पाटीपौवा मासेर, नबसौं हामी हाँसेर

पाटीपौवा मासेर, नबसौं हामी हाँसेर

पहिलेपहिले धर्म वा आमाबुवाको सम्झनामा कतिपयले पाटीपौवा, चौतारा बनाइदिने गरेका थिए । पशु र मानिसहरुलाई पानी खानको लागि ढुंगेधारा, कुवा, आहाल, पोखरी बनाइदिने थुप्रै छन् । छहरामा बस्न होस् भनेर रुखका विरुवाहरु रोपिन्थे । वरपिपलको रुखमुनि बसेर मानिसहरुले थकाइ मार्थे, दुःखसुःखको कुरा गर्थे ।

वरपिपलको रुख धर्मकर्म गर्नको लागि पनि निकै आवश्यक थियो । ढुंगेधारा, कुवामा पानी आउँथ्यो । धर्मकर्म धेरै मान्ने भएकाले ढुंगेधारा, वरपिपल, चौतारा, मठमन्दिर सुरक्षित थियो । पाटीपौवा जताततै हुँदा टाढाटाढाका मानिसहरुलाई पनि पैसा तिरेर अहिलेको जस्तो होटलको बास माग्न पुग्नुपर्दैनथ्यो ।

पुर्खाले सधैं अरुको भलो गर्न सिकाए । पहिलेका मानिसलाई सम्पत्ति त चाहिन्थ्यो तर अरुको यति छ भन्ने रिसराग थिएन । खाना खाँदासमेत भगवानलाई सम्झिन्थे किनकि अन्न भगवानको उपदान हो । अन्न कमाउनको लागि कति दुःख गर्नुपर्छ भन्ने कुरा पुर्खाले बुझेका थिए । जीवजन्तुलाई समेत भोकै भएको देख्न सक्दैनथे । तर, यस्ता पुर्खाका भावी पुस्ता हामी देखासिकीमा अडेका छौं ।

धर्मलाई आफूभन्दा माथि राख्नेहरुका सन्तानले नै अहिले धर्मलाई संकटमा पारिदिएका छन् । माधवकुमार नेपाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराईले जन्म दिने बाबुआमाको काजकिरिया गरेनन् । युवापुस्ताले काजकिरिया र धर्मकर्म गर्न छोडिसकेका छन् । अहिले जन्मेका बालबालिकालाई भनेको बेलामा जन्मदातालाई खान दिनुपर्छ, उपचार गर्नुपर्छ, मीठो बोलीवचन गर्नुपर्छ भन्ने ज्ञान छैन ।

अधिकांश वृद्धाआश्रममा करोडौं सम्पत्ति भएका छोराछोरीका आमाबुवा बसिरहेका छन् । बाबुआमाकै कारण छोराछोरी ठूलो ठाँउमा पुगेका हुन्छन् । तर, अन्तमा छोराछोरीको यस्तो व्यवहारले ती बाबुआमाको चित्त कति दुख्दो हो !

ज्येष्ठ नागरिकलाई दुःख बिसाउने ठाउँको समेत अभाव छ । वडा, गाँउपालिका र महानगरपालिकाले गुठी, सार्वजनिक जग्गाहरु नखोतल्दा अतिक्रमण भयो । यस्ता जग्गा खोजेर वडाध्यक्ष, मेयरहरुले पाटीपौवा, ढुंगेधारा, चौतारा बनाइदिने हो भने बूढाबूढीलाई थकाइ मार्ने ठाँउ हुन्छ ।

दुःखसुख बिसाउने चौतारो मासिएका छन् । महँगो पैसा हालेर मिनरल वाटर किन्नुपर्ने बाध्यता छ । सार्वजनिक शौचालयको अभाव छ । जहाँतहीं घरैघर छन् । सवारीको चाप उत्तिकै छ । फुटपाथमा समेत पसलैपसलै छ । घरबाट निस्केर जाने कहाँ ? पार्क खै ? बुढाबुढीलाई कोठाभित्र बसिरहँदा बाथको रोग देखिन्छ । घरभित्रै बसिरहँदा एकोहोरोपन आउँछ । कोटेश्वरमा शौचालय जानुपर्दा रत्नपार्क पुग्नुपर्ने बाध्यता कहिले हट्छ ?

टिप्पणीहरू