चितवनको जंगलमा शव भेटियो

चितवनको जंगलमा शव भेटियो

चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुरको टाँडी जंगलमा आज एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । उनको शव जनावरले खाएर छाडेको जस्तो अवस्थामा देखिएको बताइएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि झण्डै डेढ किलोमिटर पश्चिमतर्फ परिचय नखुलेका पुरुष दिउँसो मृत अवस्थामा फेला परेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत अवस्थामा फेला परेका उनी करिब ५० देखि ६० वर्षको हुनसक्ने अनुमान गरिएको छ ।

जंगलमा शव फेला परेको सूचनाका आधारमा घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय चितवनको अधिकृतसहितको टोलीले अनुहार, घाँटी र छातीको भाग जंगली जनावरले खाएको जस्तो देखिएको, पेटको माथिल्लो भागबाट केही आन्द्रा, करङ समेत देखिएको अवस्थामा पुरुषको शव भेटिएको बताएको छ ।

अहिले शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल चितवनको शव गृहमा राखिएको छ । मृतकले कालो ज्याकेट, कालो सेतो कोठे ऊनी सर्ट, हरियो रंगको कपडाको पाइन्ट, नीलो र सेतो रंगको भित्री वस्त्र, नीलो सेतो रंगको मोजा, सेतो रंगको गञ्जी लगाएको हुलिया पनि प्रहरीले दिएको छ ।

मृत अवस्थामा फेला परेको तर परिचय नखुलेको भन्दै प्रहरीले उनलाई चिन्ने जतिलाई जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

टिप्पणीहरू