार्यालयमा कार्यरत एक तल्लो तहको कर्मचारी । १५ वर्षदेखि एउटै पोस्ट्मा छु । उमेरले ५ दशक टेक्न लागें । ७५ प्रतिशत स्वास्थ्य बिग्रेर २५ प्रतिशतको धुकधुकीसहित सेवामा खटिँदै छु । त्यही कारण हो लामो समयसम्म वृत्तिविकास रोकिन पुग्यो । स्वास्थ्यले साथ नदिएपछि घरपायक जिल्ला सुर्खेत झरेको पनि दशक व्यतित हुनै लाग्यो । मभन्दा धेरै पछि सेवा प्रवेश गरेकाहरू बढुवा भए । कोही अधिकृतको प्रतिक्षामा छन् । म सेवारत हुँदा कार्यालय सहयोगी (श्रेणीविहीन पदमा काम गरेका साथीहरू पनि अहिले कोही आ.प्र.र फाइल बढुवाबाट खरिदार सहलेखापाल हुँदै ना.सु. लेखापाल भइसके, यसमा पनि कसैको दोष छैन, मेरै स्वास्थ्य बाधक हो ।

जागिरे जीवनमा अथायी र स्थायी सेवा गर्दै उमेरले ३४ पार गरेपछि ०६२ सालमा निजामतीतर्फ प्रवेश गरें । राजपत्रअनंकित द्वितीय श्रेणीमा । १ वर्ष हुम्लामा काम गरेपछि बर्दिया पुगेर ६ महिना बिताएँ । २७ महिना कालिकोटको सेवा गरें । उमेरले चार दशक टेक्दै गर्दा असाध्य रोगले गाँज्यो । उपचारपछि झरें सुर्खेत तर अनेकन यत्न गर्दा पनि रोग २० को १९ भएन । बरु शरीरको महŒवपूर्ण अंग नै काटेर फाल्नुपर्ने अवस्था आयो । ७० सालमा त्यो अंग फालियो । बूढो शरीर, महŒवपूर्ण अंग नै काटेर फालिएपछि प्रतिदिन अनेकन रोगले गाँज्दै गयो । एकैपटक प्रेसर, पेङ्क्राइष्ट, पार्किन्सन, पायल्स, कलेजो, प्रोस्टेटलगायत रोगले च्याप्यो । नियमित फलोअपमा काठमाडौं सुर्खेत गर्दा आर्थिक स्थिति जर्जर बन्न थाल्यो । रोग थपिँदै गएपछि जिल्लाबाहिर बढुवाका लागि जान सक्ने आँट भएन । अहिले पनि ६ थरी व्यथाको औषधि नियमित सेवन गरिरहेको छु । औषधिमै मासिक ९ हजार सकिन्छ । परिवारको पनि जिम्मेवारी छ काँधमा । दुई सन्तानको शिक्षादीक्षा र पालनपोषण । आएको तलब आधाभन्दा बढी औषधोपचारमै सकिन्छ । तिनको शिक्षा दीक्षा गर्ने कसरी ? सन्तान सोध्छन्, ‘बाबा तपाईंको बढुवा कहिले हुन्छ ?’ तिनलाई के भनेर जवाफ दिऊँ ? बढुवा होला भनेर दशकदेखि प्रतिक्षारत छु । वृत्ति विकासका लागि कहाँ–कहाँ मात्र धाइनँ ? क–कसलाई हात जोडिनँ ? कोलेनिका सुर्खेतमार्फत मलेनिकामा अनुरोध गर्न थालेको ५ वर्ष भयो ।

सुर्खेत जिल्लाको मलेसिकामा एक दशक भयो भर्खर लोक सेवा भिडेर नाम निकालेका नवजवानहरूलाई खटाइन थालेको । १८ देखि ३५ वर्ष उमेर समूहका लेखापालहरू मात्रै यहाँ खटाइन थाले । हामीजस्ता बूढापाका र यही सेवा गरेर दाह्री–कपाल फुलाएकाहरूलाई चाहिँ जिल्लाबाट खेद्न थालियो । न जिल्ला छाडेर अन्यन्त्र जान सक्छु न त यहीँ बसेर बढुवाको अवसर पाउँछु । मलेनिकाले हरेक वर्ष सार्वजनिक गर्ने सरुवा मापदण्ड हेर्थें, यसपालि त मापदण्डअनुसार गरियो भने कसो एक सिट बढुवामा नपर्ला, मेरोजति सेवा गरेका त कोही पनि छैनन् भन्ने सोच्थें । तर, कहिल्यै खाली नहुने । रिक्त पदमा भर्खर लोकसेवा पास गरेका, हेर्दा लक्का जवान आर्मी, प्रहरीमा भर्ती हुने खालका मात्रै आउने । सरुवा गर्न मिल्नेलाई सरुवा, न्यूनतम अवधि पनि नपुगेकालाई अनिश्चितकालीन काज र बाटो खुलेपछि चाहे त्यहीँ, नभए राम्रै मानिएका कार्यालयमा सरुवा गरिदिने परिपाटी विकास हुँदै गइरहेको छ । कहाँ गयो सुशासनको रटान ? निजामती सेवा नियमावली पल्टाउँछु, प्रस्टै लेखिएको छ– लोकसेवाले नियुक्तिका लागि सिफारिस गरेको भौगोलिक क्षेत्र नासु वा सोसरहको हकमा तोकिएको विकास क्षेत्रमा ५ वर्ष अवधि नपुगी सरुवा गरिने छैन । यो व्यवस्थालाई मिचिरहँदा सदाचारी सचिव गोपीनाथ मैनालीहरू के हेरिरहनुभएको छ ? कसैलाई काज र कसैलाई सरुवा नै गरिदिन थालिएको छ । यही कारण बढुवा पर्खी बसेका र शारीरिक रूपमा अस्वस्थ, उमेरले ४० वर्ष काटेका कर्मचारीलाई जिल्लाबाट धपाइँदै छ । तर, शारीरिक रूपमा अशक्त हामीजस्ता कर्मचारी कहाँ जाने ? कसको अगाडि दुःखको पहाड बिसाउने ? हाम्रो रोदन सुन्ने फुर्सद कसलाई यहाँ ? 

