बुध्दिको व्यवसाय गर्ने बुध्दिजीवी !

बुध्दिको व्यवसाय गर्ने बुध्दिजीवी !

कतिपय विज्ञका अनुसार संस्कृतभाषा नेपालमै विकसित भएको भाषा हो । भनिन्छ,यस भाषाका सर्वाधिक प्रामाणिक र लोकप्रिय कोषकार अमरसिंह शाक्य नेपाली नै थिए । यस भाषाका प्रथम कवि बाल्मिकी नेपाली नै थिए । बाल्मिकी आश्रमको प्रामाणिक अवशेष नेपालमै छ । संस्कृत भाषाको श्रुतिपरम्परामा रहेको वेदलाई संहिताकरण गर्ने र अठार पुराण एवम् महाभारत लेख्ने व्यास नेपालकै कर्णाली भेगमा जन्मे हुर्केका थिए । उनको मुख्य आश्रम नेपालकै लिम्पियाधुरा निकट लिपुलेकमा रहेका प्रसङ्गहरु अद्यावघि चर्चामा छन् ।

नेपाली भाषा संस्कृत प्राकृत भाषाहरुकै सन्तति हो । यसमा आज पनि संस्कृतका तत्सम तद्भव धेरै शब्दहरु प्रयोगमा छन् । बुध्दि पनि संस्कृत भाषाकै शब्द हो । अमरकोषका अनुसार बुध्दिका पर्यायवाची शब्दहरु मनीषा धीः, धिषणा,प्रज्ञा,शेमुषी,मति,प्रेक्षा,चित्, संम्वित्,प्रतिपद्,ज्ञप्ति,चेतना, लगायत हु्न् । यसका अतिरिक्त एकदम ताजा र समयमा उपस्थित हुने कल्पनाकुशल फूर्तिलो बुध्दिलाई प्रतिभा भनिन्छ । देखे सुनेको सम्झिराख्ने बुध्दिलाई मेधा मानिन्छ । मेधाबाटै मेधावी बन्छ ।

अमरकोषका अनुसार विद्वान्, विपश्चित्,दोषज्ञ,सुधी,कोविद्,बुध, प्रबुद्ध,मनीषि,ज्ञ,प्राज्ञ,धीमान्,सूरि, लब्धवर्ण, लगायत शब्दहरुले बुध्दिमान् व्यक्तिलाई जनाउँछन् । प्रवीण,निपुण,अभिज्ञ,विज्ञ,निष्णात, वैज्ञानिक, कृतमुख, कृती, कुशल, लगायत शब्दहरुले सिपालु एवम् निश्चित क्षेत्रमा विशेष क्षमतायुक्त व्यक्तिलाई जनाउँछन् । जानकारलाई जनाउने शब्द ज्ञाता र विदुर हुन् । अमरकोष संस्कृतका सबै शब्दहरुको एक मात्र कोष होइन । तर पनि यसमा चल्तीका धेरैैजसो शब्दहरु समावेश गर्ने प्रयास भने कोषकारले गरेका छन् ।

अमरकोषमा बुध्दि र बुद्धि भएका मानिसलाई जनाउने यति धेरै शब्द भेटिँदा बौध्दिक र बुध्दिजीवी शब्द भेटिँदैन । बौध्दिक शब्द अङ्ग्रेजी भाषाका इन्टेलेक्चुअल शब्दको हिन्दी अनुवाद हुनुपर्छ भन्ने मेरो अनुमान छ । संस्कृत भाषामा अनन्त संङ्ख्यामा नयाँ नयाँ शब्दहरु निर्माण गर्न सकिने प्रविधि छ । हामीकहाँ भाषा व्याकरण मिलोस् नमिलोस् अनुकरणका आधारमा पनि शब्द बनाउने र प्रयोग गर्ने परिपाटी छ । जस्तै इमानदारिता,अन्योलता, लचकता आदि ।

