महिला राजनीतिज्ञहरूमाथि यौन उत्पीडन

महिला राजनीतिज्ञहरूमाथि यौन उत्पीडन

प्रायः महिलामाथिको यौन उत्पीडन, शोषण र भेदभाव गरिब र अशिक्षित समुदाय तथा मुलुकमा मात्रै हुने अर्थ लगाइन्छ । तेस्रो विश्वमा कार्यरत कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि त्यस्तै खालका रिपोर्टहरु बनाउने गरेका छन् ।

तर हालै गरिएको एक अध्ययनले भने विकसित समाजमा त्योभन्दा बढी महिला यौन उत्पीडनको शिकार बनेको देखाएको छ । विकसित समाजका पनि शिक्षित महिला सबैभन्दा बढी प्रताडित भएको पाइएको हो ।

जर्मनीका धेरैजसो महिला राजनीतिज्ञहरूले आफ्नो राजनीतिक करियरको कुनै न कुनै विन्दुमा यौन उत्पीडनको सामना गरेको एक अध्ययनले देखाएको छ ।

जर्मन राजनीतिक दलहरूमा महिलाहरूका लागि समान अवसरको जाँचसम्बन्धी गरिएको एक अध्ययनले स्थानीयदेखि राष्ट्रियस्तरसम्म ४५ वर्षमुनिका अधिकांश महिला राजनीतिज्ञहरूले कुनै न कुनै प्रकारको यौन उत्पीडनको मार खेप्नुपरेको देखाएको हो ।

बर्लिनस्थित युरोपेली एकेडेमी फर वुमन इन पोलिटिक्स एण्ड इकोनोमिक्सले प्रकाशित गरेको ‘पार्टी कल्चर्स एण्ड वुमन पोलिटिकल पार्टिसिपेशन’ नामक अध्ययन प्रतिवेदनमा उक्त विवरण उल्लेख छ । रिपोर्ट राजनीतिक जीवनमा सक्रिय हुँदा जर्मन महिलाहरूले सामना गरेका बाधा र अप्ठेराहरूसम्बन्धी विशेष अध्ययनमा आधारित छ ।

कसरी भयो उत्पीडन ?

अध्ययनअनुसार सर्वेक्षणमा सहभागी ४० प्रतिशत महिलाले ‘अश्लिल र अनुपयुक्त टिप्पणी, नजर वा स्पर्शको अर्थमा यौन उत्पीडन’ अनुभव गरेका हुन् । ४५ वर्षभन्दा कम उमेर समूहका ६० प्रतिशत उत्तरदाताले आफूहरु कुनै न कुनै माध्यमबाट यौन उत्पीडनको शिकार भएको बताएका छन् ।

महिला राजनीतिज्ञहरुले त्यस्तो उत्पीडनको घटना मुख्यतयाः साँझका भेटघाट र कार्यक्रम, पार्टी महाधिवेशन, चुनावी उत्सव, पार्टीका एकान्त र गोप्य बैठकजस्ता अनौपचारिक जमघटहरूमा भएको बताए ।

अध्ययनमा जर्मनीको संघीय, प्रदेश र स्थानीय सरकारका ८ सयभन्दा बढी महिला राजनीतिज्ञ सहभागी थिए । उनीहरुले त्यहाँको संसदमा प्रतिनिधित्व गर्ने छ वटा राजनीतिक दलको तर्फबाट भाग लिएका हुन् ।

पुरुष नेताहरुले त्यस्ता पार्टी तथा कार्यक्रमहरूमा महिला राजनीतिज्ञको उपस्थिति, शरीरको फिगर र बनौट तथा पोशाकको बारेमा अनुपयुक्त खालका टिप्पणीहरूबाट उत्पीडनको थालनी गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।

उनीहरूले यौन उत्पीडन र यौनवादी टिप्पणीहरू अधिकांश राजनीतिक तह र तप्कामा भएको समेत बताएका छन् । जर्मनीको संसदको तल्लो सदनमा महिलाले एक तिहाइभन्दा बढी सिट ओगटेका छन् ।

टिप्पणीहरू