 यो पीडा पोखेको पनि हो सह–महालेखा नियन्त्रक एवं प्रवक्ता रामचन्द्र देवकोटासमक्ष । उल्टै हकार्नुभयो, ‘१५–१६ वर्षसम्म एउटै जिल्ला बस्ने अनि बढुवा पनि खोज्ने ?’ उहाँले तीतो जवाफ फर्काउनुभयो, ‘बढुवा खाने भए हिमाली जिल्ला खाली गराइदिन्छु, त्यहाँ जाने भन्नुस् ।’ मलेनिका लेखा समूहको कर्मचारीका लागि पिता समानको निकाय हो । त्यहाँ हाम्रा पिताहरू हुनुहुन्छ, उहाँहरूले कुनै पनि छोरालाई भेदभाव हुने खालको व्यवहार गर्नुहुन्न भन्ठानेको थिएँ । अस्ति १ पुसको निर्णय भनी पुस ३ गते एकाबिहानै मलेनिकाको वेबपेजमा सरुवा सूची आयो । मेरा प्रिय साथीको नाम देखेँ डोल्पा कोलेनिका । उहाँको पुल दरबन्दी थियो सुर्खेतमा । यहीँ अवधि पुगेको कसैलाई सारेर कार्यालय खाली गरेको होला भनी हेरेको त ०७२ सालमा निजामती सेवा प्रवेश गर्नुभएका र ०४९ सालमा जन्मनुभएका अनि सेवा सुरुवातमै बाँके जिल्लाजस्तो सुगम जिल्ला पाउनुभएका लेखापाल सरको उहाँको ठाउँमा सरुवा भएछ ।

उहाँलाई सरुवा गर्ने निकायलाई धन्यवाद दिनै पर्छ । एउटा ४० कटेको रोगीलाई हिमाल पु¥याएर नवजवानलाई ल्याउनुभएछ । चार÷पाँच वर्षदेखि आश गरेको र यसपालि पनि विज्ञापन हुने समय नजिकिँदै जाँदा सुर्खेत नछाडेपछि यस वर्ष पनि आशा म¥यो । ऊर्जा म¥यो । एउटै जिल्लामा १५–१६ वर्ष भन्नुभएछ, महालेखा नियन्त्रकज्यूसमक्ष बिन्ती बिसाउँछु– एकपटक मेरो कर्मचारी विवरण (पिआइएस) हेर्न अनुरोध गर्दछु । कुनै पनि कर्मचारीलाई सेवा प्रवेश गरेको निश्चित अवधिपछि बढुवा हुने चाहना हुनु स्वाभाविक हैन र ? कोही खुला प्रतियोगिताबाट बढुवा हुन्छन् भने खुलाबाट नसक्नेहरू बढुवाकै भर पर्ने हो । के मैले यो अवसर खोज्नु गलत हो ? 

एउटै आग्रह छ, मलेनिकाले वृत्ति विकास र सरुवालाई सौदाबाजीको रूपमा नलिओस् । कम्तीमा पनि पिआइएस हेरियोस् । १० वर्ष एउटै श्रेणीमा जहाँ बसेको छ त्यहीँ बढुवा हुने निश्चितता गर्दा अर्को ५÷७ वर्ष त्यस जिल्लामा बढुवाको समस्या पर्दैनथ्यो । सुर्खेतमा मात्र नभई सायद नेपालभरमै योग्यता पुगेर यति लामो समयसम्म सह–लेखापाल पदमा काम गर्ने म मात्रै हुँजस्तो लाग्छ । 

– कृष्णप्रसाद ढुंगाना, सह–लेखापाल, कोलेनिका सुर्खेत

 

टिप्पणीहरू