गण्डकीमा गठवन्धनमा गडबड

गण्डकीमा गठवन्धनमा गडबड

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनका मतदाताले भोटक्रस गरेको पाइएको छ । तीन सीटका लागि आज भएको मतदानको अन्तिम मतपरिणाम आउँदा  गठवन्धनका सात जनाले एमालेका उम्मेदवारलाई मत दिएको पाइएको हो ।

दुई सांसद र स्थानीय तहका पाँच जना प्रतिनिधिले एमालेलाई भोट दिए पनि गठवन्धनका उम्मेदवार नै बिजयी भएका छन् । भोटक्रसका बाबजुत गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार विजयी भएका हुन् ।

गण्डकीमा गठबन्धनका ३१ सांसद थिए । जसमध्ये २९ सांसदको मात्र गठवन्धनका साझा उम्मेदवारलाई मत परेको हो । त्यस्तै, स्थानीय तहका ९९ जनप्रतिनिधि रहेकोमा गठबन्धनका उम्मेदवारलाई जम्मा ९४ मत खसेको थियो ।

गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रेको एमालेका २७ सांसद र ६९ जनप्रतिनिधीहरु थिए । जसमध्ये एमालेका उम्मेदवारले ७४ जनप्रतिनिधीको मत पाएका छन् ।

विजयी आलेमगरले ३ हजार ९६ मतभार पाएर विजयी भए भने उनका प्रतिश्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मतभार पाए । महिला कोटाबाट कांग्रेसकी पन्तले प्रतिस्पर्धी एमाले उम्मेद्वार लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरिन् ।

त्यस्तै, सुनारले एमालेकै अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले हराए । सुनारले ३०३० मतभार पाउँदा सुनामले भने २७२४ मतभार पाएका हुन् ।

दलित क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छोडिएको थियो ।

टिप्पणीहरू