​एउटी अबला कर्मचारीको आर्तनाद

समायोजनको राप र तापका कारण सयौं कर्मचारी सेकिएका छन् । त्यसैमध्येको पीडित हुँ । एउटा स्थानीय तहबाट समायोजन भई अर्काेमा खटिएँ । तर, त्यहाँका मेयर र प्रमुख प्रशासकीय अधिकृतले ढिम्किनै दिएनन् । सोही पदमा कार्यरत एउटी महिला कर्मचारी यति प्रिय कि तिनलाई त्यहीँ रोक्ने नाममा कार्यकारीले रातारात मन्त्रालयमा पत्र पठाउँछ र समायोजन नै संशोधन गराउँछ । अर्की महिला (जो दुई जिउकी थिइन्) । उनलाई उल्टै शारीरिक र मानसिक ताडना दिइन्छ । यस्तै प्रताडनाको शिकार बनेकी पीडित कर्मचारी हुँ । जो न्याय–निसाफको खोजीमा ७ महिनादेखि रौतहटबाट काठमाडौं र काठमाडौंबाट रौतहट गर्दै छु । 

म दुर्गा झा । नेपाल विविध सेवा, रा.प. अनं. द्वितीय श्रेणी, सहायक महिला विकास निरीक्षक पदमा कार्यरत । संघीयतापछि निकै पेचिलो मािनएको कर्मचारी समायोजन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन ऐन ०७५ को दफा ८, उपदफा (२), (क) कार्यरत पदको ज्येष्ठता, (ग) कर्मचारी कार्यरत रहेको स्थानीय तह (घ) हालको स्थायी बसोवासको ठेगाना (ङ) नागरिकता प्रमाणपत्रमा उल्लिखित ठेगाना र (च) उमेरको ज्येष्ठतासमेतको आधारमा समायोजन भयो । यमुनामाई गाउँपालिका रौतहटबाट गौर नगरपालिकामा खटाइएको थियो । तर, त्यहाँ सोही पदमा कार्यरत अर्की महिला कर्मचारी (जो मेयरकी साली हुन् । र कार्यकारीको के नाता पर्छ थाहा छैन) तिनलाई जोगाउने र त्यहाँबाट अन्यत्र सरुवा हुन नदिने नाममा ममाथि घात–प्रतिघातको श्रृंखला चल्यो । कर्मचारी समायोजन नम्बर (२२४१९२) अन्तर्गत यमुनामाई गाउँपालिका रौतहटमा कार्यरत थिएँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गौर नपामा समायोजन भएको चिठी पाएँ । र, पत्र बोकेर ०७६ साल जेठ १३ गते यमुनामाई गाउँपालिकाबाट रमना लिई १९ गते गौर ननगरपालिकामा हाजिर हुन गएँ । सोही पदमा कार्यरत थिइन् सलोनी केशरी । जसको कर्मचारी समायोजन नम्बर २२९४०८ । उनको समायोजन त्यहाँबाट राजदेवी नगरपालिकामा भएको थियो । हाकिमको प्रिय र मेयरकी सालीलाई जोगाउने नाममा मलाई बलिको बोका बनाइयो । त्यहाँ हाजिर गर्नै दिइएन । बरु समायोजनको मर्म र भावनाविपरीत राजदेवी नपामा गरेको समायोजन संशोधन गर्न भन्दै प्रमुख कार्यकारी अधिकृत सुमनकुमार कार्कीले मन्त्रालयमा पत्र पठाउन भ्याए । एउटै नगरमा दुई जना महिला अधिकृत हुने कुरै भएन । यसै क्रममा अचानक समायोजन संशोधनको चिठी आयो यमुनामाई गाउँपालिका जान मैले संशोधनको पत्र नै नहाली कसरी मेरो नाममा पत्र आउँछ ? बरु सलोनी केशरी गौर नगरपालिकामा कार्यरत रही उत्कृष्ट काम गरेको र सो कार्यालयमा उनी नहुँदा सेवा प्रवाहमा बाधा पुग्ने भएको भन्दै मन्त्रालयलाई ०७५ चैत १९ गते सिफारिस गरेको भेटिएको छ । एकातिर आफूले समायोजन संशोधनका लागि कुनै पत्र नपठाएको, अर्काेतिर सलोनीलाई त्यहीँ रोक्न खोजिएको बुझिएपछि र मलाई हाजिर नगराएपछि मैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार आउने निर्णय लिएँ । र, बिदा मागँे ।

