दुलो, गुँड, ओढारबाट निस्कने बेला यही हो

दुलो, गुँड, ओढारबाट निस्कने बेला यही हो

नेकपामा विभाजन आएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आ–आफ्ना दल पुनर्जीवित गरे । पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले नेपाल सुशासन पार्टी, कारागारमा रहेका राजपाका निलम्बित सांसद रेशम चौधरीले पत्नीका नाममा नागरिक उन्मुक्ति पार्टी र विवेकशील साझाका केही महिलाले वैकल्पिक महिला सङ्गठन नामक छुट्टाछुट्टै दल निर्वाचन आयोगमा दर्ता गराए ।

गत भदौ ९ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दर्ता भयो । त्यसअघि एमालेकै विद्यार्थी नेता जीवन राईले नेकपा (एकीकृत) दर्ता गराइसकेका थिए ।

त्यसपछि एस र ए एकीकृत भइसकेका छन् भने एसमा पूर्वसांसद कुलप्रसाद फुयाँल नेतृत्वको नेकपा (माले) को सानो समूह, देवसिंह महता नेतृत्वको नेकपा (जनवादी) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद् विलिन भइसकेका छन् ।

एमालेबाट माके, माकेबाट एमाले, एमालेबाट एस, एसबाट एमाले, माकेबाट एस जाने–यस्तो पनि दिनदिनजसो भइरहेको छ । नेकपा (माले) त उहिल्यै फुटिसकेको हो । त्यो पनि पतिपत्नीले चलाइरहेका छन् ।

यसबीच विवेकशील साझा पार्टीमा मतभेद भई मिलन पाण्डे, रञ्जु दर्शना आदि छुट्टिसकेका छन् भने राप्रपामा मतभेद बढ्दो छ र गीताको कसम खाएका कमल थापा उछिट्टिने सम्भावना देखिँदै छ । राप्रपाबाट केशरबहादुर बिष्ट उहिल्यै छुट्टिएर राष्ट्रिय शक्ति नेपाल बनाई सक्रिय छन् ।

विसं २०४७ जेठ १५ मा दुई दल राप्रपा (थापा) र राप्रपा (चन्द) भएर जन्मेको पूर्वपञ्चहरुको पार्टीमा अनगिन्ती विभाजन आइसकेको छ– सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टी, राजेश्वर देवकोटाले नेतृत्व गरेको राप्रपा (राष्ट्रवादी), बिष्टद्वारा पहिले एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियान, डा. प्रकाशचन्द्र लोहनीको पार्टी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), कमलले नेतृत्व गरेको राप्रपा नेपाल आदि ।

राप्रपामा नअटेका पूर्वपञ्च कीर्तिनिधि बिष्ट र श्रीभद्र शर्माहरूको राष्ट्रिय जनता परिषद्ले पनि शुरुको आमनिर्वाचन लडेको थियो । नेपाली कांग्रेस र एमालेबाट अलग्गिएका कुवेर शर्मा र बद्रिप्रसाद खतिवडाहरूले नेपाल हरियाली पार्टी बनाए भने कांग्रेसका नारायणसिंह पुन नेपाल समता पार्टी खोली राजाको सरकारमा मन्त्री भए ।

कांग्रेसकै हरिबोल भट्टराई र सुशीलमान शेरचनहरुले नेकां (बिपी) खोलेका छन् । बडो तामझामले करिश्मा मानन्धरदेखि रामेश्वर खनालसम्मलाई भिœयाएर डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टी एक वर्ष पनि टिक्यो कि टिकेन, थाहा भएन ।

प्रजातन्त्र, लोकतन्त्रमा निर्वाचन हुन्छ, दलहरू निर्वाचन लड्छन्, लड्नका लागि दल दर्ता अनिवार्य हुन्छ । आफ्नो दललाई अगाडि ल्याउन नखोज्ने, खोपामा राख्नेहरूले पनि नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा निर्माण गरी चुनाव लडेका छन् ।

मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन नामबाट तराई–मधेश विभाजनको नारा बोकेका सिके राउत सरकारसँगको सम्झौतापछि अहिले पनि जनमत पार्टी खोली हिंसात्मक गतिविधिमै पुनः संलग्न छन् भने मूलधारमा आएको भनिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सरकारसँग सम्झौता पालना गराउन दौडधुपमा लागेको छ ।

अब केही महिनापछि (वैशाख) मा स्थानीय तहको निर्वाचन(कोरोना महामारी अन्त्य भएमा) हुँदै छ । त्यसैले यी सबै काम आगामी निर्वाचनलाई हेरेर नै हुँदै छ । चुनावका बेला आयाराम, गयारामहरूको तमाशा हेर्न निकै राम्रो हुन्छ ।

ती रातारात क्याम्प चेञ्ज गर्न हाम्फाल्दै गरेका हुन्छन् । अहिले पनि नेकपाका विभिन्न घटकमा यताबाट उता जान चाहनेहरूले सङ्घीय वा प्रदेश निर्वाचनको समानुपातिकतर्फ एक नं मा पार्न शर्त राखेको देखिन्छ ।

विद्रोह गरेका समूहपछि पुनः मातृसमूहमै गएको देखिन्छ । फुटेर गएकाहरूले खासै प्रगति गरेको देखिन्न । हृदयेश त्रिपाठी, प्रेमबहादुर सिंह, डा. केशवमान शाक्य, विश्वेन्द्र पासवान, गङ्गा चौधरीजस्ता एकाध त होलान् मौका पाउने तर अरूको हरिबिजोग नै भएको छ । शेरबहादुर देउवाले नेका (प्र) खोले पनि पछि मूलसमूहमै आएर सभापति र प्रधानमन्त्री भैदिए ।

विचारमा स्थिरता, न राजनीतिक नैतिकता–त्यसै यता न उता भौँतारिनेहरूले के बुझेका छन् राजनीति खै ? अरू काम नगरी राजनीतिलाई नै पेशा बनाउनेहरूले पवित्र राजनीतिलाई नै भुस्कुट बनाइदिएका छन् । राजनेता भनाउँदाहरू पनि राजनीति मात्र गर्छन्, तिनको छुट्टै अर्काे पेशा नै छैन ।

विनाआम्दानी आफ्नो विलासी जीवन देख्दा दुनियाँले ओंठ टोके पनि त्यसको जवाफ दिन तिनलाई मन लाग्दैन । आफूलाई कम्युनिष्ट भन्छन्, दाइजोबाट पाएको भन्छन् । प्रजातन्त्रवादी भन्छन्, पुर्खाबाट पाएको जनाउँछन् ।

अँ, यो मौसम नै दलहरु भत्काउने, खोल्ने, दलबदलु गर्ने, हिरो हुने, मेयर, डेपुटी मेयर–सांसद– माननीय खाने, दाउ हेर्ने हो । प्रजापरिषद्, नेपाल पञ्चायत पार्टी, राष्ट्रिय प्रजा पार्टी, संयुक्त प्रजातन्त्र पार्टी, तराई पार्टी, सद्भावना पार्टी, तमलोपाजस्तो हराउन कोही चाहँदैन ।

सबैलाई ठूलै भाग खानु छ – कि नयाँ पार्टी खोल्ने, कि पुरानो ठूलोमा बार्गेनिङ गर्ने । कमसेकम मिडियामा नाम आए भो । विज्ञानहरूकी रानी राजनीतिबारे अध्ययन गर्ने फुर्सद कसैलाई छैन । यो दलहरूको मौसम हो । अनुकूल मौसममा नै घर, दुलो, गुँड, ओढार, गुफाबाट बाहिर निस्कने हो, कसो ?

– अनामिका उपाध्याय

टिप्पणीहरू