खानेपानी मन्त्रीको घरमा पानी नै पानी, छिमेकी काकाकुल

खानेपानी मन्त्रीको घरमा पानी नै पानी, छिमेकी काकाकुल

यतिबेला समानता, सामाजिक न्याय, सुशासन र नागरिक पहुँचको खिल्लि उडेको दृष्टान्त हेर्न खानेपानी मन्त्री उमाकान्त चौधरीको दबदबा काफी छ ।

मन्त्री चौधरीले घरमा रातारात दुइटा पानीका पाइप फिट गरेको भेटिएको छ । उक्त घरमा दिनैभर पानीको बर्षा हुन्छ । वरपरका छिमेकी भने काकाकुल छन् । ललितपुर नगरपालिका– २ सानेपामा मन्त्रीको घर छ ।

जहाँ दुई तीन वर्षअघि खानेपानीको पाइप गाडिएको थियो । एउटा पानीको पाइप हुनु अन्यथा होइन तर मन्त्री बनेपछि रातारात अर्को पाइपसमेत फिट गरेको गुनासो स्थानीयको छ । वल्लोपल्लो घरमा भने हप्तामा एकदिन मात्र मुश्किलले सरकारी पानीको धारा खस्छ ।

मन्त्रीका छिमेकी बिचरा सधैं प्रतिट्यांकर १५ सय रुपैयाँ तिरेर प्यास मेट्न विवश छन् । राजधानीको मुटुमै नागरिकले यस्तो बेथिति र अन्याय सहन बाध्य भएका छन् ।

मन्त्रीका सवारी चालकले सरकारी पानीले नै गाडी धुन्छन् । खानेपानी विकल्पसहित सहज आपूर्ति गर्न छिमेकीले पटकपटक भेटेर मन्त्रीलाई बिन्ती नगरेका पनि होइनन् । तर मान्छेलाई सुनाउनु र ढुङ्गालाई सुनाउनु उस्तै हालत भएको भनाइ स्थानियको छ ।

‘उहाँको घरमा अहिले आएर फेरि रातारात नयाँ खानेपानीको पाइप जडान गरेको पायौं । जबकि पहिले पनि अर्को छँदै थियो,’ पीडितमध्येका एक स्थानीय वासिन्दा अधिवक्ता पुष्प पाण्डे भन्छन्, ‘एउटै टोल छिमेकमा पानीको हाहाकार छ, उता मन्त्रीज्युलाई भने चौबिसै घण्टा छेलोखेलो छ । खानेपानीमै यस्तो हविगत छ । हामी त घोर अन्यायमा परेका छौं हजुर !’

पीडितले एकपल्ट प्रधानमन्त्रीलाई नै भेटेर भनसुन र आग्रह गर्ने भएका छन् । त्यहाँबाट पनि संवोधन नभए मन्त्री चौधरीलाई मुद्दा हाल्ने तयारी भएको जनाइएको छ ।

टिप्पणीहरू