नेपाली नर्सलाई नहौसिन र नआत्तिन सुझाव

नेपाली नर्सलाई नहौसिन र नआत्तिन सुझाव

नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत लैजाने प्रक्रिया पूरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले उक्त जानकारी दिएको हो ।

एनएनए युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) सँग गरेको छलफलमा मन्त्रालयका अधिकारीहरूलेसमेत एक वर्ष लाग्ने बताएको जानकारी दिएका हुन् ।

एनएनए युकेका अध्यक्ष सुनिता गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयसँग हालै भएको छलफलमा उनीहरूले नेपाल सरकारसँगको पहिलो छलफल सकारात्मक भएको उल्लेख गर्दै नेपाली नर्सलाई बेलायत पुग्न अझै एक वर्ष लाग्न सक्ने अवस्था देखिएको उल्लेख गरेकी छन् ।

गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालबाट बेलायत आउन चाहने नर्सहरूलाई धेरै नहौसिन, नआत्तिन र खाइपाइ आएको जागिर तत्काल नछाड्न अपील गरेको बताइन् ।

उनले बेलायत जानै परेको अवस्थामा अंग्रेजी भाषाको परीक्षा पास गरेर मात्र आउन नर्सहरुलाई आग्रह गरेकी छन् । उनले भनिन्, ‘नर्सहरूको शुरुवाती तलब वार्षिक २५ हजार पाउण्ड छ । लण्डन लगायतका क्षेत्रमा भत्तावापत २० प्रतिशतसम्म अतिरिक्त पाइन्छ ।’

टिप्पणीहरू