दाताले दिएपछि गृहमन्त्रीले बाँडे

दाताले दिएपछि गृहमन्त्रीले बाँडे

गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा बाढीपहिरो र बेमौसमी वर्षा पीडितलाई राहत सामग्री सहयोग गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा खाधान्नलगायतका उपभोग्य सामग्री वितरण गरिएको हो ।

फाउन्डेसनले झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही र चितवनमा राहत वितरण गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रुपन्देहीमा राहत वितरण भइरहेको फाउण्डेशनको संयोजक सञ्जीव बस्यालले बताए । उनका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार चार सय ५६ परिवारलाई राहत सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ ।

रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामग्री वितरण गर्न बाँकी रहेको उनले जनाए । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि स्थगित भएको राहत वितरण कार्य केही दिनपछि सुचारु गरिने उनको भनाइ छ ।

एउटा परिवारलाई २५ केजी चामल, १० केजी आँटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुनु, साबुन, २/३ वटा ब्लैङ्केट लगायतका सामग्री उपलब्ध गरिएको छ ।

गृहमन्त्री खाँणले गत कात्तिक महिनाको पहिलो सातामा शीतलहर र यस वर्षको बेमौसमी वर्षाका कारण पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई निर्देशन दिएका थिए ।

चुजी फाउण्डेसनले सहयोग उपलब्ध गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका खोलेको हो । हालसम्म २९ भन्दा बढी जिल्लाका पीडितलाई राहत सामाग्री उपलब्ध गरिसकिएको छ । बाँकी राहत वितरणको काम पाँच दिनभित्र गर्ने लक्ष्य राखिएको छ ।

टिप्पणीहरू