मान्छेभित्र हुने रहेछ लुकेको अर्को मान्छे

मान्छेभित्र हुने रहेछ लुकेको अर्को मान्छे

आज विवश भई भन्न गइरहेको छु, यो कथा । भन्न मन थिएन तर बाध्य भएँ । र, विगतदेखिका घटनाहरु प्याजको पत्रझैँ उक्काउँदै छु । ऊसँग भेट भएको एक वर्ष बितिसकेको थियो । साथी देवले पशुपति कलेजमा चिनापर्ची गराएपछि हामी नजिकको साथी मात्र भएनौँ, रुममेट पनि भयौँ । ऊ र देव स्नातक दोस्रो वर्षमा अध्ययनरत थिए ।

तर, पत्रकारिताको एउटै कलेज भएकाले म कोठा नजिकैको पशुपतिलाई त्यागेर भृकुटीमण्डपको आरआर कलेज पुगें । म पनि पत्रकारिता विषयमा स्नातक दोस्रो वर्ष अध्ययनरत थिएँ । त्यतिबेला फुर्संदिलो भएकाले प्रायः शनिबार सबै साथीभाइहरु मिलेर घुम्न जान्थ्यौं । स्वयम्भू, पशुपति डाँडा, नगरकोट र कीर्तिपुरको चोभार नै हाम्रो मुख्य गन्तव्य हुन्थ्यो ।

शनिबार खानपिन गरेर निस्किएपछि राति अबेरसम्म रमाइलो गथ्र्याैं । रातिको खाना कहिले बाहिर त कहिले घरमै हुन्थ्यो । शनिबारको दिन कुनै एक जना साथीको कोठामा ‘ग्यादरिङ’ गरिन्थ्यो र आनन्द लिइन्थ्यो । अहिले कोभिडका कारण यस्ता ग्यादरिङ पार्टी गर्न डराइयो । कोही व्यस्त, कोही कोभिड संक्रमित भएका कारण । आफू पनि कामको चापले पहिलेजस्तो फुर्संदिलो छैन । यद्यपि, मौका मिलाएर कहिलेकाहीँ दुःख भुल्ने गरिन्छ ।

‘मान्छेको मायाँ यहाँ खोलाको पानीजस्तो…’ किशोरावस्थामा स्वर सम्राट नारायणगोपालका गीत खुबै सुनिन्थ्यो । अहिले पनि सुन्छु । पहिले गीतका शब्दले मुटु हल्लिने गरी हिर्काउँथ्यो । अहिले गीत सुन्नेबित्तिकै मथिंगल हल्लिने गर्छ । म आफैँ अचम्मित छु । साँच्चिकै मान्छेको मन, माया र प्रेम भन्ने कुरा खोलामा बग्ने पानी जस्तै हुँदोरहेछ । भए भरको सबै वस्तु मिसिने खोलाको पानी कति कञ्चन छ भनेर कसले छुट्याउन सक्ला र ? त्यस्तै कसको मनमा कस्ता खालका भावनाहरु उनिएका छन् बुझ्नै कठिन !

ऊ मेरो जीवनमा त्यस्तै अनौठो पात्र बनेर आयो । ऊभित्र के कस्ता भावनाहरु जाग्छन् त्यो त म नाप्न सक्दिन । हाउभाउमात्रै बुझ्छु । २३ वर्षे लक्का जोवन ! शरीरको बनावट असाध्यै मिलेको । गोरो, त्यसमाथि रेबनको चस्मा लगाउँदा कुनचाहिँ युवती पट्टि“दैन ? उसको सुन्दरताको तारिफ गरिसाध्य छैन । लाग्छ, भगवानले फुर्सदमा सृजना गरेका हुन् । सबै साथीभाइसँग उत्तिकै मिल्ने स्वभावको ऊ त्यही मित्र हो, योगेन ।

पढाइमा तेजिलो । एकपटक भनेको कुरा दिमागले टिपेपछि डिलिट हुँदैन । कम्प्युटरको सीपीयुजस्तो । सपना छ भविष्यमा गायक बन्ने । अहिले पनि संगीत सिकिरहेको छ, अनलाइनबाटै । उसको स्वरमा त्यस्तो जादूमय नभए पनि मीठास छ । गितारको तालमा ओंठहरु चलाउँछ र भावनामा डुब्दै गीत गाउन थाल्छ ‘पर्खी बसें आउँला भनी…।’

