अदालतले तोकेको ३१ लाख नतिरी भागेका व्यक्ति फेरी अदालतमा

अदालतले तोकेको ३१ लाख नतिरी भागेका व्यक्ति फेरी अदालतमा

विभिन्न मुद्दामा अदालतले तोकेको ३१ लाख बढि जरिवाना नतिरी फरार रहेका एक युवक समातिएका छन् । बैदेशिक रोजगार तथा पटक-पटक बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतबाट ३१ लाख ४९ हजार रकम जरिवाना तोकिएको अभियुक्त हिजो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाजुराको बूढीनन्दा नगरपालिका-१ घर भई हाल काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-७ बस्ने ४४ बर्षीय बिष्णु बहादुर कार्की रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले २०६० पुस १० गते बैदेशिक रोजगारसम्बन्धी मुद्दामा तीन वर्ष कैद र दुई लाख ५० हजार जरिवानाका साथै बैकिङ कसूर मुद्दामा एक वर्ष कैद सजाय र एक लाख ५९ हजार जरिवाना तोकेको थियो ।

बैंकिङ कसूरको अर्को त्यस्तै मुद्धामा जिल्ला अदालतले नै एक वर्ष कैद सजाय र ३० हजार जरिवाना मागेको थियो । त्यस्तै, उच्च अदालत पाटनले २०७७ माघ ६ गते बैंकिङ कसूर मुद्धामा ७ दिन कैद र २७ लाख जरिवाना तोकेको थियो ।

तर, जरिवाना नतिरी फरार रहेका उनी हिजो पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाबाट खटिएको प्रहरीको बिशेष टोलीले बूढानिलकण्ठबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौँ पठाएको छ ।

उनले विभिन्न ब्यक्तिहरुलाई एयरलाईन्समा पाईलटको जागिर लगाइदिने, डिमाण्ड ड्राफ्ट (डीडी) बनाईदिनेलगायत विभिन्न प्रलोभन देखाएर ठगी गरेकोसमेत देखिएकाले त्यसबारेमा समेत अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कार्कीबाट ठगिएको भए अपराध महाशाखामा सम्पर्कमा आउँन पनि भनेको छ ।

टिप्पणीहरू