शव बोकेर पेन्सन लिन पुगेपछि

शव बोकेर पेन्सन लिन पुगेपछि

पैसाको निम्ति कसैले मृत व्यक्तिलाई पनि जीवित भनेर पेश गरेको सुन्दा सबैलाई अनौठो लाग्न सक्छ । तर आयरल्यान्डको दक्षिणपूर्वी भेग कार्लोका एक जनाले यस्तै गरेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर उनी पेन्सन दाबी गर्न सरकारी कार्यालय पुगेका हुन् ।

यो साता सार्वजनिक भएको उक्त घटनामा कार्लोस्थित हुलाक कार्यलय पुगेर ती व्यक्तिले वृद्ध आफन्तको पेन्सन मागेका थिए । तर, कार्यालयका कर्मचारीले रकम लिन सम्बन्धित व्यक्ति आफँै उपस्थित हुनुपर्ने जवाफ दिए ।

कर्मचारीको जवाफपछि उनी कार्यलयबाट करिब ५ सय मिटरको दूरीमा पुगे जहाँ एक ६६ वर्षको उमेरका व्यक्तिलाई दुई जनाले ह्विल चेयरमा राखिरहेका थिए । ती ह्विल चेयरमा राखिएका व्यक्ति सेवानिवृत्त पेण्टर पिडर डोयल थिए । उनका दुबै गोडा भुईंमा लत्रिए पति अनुहार भने ढाकिएको थियो ।

ह्विल चेयरसम्म पुगेका ती व्यक्तिले फेरि हुलाक कार्यालय पुगेर भने, ‘वृद्ध आउन सक्दैनन्, त्यसैले उनको पेन्सन दिनुस् ।’

आईरिस टाइम्सका अनुसार फेरि रकम माग्न आएपछि हुलाकका कर्मचारीले पनि ह्विल चेयरमा बसेका मानिसको स्वास्थ्यबारेमा थप चासो देखाए । तर कर्मचारीले उनलाई जाँच गर्ने क्रममा ती व्यक्ति मृत फेला परेका थिए ।

कर्मचारी आएपछि उनलाई बोकेका दुई व्यक्तिले ‘वृद्धलाई हृदयाघात भएको’ भन्दै शवलाई त्यहीँ छोडेर भागेका थिए । शवलाई समाएका युवा भागेपछि स्थानीयले तत्कालै एम्बुलेन्स बोलाए । एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीले डोयललाई मृत घोषणा गरिदिए ।

६६ वर्षीय ती वृद्ध त्यहाँ ल्याउनु अघिल्लो दिनसम्म जीवितै थिए । तर, घरबाट कार्यलय ल्याउने बेलासम्म उनी जीवितै थिए वा मृत थिए भन्ने बारेमा प्रहरीले अनुसान्धान थालेको हो । उनलाई बोकेका व्यक्तिहरुले भने हुलाक कार्यालय परिसरमा आइसकेपछि मृत्यु भएको दाबी गरेका छन् । डोयललाई जीवितै देखाउन उनको आंशिक अनुहार र पूरै शरीर ढाकिएको थियो ।

टिप्पणीहरू