प्रमुख कार्यकारी कार्कीले बिदा दिन इन्कार गरे । न्याय त खोज्नु नै थियो । प्रमुख जिल्ला अधिकारीकोमा गएर दुःख बिसाएँ । मौखिक बिदा स्वीकृत गराई ०७६ असार ६ गते सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखामा सोध्दा मेरो नामको निवेदनमा किर्ते हस्ताक्षर पेश भएको भेटियो । यसरी साली र आफ्नी प्यारीलाई त्यहीँ राखेर चलखेल गर्ने दाउमा रहेछन् मेयर र कार्यकारी अधिकृत । सो समय म गर्भवती अवस्थामा रहेकाले सम्बन्धित मन्त्रालयमा ०७६ असार १७ मा निवेदन दिई समायोजन संशोधन बदर गराएर ०७६ असार २२ को मन्त्रीस्तरीय निर्णयबाट २४ गते समायोजन पुनः सुधार गरी गौर नपा कायम गराई पत्रसहित हाजिर हुन जाँदा प्र.प्र.अ. सुमनकुमार कार्कीले हाजिर नगराई ‘निज दुर्गा झा रमाना बुझी अन्यत्र गइसकेको र उक्त स्थानमा सलोनी केशरी पदस्थापना भइसकेकाले हाजिर गराउन नमिल्ने’ भनी मन्त्रालय फर्काएको भेटियो । त्यसपछि हाजिर गराउँछु भनी बारम्बार बोलाउने, विभिन्न किसिमको डर, त्रास, धाक, धम्की दिने काम भयो । साउन ७ गतेबाट हाजिर गराउँछौं भनी बोलाएर सलोनी केशरीको समायोजन सम्बन्धमा कहीँ–कतै उजुर नगर्नेलगायतको शर्तनामामा सही गरे मात्र हाजिर गर्न दिन्छौं भन्दै नगर प्रमुख अजयकुमार गुप्ता, प्र.प्र.अ. सुमनकुमार कार्की, सलोनी केशरीले दबाव दिए । मैले सबै कुरा खुलाई साउन ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसमक्ष कारबाही गरिपाऊँ भनी निवेदन पेश गर्दा सुनुवाइ भएन । मभन्दा अगाडि आएका नेपाल विविध सेवाका कर्मचारीलाई पनि त्यसरी नै ढाँटी फिर्ता गरिएको रहेछ । त्यसपछि कर्मचारी किताबखानामा गई बुझ्दा उनीहरूले नै मेरो पिआइएस अध्यावधिक गरेका रहेछन् ।

उनीहरूले दिएको चरम मानसिक यातनापछि न्याय खोज्दै कहिले सिंहदरबार त कहिले अदालत धाइरहेको छु । न्यायको खोजीमा भौंतारिरहेको ६ महिना बित्न लाग्यो । मैले गौर नपामा जेठ १३ गते हाजिर भएदेखिको तलब–भत्तासमेत पाएको छैन । यसमाथि म सुत्केरी भई घर बिदामा बसी अन्यत्र समायोजन भइसकेको छु । म गर्भवती अवस्थामा भएका बेला यी तीन व्यक्ति मिलेर दिएको यातना तथा तनावका कारण स्वास्थ्यमा असर परी बच्चा अस्वस्थ छ । उनीहरूकै यातनाका कारण मेरो बाबाको मृत्यु भयो । अहिले मेरो मानसिक अवस्था कमजोर हुन पुगेको छ । 

– दुर्गा झा, गौर नपा, रौतहट

टिप्पणीहरू