संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेपछि राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ । कोरोना रोकथामका तयारी र प्रयासहरुका सम्बन्धमा आयोगले आज सरकारी अधिकारीहरुसँग छलफल गर्दैं उक्त आग्रह गरेको हो ।

कोरोनाको तेस्रो लहर नियन्त्रणको निम्ति नेपाल सरकारको योजना, अस्पतालहरुको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोर बिजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँचलगायतका विषयवस्तु बारे जानकारी लिइएको आयोगले बताएको छ ।यस्तै, अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानूनी कारवाही, सर्वसाधारणको जानकारीको लागि प्रभावकारी र सही सूचना प्रवाहबारे पनि आवश्यक सोधनी गरिएको बताइएको छ ।

सबै नागरिकका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, बिना खोप कार्ड सार्वजनिकस्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानवअधिकारको उपभोगमा पर्ने असर, सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमाक्षेत्रमा आवतजावतको व्यवस्थापनलगायतका विषयमा थप ध्यान पुर्याउन आयोगले सरकारलाई निर्देशन दिएको हो ।

टिप्पणीहरू