बेहुलीले गाउँ जाँदिन भनेपछि जन्ती रित्तो हात

बेहुलीले गाउँ जाँदिन भनेपछि जन्ती रित्तो हात

भारतको उत्तर प्रदेशस्थित इटावा जिल्लामा एक बेहुलीले मण्डपबाटै विवाह गर्न अस्वीकार गरेकी छन् । बेहुलाको घर शहर वा बजारमा नभएको र आफू गाउँ जानु पर्ने भएपछि उनले विवाह अस्वीकार गरेकी हुन् ।

जिल्लाको चकरनगर तहसीलमा पर्ने बिथौली थानाको बन्सरी गाउँका विपिन कुमारको विवाह जलौन जिल्लाकी डोलीसँग भइरहेको थियो ।

विवाहको सबै कार्यक्रम सकेर अन्त्यमा अग्निकुण्डलाई सात फेरोको कार्यक्रम शुरु हुनै लाग्दा पण्डितले दुलहीलाई मण्डपमा बोलाए । त्यसपछि सिन्दुर हाल्ने कार्यक्रम शुरु भयो ।

दुलाहाले हातमा सिन्दुर लिएर सिउँदोमा हाल्न खोजेपछि बेहुलीले अर्कै रुप देखाएको जन्तीपक्षको दाबी छ । विवाहपछि आफू बन्सरी गाउँमा गएर बस्नु पर्ने बुझिएकाले सिन्दुर हाल्न नदिने र अग्निलाई फेरो लगाउने कार्य आफूबाट नहुने अडान दोहोर्याइन् ।

बेहुला पक्षले धेरै सम्झाउन खोजे तर उनी आफ्नो कुरामा अडिग रहिन् । बेहुली पक्षले पनि सम्झायो तर बेहुली टसको मस भइनन् । लगत्तै दुईपक्षबीच तनावको स्थिति बन्यो । घटनास्थलमा प्रहरी बोलाइयो । प्रहरीले पनि बेहुलीलाई सम्झायो, दुबै पक्षलाई बुझाउन खोज्यो तर कुरो मिलेन ।

अन्तमा बूढापाकाले हस्तक्षेप गरे । त्यसपछि आपसी लेनदेनको टुंगो लाग्यो । बेहुला र जन्तीपक्ष बेहुली नलिई गाउँ फर्के ।

टिप्पणीहरू