ऊसँग भेट भएपछिका दिनहरु रमाइलो गरी नै बित्दै थिए । समय न हो एक दिन दुई दिन हुँदै वर्षौं बितेको पत्तै भएन । अहिले हामी सँगै बसेर रम्न थालेको तीन वर्ष पूरा भइसकेको छ । ०७५ साल असारको दोस्रो साता भेट भएको हो । करिब १५ दिनमै हामी तीन जना (देव, योगेन र म) सँगै बस्ने निधो ग¥यौँ । त्यतिबेला योगेन बालाजुमा बस्थ्यो ।

देव र म चाबहिलमा । पूर्वशर्तअनुसार शनिबारको दिन पारेर योगेन पनि हामीसँगै बस्यो । त्यस दिनदेखि हामी दाजुभाइजस्तो भएर आफ्नो कर्तव्य पूरा ग¥यौं । मिलेर नै कोठाभाडा, राशनपानी, तरकारी र बिजुली बिल तिथ्र्यौं । अहिले पनि त्यसैगरी बसेका छौँ । हामीबीचमा कुनै मनमुटाव छैन । म अहिले एक सञ्चारकर्मीको रुपमा काम गरिरहेको छु ।

योगेन र देवले केही समय चाबहिलमा क्याफे सञ्चालन गरे पनि पढाइका कारण बेचेर अहिले गहन अध्ययनमा छन् । दुवैलाई स्नातकोत्तर सकेर भविष्य बनाउनु छ । मलाई पनि उनीहरुजस्तै इच्छा भए पनि स्नातक तेस्रो वर्षमा एक विषय झुण्डिएपछि एक वर्ष थन्किनुपरेको छ । कामको व्यस्तताले गर्दा पढाइलाई राम्रोसँग अघि बढाउन नसकेकाले मन बुझाएको छु ।

योगेनसँग चिनजान भएको डेढ वर्ष बित्दै थियो । त्यतिञ्जेल मलाई उसको त्यो स्वभाव बारेमा थाहा थिएन । तीनवटा कोठा भाडामा लिएका थियौँ । एउटा डिनर र अर्काे सुत्ने कोठा । प्रायः ऊ र म सँगै सुत्थ्यौँ । देव अर्कै कोठामा । त्यो समय एक रात खाना खाएर सुत्न योगेन र म हाम्रो कोठातिर छि¥यौँ । देव उसकै कोठातिर । अहिले देवले विवाह गरिसकेको छ र सिंगल रुममा डबल ज्यानको इन्ट्री भएको छ । यता, योगेन र म उही शैलीमा बस्दै आएका छौँ ।

खोला तलबाट माथि पनि बग्दोरहेछ । हैट ! म आत्तिएको देखेर उसले सम्झायो । शरीरकाे दागमा अर्काे शरीरकाे मासुकाे टुक्रा काटेर भरेसरी मनलाई भर्न / बदल्न कहाँ सकिनेरहेछ र ?

हो, त्यो दिनको घटना भन्न गइरहेको छु, आज म । ‘म केटाबाहेक अरु कसैसँग विवाह गर्दिन । मलाई केटीप्रति कुनै चासो नै छैन । अहिलेसम्म तीन जना केटीले प्रपोज गरिसके तर मैले एसेप्ट गरेको छैन ।’ स्क्रिनको लक खोल्दै मलाई देखायो । फेसबुकको म्यासेन्जर बक्समा तीन जनाले प्रपोज गरेका रहेछन्, ‘आइ लाइक यू, डोन्ट हेट मी ! प्लिज एसेप्ट माई रिक्वेस्ट ।’ उसले पालैपालो तीनैजनाको फोटो पनि देखायो । म एक छिन उसको म्यासेज पढेर रनभुल्लमा परें । तीनै जनाको फोटो गज्जब थियो । मै प्रपोज गरुँगरुँ झैँ लाग्ने ।

