महामारीबीच गणतन्त्र दिवशको सुरसार

महामारीबीच गणतन्त्र दिवशको सुरसार

कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर भारतमा हिजोदेखि गणतन्त्र दिवशका विभिन्न कार्यक्रम मनाउन थालिएको छ । यसअघि २४ जनवरीदेखि मनाउने गरिएको गणतन्त्र दिवश यो वर्ष २३ जनवरीदेखि नै मनाउन थालिएको हो ।

स्वतन्त्रता सेनानी स्वर्गीय नेता सुभाषचन्द्र बोसको जन्मजयन्तीलाई समेत गणतन्त्र दिवशको कार्यक्रममा समावेश गर्न जनवरी २४ को सट्टा २३ जनवरीबाटै गणतन्त्र दिवश मनाउन शुरु गरिएको हो ।

गणतन्त्र दिवसलाई लक्षित गर्दै हिजो नयाँदिल्लीको राजपथमा गणतन्त्र दिवस परेडको फूल ड्रेस रिहर्सल गरिएको थियो । जनवरी २६ मा हुने परेडको लागि लालकिल्ला जाने बाटोमा विजय चोकबाट पूर्वाभ्यास थालिएको हो ।

यस वर्षको गणतन्त्र दिवसको परेडमा नौवटा मन्त्रालय र चयन गरिएका केही राज्य र केन्द्रशासित प्रदेशहरूको मात्रै सहभागिता हुनेछ । कोभिड–१९ प्रोटोकलको पालना गर्न र्याली र झाँकीको संख्या घटाइएको बताइएको छ ।

भारतले २६ जनवरीका दिन यो दिवस मनाउने गरेको छ । सन् १९५० को जनवरी २६ मा भारतको संविधान जारी भएको हो । बृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकारसम्पन्न भारत सरकारले नयाँ संविधान जारी गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।

टिप्पणीहरू