जुम्लाका किसानलाई गोठालो भत्ता

जुम्लाका किसानलाई गोठालो भत्ता

जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम ल्याएपछि आफ्नो भत्ता दाबी गर्न २ सय ६५ किसानले निवेदन दिएका हुन् ।

भेडापालक किसानलाई प्रोत्साहन गर्नका लागि‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशुअस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए । उनका अनुसार ५० भन्दा धेरै भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिने गरिएको छ ।

उनले भने, ‘जुम्लाका १ सय ५० जना भेडा पालकलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि छ । कार्यविधिअनुसार ५० देखि एक सय भेडा पाल्ने किसानलाई मासिक १ हजार पाँच सयका दरले गोठालो भत्ता दिइने छ ।’ रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिने योजना रहेको शाखाका प्रमुख महतले बताए ।

पशुअस्पताल तथा पशुसेवा कार्यालयमा २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । जुम्लाका १ सय ५० जना भेडापालक किसानलाई गोठालो भत्ता दिने रकम आएको छ । कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

टिप्पणीहरू