तर, मनको कुरा मनमै रह्यो । मेरो ध्यान उसले बोलेको ‘केटाबाहेक अरुसँग विवाह गर्दिन’ भन्नेमै केन्द्रित रह्यो । र, सबै कुरा सोधखोज गर्न थालें । उसले बच्चापनदेखि किशोरअवस्थासम्मका सबै घटना कापीका पानासरी पल्टाउँदै भन्न थाल्यो । मैले पनि ध्यानपूर्वक सुन्दै गएँ । बीचमा डर पनि लागेर आयो । चिच्याउने अवस्था थिएन । मन दह्रो बनाएर एकटकले उसलाई हेर्दै सुनिरहें ।

उसले आफ्नो बारेमा सबै कुरा भन्यो । र, कुराकानीकै क्रममा अमेरिकामा बोइफ्रेन्ड ह्यारीसँग लभ अफेयरमा रहेको पनि सुनायो । त्यसपछि त म छाँगाबाट खसेजस्तै भएँ । सपना हो या विपना, खुट्टाउनै सकिँन । खोला तलबाट माथि पनि बग्दोरहेछ ।

हैट ! म आत्तिएको देखेर उसले सम्झायो, ‘त्यस्तो आत्तिनुपर्ने कुनै जरुरी छैन । मान्छेको मन न हो । बाहिर देखिएको शरीरजस्तो भित्री मन पनि त्यस्तो नहुँदोरहेछ । म तिमीभन्दा बिल्कुल फरक छु । तर, मैले तिमीलाई त्यस्तो कुदृष्टिले कदापि हेरेको छैन । भेट भएदेखि नै तिमीलाई यो कुरा भनौँ भन्ने लागेको थियो तर भन्न सकिन, ‘आइ एम रियल्ली सरी यार !’

जंगलको बाटोमा आफूसामु उभिएको बाघ देखेर बेहोस भएपछि बाघले सुँघेर गएको र ज्यान सग्लो रहेको कथा सुनेको थिएँ । कथामा बाघ गए पछिको अवस्थामा मैले तत्काल उसलाई प्रश्न गरें, ‘यो कुरा घर परिवारलाई थाहा छ कि छैन योगेन ?’
‘दिदीबाहेक अरु कसैलाई थाहा छैन ।’

त्यसपछि मन अलिकति हल्का भयो । उसको दिदी महिना अघिमात्र दुबईबाट नेपाल फर्किनुभएको एक महिना बिदामा तर गृह मन्त्रालयले कोभिडका कारण खाडी मुलुक र मलेसिया जान प्रतिबन्ध लगाएका कारण यतै रोकिने स्थिति छ । कति समय हो, थाहा छैन ।

योगेनको दाइ कोरियामा छन् । परिवारमा दुई भाइमध्ये योगेन कान्छो । पढ्न, बस्न र खानका लागि कुनै दुःख छैन । दाइ र दिदीले खर्च पठाउँछन् । मैले सोधें, ‘परिवारलाई चाहिँ किन थाहा नदिएको योगेन ?’ उसले आफूले दिदीबाहेक अरु कसैलाई भन्न नचाहेको बतायो । र, आफूलाई यो कुरा भन्न उपयुक्त नलागेको बताउँदै उसले नेपाली समाजमा बस्न गाह्रो हुने बताउँदै जतिसक्दो चाँडो विदेश जाने मन खोल्यो ।

त्यसपछि मैले त्यसो नगर्न सल्लाह दिए पनि मानेन र आफ्नो ब्वाइफ्रेन्ड ह्यारीसँग फेसबुकमा भएको सबै कुराकानी देखायो । वर्षाैंदेखिका दुईबीचको कुराकानी देखेर झन् म अचम्मित भएँ । ह्यारीका नातिनातिनी रहेछन् । बुहारी र छोरा पनि । केही महिनादेखि ह्यारीले योगेनलाई मायाले एक सय डलर (१० हजार) बैंकमार्फत् नेपाल पठाएको रहेछ ।

योगेनलाई जतिसक्दो चाँडो अमेरिका आउन आग्रह पनि । तर, अमेरिका जानका लागि भिसा अप्लाई गरेर पनि दुइ चोटी योगेन फेल भएको थियो । योगेनले यी सबै देखाएपछि म छर्लंग भएँ । अहिले यो कुरा देवलाई पनि थाहा छ तर समग्रमा छैन ।

