चौबिस लाख खोप को हो चप्काउने ?

चौबिस लाख खोप को हो चप्काउने ?

कोभिडको तेस्रो लहरले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । यही बेला सिटामोलदेखि कोभिडका विभिन्न भ्याक्सिन बेपत्ता छन् । सिटामोल त कालोबजारीले लुकाए होलान्, तर निःशुल्क वितरण गरिँदै आएका भ्याक्सिनचाहिँ गए कहाँ ?

विभिन्न देशबाट ल्याइएका अनेक नामका करोडौं कोभिड खोपमध्ये अहिले २४ लाखको रेकर्ड भेटिएको छैन । चोरी भयो भनौँ, बेच्ने कहाँ ? जताततै निःशुल्क उपलब्ध भएको भ्याक्सिन किन्छ कसले ? शुरुमा त उत्तरतिर कारोबार गर्ने भारतीय व्यापारीले तीन लाखसम्म खर्चेर पनि चिनियाँ खोप लगाए तर अहिले ? गाउँगाउँ पुगेर लखेटी लखेटी मानिसलाई खोप हानिँदैछ ।

स्वास्थ्य मन्त्रालयस्रोतका अनुसार विभिन्न गाउँपालिका र खोप केन्द्रमा भ्याक्सिन पठाइएको छ । ती खोप केन्द्रहरुले सर्वसाधारणलाई लगाइदिएको भ्याक्सिनको हिसाबबारे मन्त्रालयलाई अझै रिपोर्ट गरेका छैनन् । भित्री कुरा के हो भने सरकारले माघ पहिलो साताबाट ‘फ्रन्टलाइनर’ का नाममा बुष्टर डोज वितरण हुन थाल्यो । एउटा खोपका लागि भएभरका शक्तिकेन्द्रको तागत लगाउने तर कार्ड नलिने हुँदा भ्याक्सिनको अभिलेख बेपत्ता छ ।

तेस्रो लहरस्वरुप ओमिक्रोनको महामारी बढेपछि देशका प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सत्तारुढदेखि विपक्षी दलका विभिन्न स्तरका नेता, सुरक्षाका हाकिमहरु, न्यायाधीश, वकिल, पत्रकारदेखि अनेकन पेशा–व्यवसायीले दबाब सिर्जना गर्दै भ्याक्सिन लगाए वा लगाउन सिफारिस गरे । तिनले भ्याक्सिन लगाएपछि सुरक्षित होइन्छ भन्ने नाममा भ्याक्सिन कार्ड लिएनन् र त्यसलाई अभिलेखित पनि गरेनन् । फलतः भ्याक्सिन हराएको हल्ला चल्यो ।

अर्कातिर, २४ सै घण्टा सिरिञ्जको सुविधा भएका स्वास्थ्यकर्मीले सिरानी–सिरानीमा भ्याक्सिन राखेर बसेका छन् । आफू र परिवारका लागि एक–एक डोज भ्याक्सिन लगाएर बाँकी भ्याक्सिनलाई घरकै फ्रिजमा थन्क्याएका छन्, ता कि कोही आफन्त र कुरा हार्न नसकिनेले कर गरिहालेमा दिन सकियोस् ।

यसरी रहेछ, भ्याक्सिन बेपत्ता भएको । यसपछि सरकारले जहाँ, जसरी भ्याक्सिन लगाएको भए पनि कार्डचाहिँ लिनु भनेर सर्वसाधारणका नाममा सूचना जारी गरेको छ । कहिलेकाँही अर्थ मन्त्रालयले स्वयं आय घोषणा गरेर भए पनि करचाहिँ तिर या दण्ड मिनाहा गर्छु, राजस्व बुझाऊ भनेर भाका थपेजस्तो जहाँ, जोसँग भ्याक्सिन लगाए पनि कार्ड लिऊ, यसो नगरे विमानस्थलदेखि कतिपय सरकारी अड्डामा प्रवेश रोक लाग्छ भनेर तर्साउनुपर्ने अवस्था आएको मन्त्रालयका एक हाकिमले बताए ।

भ्याक्सिनहरुमध्ये नेपालमा बढी प्रयोग भएका भेरोसिल, कोभिसिल्ड, मोडर्ना र फाइजरहरु सकिएका छन् । अहिले चीनद्वारा उत्पादित अर्को भ्याक्सिन सिनो फार्मको प्रयोग बढेको छ ।

टिप्पणीहरू