कोरोनाको जस्तै लक्षण देखिएका बाख्रा भटाभट मर्न थाले

कोरोनाको जस्तै लक्षण देखिएका बाख्रा भटाभट मर्न थाले

बैतडीको मेलौली नगरपालिका–५ का किसानले पालेका बाख्रा मर्न थालेका छन् । केही दिनदेखि हाच्छ्युँ गर्ने, टाउको सुन्निने, आँख्रामा चिप्रा आउने र र्याल काढ्ने लक्षण देखिएको केही दिनपछि बाख्रा मर्न थालेका हुन् ।

मेलौली–५ का गंगा पोख्रेलले आफूले बेच्न ठिक्क पारेका बाख्रा मरेको बताउदै निराशा व्यक्त गरे । उनले भने ‘एक महिनाको अवधिमा मैले पालेका पाँच बाख्रा मरिसकेका छन् ।

एउटा खसी त करिब ४० किलोको थियो । बेच्न ठिक्क पारिएको खसी र बाख्रा मरेपछि मलाई झण्डै एक लाख रुपैयाँ बराबरको नोक्सान भयो । अब व्यवसाय नै संकटमा परेको छ ।’

पछिल्लो एक महिनामा मेलौली–५ का करिब २० वटा बोका, खसी र बाख्रा मरिसकेको स्थानीय किसान भरत पोख्रेलले जानकारी दिए । उनले भने,‘कसैका एक/दुई वाटा मरेका छन् भने, कसैका चार/पाँच वटा मरेका छन् । अधिकांश किसानका बाख्रा अझै पनि बिरामी छन् ।’

बाख्रामा जटिल समस्या देखिएको मेलौली–५ का वडाध्यक्ष बलभद्र दयालका अनुसार उक्त स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार र संघीय सरकारको कृषि मन्त्रालयसमक्ष आग्रह गरिएको छ ।

टिप्पणीहरू