बीचमा ह्यारीसँग योगेनको ब्रेकअप हुन पुग्यो । त्यो बेला योगेन निकै चिन्तित भयो तर रोएन । दुई बीचमा ब्रेकअप हुनुको कारण थियो, योगेन पनि क्याफेमा व्यस्त र ह्यारी पनि परिवारसँग मस्त । दुईबीचमा भएको सबै कुरा योगेनले मलाई सुनाउन कञ्जुस्याइँ गरेन । सबै कुरा सुनायो । मलाई उप्रति अबचाहिँ साँच्चिकै दया जागेर आयो । मान्छेको मन अनुपम हुनेरहेछ । मनका सामु तन (शरीर) को कुनै जोर नचल्ने रहेछ ।

शरीरको दागमा अर्काे शरीरको मासुको टुक्रा काटेर भरेसरी मनलाई भर्न/बदल्न कहाँ सकिनेरहेछ र ? समाजले उसलाई कर्के नजरले हेरे पनि मैले कदापि त्यसो गर्न सक्दिन । ऊसको ठाउँमा बसेर आफैँलाई तौलन्छु । र, उसलाई पनि सम्झाउँछु । बीचमा ह्यारीसँगको ब्रेकअपपछि उसको माया सुनिल क्षेत्रीसँग बस्यो ।

तर, फेसबुकमार्फत् बसेको सुनिलसँग प्रेम दीर्घकालीन रहेन । सुनिल योगेनलाई भेट्न विराटनगरदेखि काठमाडौँ पनि नआएको होइन । काठमाडौँ आएपछि दुवैजनाले बानेश्वरको नाम चलेको गेस्टहासमा तीन रात बिताए । चन्द्रागिरीको डाँडा घुमे । पशुपति घुमे । काठमाडौँको सबै डाँडा घुमेर सुनिल विराटनगर फर्कियो ।

सुनिल फर्किएको सात दिनपछि संयोगले सुनिलको दाइ पर्ने नातेदारसँग योगेनको भेट भयो र भेटकै क्रममा दाइले सुनिलबारे सबै कुरा खुलस्त पारे, सुनिलको श्रीमती र एउटा छोरा भएको । सुनिलले विवाहका लागि प्रतिवाद गरे पनि परिवारले जबर्जस्ती पुस्ता नमास्न आग्रह गर्दैै विवाह गरिदिएको रहेछ । अहिले सुनिल विवश भई बाँचेका छन् । तर, यी सबै कुरा थाहा पाएपछि योगेनले उसलाई फेसबकुबाट अनफ्रेन्ड गरेको छ भने अर्काे नम्बर परिवर्तन गरेको छ ।

अहिले फेरि योगेनको ह्यारीसँग चक्कर चलिरहेको छ । बेलुकी घण्टौँ फेसबुकमा कुराकानी भएको सुन्छु । योगेन अंग्रेजीमा तीक्ष्ण छ । तर, मलाई ह्यारी र उसले बोलेको अंग्रेजी बोलीले तीनछक बनाउँछ । तैपनि दुईतिरको हाउभाउअनुसारको बोलीअनुरुप केही बुझेजस्तो हुन्छ । नबुझे पनि कुराकानी सकिएपछि योगेनले भएभरको सबै सुनाउँछ ।

अहिलेसम्म मलाई ‘गे’ अर्थात् समलिंगीबारे एउटै कुरा थाहा थियो । तर, डिक्सनरीमा त्यतिमात्र रहेनछ । डिक्सनरीमा गे को अर्थ स्पष्टसँग लेखिएको छ, ‘चियरफुल, चियरी, मेरी, जोल्ली, ह्याप्पी, ग्ल्याड, ब्राइट..।’ सोच्छु, सायद गे भनेको खुशीमा रमाउने प्राणी हो । समाजमा उसलाई पनि अरुजस्तै गरी रम्न दिनुपर्छ । योगेन, तिमी यसैगरी सदा खुशी रहनु ।

– उही तिम्रो साथी नविन

टिप्पणीहरू