पशुपतिको धर्मशालाबाट बतासलाई हटाउने निर्णय

पशुपतिको धर्मशालाबाट बतासलाई हटाउने निर्णय

पशुपतिनाथको धर्मशालालाई महँगो होटल बनाएर व्यवसाय गर्दै आएको बतास समूहलाई त्यहाँबाट हटाइने भएको छ । पशुपति क्षेत्र विकास कोषसँग गरिएको यसअघिको सम्झौता ऐन र नियमावली विपरित देखिएकाले सम्झौता रद्द गर्ने निर्णय भएको हो ।

कोष सञ्चालक समितिको बैठकले बताससँग गरिएको अवैधानिक टेण्डर प्रक्रिया रद्द गर्न दिएको निर्देशन सदस्यसचिवसहित तीन जनाको टिमले गरेको अध्ययनपछि उक्त निर्णय भएको हो । नियमावलीबमोजिम परिषद्बाट पारित गरेर मात्र टेण्डर आह्वान गर्नुपर्नेमा त्यसो गरेको नपाइएको कोष स्रोतले बताएको छ ।

स्रोत भन्छ, ‘ऐन र नियम विपरित गरिएका सबै कार्य अवैध भइहाल्यो नि !’ कोषले उक्त अवैध कार्यमा संलग्न सबैलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने भएको छ ।

बताससँगको सम्झौता कानुन विपरित रहेको प्रष्ट देखिएको र सेटिङबमोजिम टेण्डर भएकाले रद्द गर्ने निर्णय गरिएको पर्यटन मन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालय स्रोतका अनुसार सदस्य सचिवले अवैध सम्झौता रद्द गर्न सक्ने अधिकार भएकाले कोषको नियमावलीबमोजिम उक्त निर्णय गरिएको हो ।

कोषका अहिलेका सदस्यसचिव डा. मिलनकुमार थापा पहिले कोषाध्यक्ष थिए । बताससँग अवैध टेण्डरको काममा उनी पनि अघि सरेको आरोप लाग्दै आएको छ ।

अहिले कोष सञ्चालक समितिका दुई जना अरु समेतले निर्णय गरेर उक्त प्रक्रिया अघि बढाइएको हो । बतासले नारायणहिटी दरबार संग्रहालय हातामा यस्तै अवैध तवरले गरेको क्याफे र बार निर्माणको प्रक्रिया पनि रद्द भइसकेको छ

 

टिप्पणीहरू