अमरकोषमा हाम्रो प्रसङ्गसँग मिल्दोजुल्दो एउटा शब्द भेटिन्छ वृद्ध्याजीवी । यस शब्दले रुपैयाँ ब्याजमा लगाएर जीविका चलाउने ब्यक्तिलाई जनाउँछ । त्यस्तै, आयुधजीवी, असिजीवी, मसीजीवी जस्ता शब्दहरु पाइन्छन् । यी शब्दले हतियार चलाएर,खुँडा तरवार चलाएर जीविका चलाउने,लेखापढी गरेर जीविका चलाउने व्यक्तिलाई जनाउँछन् । बुध्दिजीवी यसै परिपाटीमा बनाइएको नयाँ शब्द हुनुपर्छ । विज्ञहरु भन्छन्, बुद्धिजीवी शब्द समयक्रममा धेरै पछि मात्र प्रयोगमा आएको शब्द हो । यसको अभिप्राय पर्गेल्न गाह्रो छैन । यस शब्दको निर्मितिमा दलाल पूँजीवादको गन्ध पाउन सकिन्छ । यो समस्त शब्द हो । यसमा बुध्दि र जीवी दुई शब्द जोडिएका छन् ।

विशेषतः बुध्दि बेचेर जीवन चलाउनेका लागि यो विशेषण सटीक बन्छ । श्रमजीवीका लागि जीविकोपार्जनको अभिप्राय जीविका चलाउनु हो भने आजका मध्यम वर्गीय बुद्धिजीवी लागि जीविकाको अर्थ दलाली गरेर भए पनि समृद्धि र सम्पन्नता कमाउनु हुन पुगेको देखिन्छ । यसैले बुद्धिजीवीका ठाउँमा बुद्धिव्यवशायी शब्द प्रयोग गर्न पनि नसकिने होइन । घरजग्गाव्यवशायी भने जस्तै बुद्धिव्यवशायी भन्नु पनि अर्घेल्याइँ हुँदैन । राजीतिले समेत कमाउ व्यवशायको रुप लिइसकेको हाम्रोजस्तो देशमा बुद्धि बटुलेकाहरुले बुद्धिव्यवशायी बन्नु कुनै अनौठो कुरा भएन ।

व्यवसाय नाफामूलक हुन्छ । नाफाकै लागि गरिन्छ । किसिम किसिमका ग्राहकका लागि बुद्धिको बजारमा किमिम किसिमको बुद्धि उपलब्ध गराउनु बुद्धिव्यवसायीका लागि व्यावसायिक खूबीकै कुरा हो । अझ बुद्धिजीवी त स्वयम् बुद्धिको उत्पादक कारखाना र आयातकर्ता पनि हो । कुन ग्राहकले कस्तोे बुद्धिको अर्डर गर्छ तदनुसार बुद्धिव्यवशायीले जुटाइदिन सक्छ । आफूले चाहेको मूल्यमा विक्री वितरण गर्न सक्छ । यस स्थितिमा कमजोर देशलाई आफ्नो साम्राज्यको उपनिवेश बनाएर सामरिक उपयोग गर्न लालायित अम्रिकाजस्ता पैसावाल देशले बुद्धिजीवीलाई नै किनिदिन सक्छ । कारखाना नै किनिदिन सक्छ । किनिरहेको छ ।

यसो नहुँदो हो त आज नेपालमा यो राष्ट्रघाती एमसीसीका पक्षमा लाजै नमानेर जिब्रो फट्कार्दै बोल्ने लेख्ने बुद्धिजीवी नामक कलङ्हरुलाई नेपाली आँखाले किन देख्नु पर्थ्यो ? नेपाली कानले किन सुन्न पर्थ्यो ? नेपालमा जन्मेर हुर्केर अद्यावधि नेपालकै दानापानी खाएर इण्डो-अमरिकी हितमा नेपालकै स्वाधीनता र सावैभौमिता सुम्पन डलरमा बुद्धि बेचिहिँड्ने यी काला व्यवसायीका कारण हामी नेपाली जनताका आँखा र नाकमा यो बुद्धिजीवी शब्द नै रछ्यानजस्तो घीन लाग्दो र आचीजस्तो दुर्गन्धित बन्ने अवस्थामा पुगेको छ ।

—मुक्तिबन्धु

टिप्पणीहरू